पाल्पा, जेठ ८
सिद्धार्थ राजमार्गबाट तिनाउ–६ स्थित डुम्रे चोकबाट ३ किलोमिटर दक्षिण देउरालीमा पाखापारि झिलीमिली घर देखिन्छ । त्यसको नाम राखिएको छ गाउँको घर (इको फार्म हाउस) ।
निजी सवारीसाधन घरसम्मै पुग्छन् । डुम्रे चोकबाट भने पैदल पनि आधा घण्टामा पुगिन्छ । अहिले उक्त घरसम्म यात्राका क्रममा ऐंसेलु, चौतारी, खनिया चाख्न पाइन्छ । वातावरणमैत्री उक्त घर बनाएका हुन् बुटवल–८ का समुद्र घिमिरे क्षत्रीले । बुटवलमा माध्यमिक तहसम्म अध्ययन पूरा गरेपछि २०६५ सालमा स्नातक पढ्न काठमाडौं पुगे समुद्र । ‘त्यहाँ पढ्दापढ्दै दुबईको भिसा लाग्यो,’ उनले भने, ‘२०६८ सालमा वैदेशिक रोजगारीका लागि दुबई गएँ ।’ सात वर्ष दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा कोच अफिसरको काम गरेको उनले सुनाए । ‘दुबईमा भएका बेला विभिन्न सात मुलुक घुम्ने अवसर मिल्यो,’ उनले भने, ‘सिंगापुर, स्वीट्जरल्यान्ड, इटाली, फ्रान्स, जर्जिया, अजरबैजानलगायत देश पुगें ।’ त्यस क्रममा विभिन्न धर्म संस्कृति र पैसाको महत्त्व कहाँ कस्तो छ भन्ने बुझ्ने अवसर मिलेको उनले बताए । ‘विदेशमा धेरै कुरा सिक्ने र बुझ्ने अवसर मिल्यो,’ उनले भने, ‘मासिक साढे २ लाख रुपैयाँ तलबको माया मारेर मुलुक फर्किएँ ।’
मुलुकको प्राकृतिक सौन्दर्यको लाभ उठाउनुपर्छ भनेर आफू फर्किएको उनी बताउँछन् । ‘म फर्किएका बेला देश कोभिडको चपेटामा थियो,’ उनले भने, ‘लकडाउनका बेला आफ्नै देशका विभिन्न गाउँ घुमें ।’ यसरी सम्भावनाको खोजी गर्ने क्रममा देउराली आइपुगेको उनले बताए । ‘देउरालीमा ५० लाख लगानी गरेर वातावरणमैत्री घर बनाएँ,’ उनले भने, ‘१७ रोपनी क्षेत्रफलमा काठको घर छ ।’ उनका अनुसार उक्त घरमा काठका भाँडा, पुराना उपकरण जोहो गरिएको छ । ‘गाउँले परिवेश तयार गरेको छु,’ उनले भने, ‘आनन्द मिल्ने वातावरण छ ।’
पाहुनाका लागि दुई किसिमका प्याकेज सेवा उपलब्ध गराएको उनले बताए । ‘१५ सय रुपैयाँ तिर्ने पाहुनाले दुई पटक खाजा र एक छाक खानासहित बास बस्न पाउँछन्,’ उनले भने, ‘३ हजार ५ सय रुपैयाँमा छुट्टै कोठासहित खाना र खाजाको व्यवस्था छ ।’ प्याकेजबाहेक गाउँले स्वादका लागि मेन्युअनुसार परिकार पस्किने गरेको उनले बताए । ‘कोदो, फापर, सिस्नो, लोकल कुखुरा, हाँस, लोकल आलु, हरियो तरकारी, दही, मही, दूध, माछा आदि पाइन्छ,’ उनले भने, ‘हामी बजारका कुनै खाना बेच्दैनौं, पेय पदार्थसमेत दूध वा दहीबाट बनेको सेक र लसी हुन्छ ।’ प्रायः सामूहिक रूपमा पाहुना आउने भएकाले बार्बिक्यु र आगो ताप्न पाइने सुविधा उपलब्ध रहेको उनले बताए ।
घरभन्दा तलपट्टिको खाली जमिनमा खरको छानो हालेर टहरा बनाएका छन् । टहरामध्ये केहीमा वाद्यवादनका सामग्री छन् । ‘कुनैमा ध्यान गरेर बस्न मिल्छ,’ उनले भने, ‘कुनै टहरामा चिया पिउँदै गफिने वातावरण छ ।’ यहाँका हरेक ढुंगा, हरेक काठमा केही न केही सन्देश लेखिएको देखिन्छ । ती ढुंगामा लेखिएका छन्, ‘से नो टु ड्रग्स’, शान्ति प्राप्तिका लागि प्रकृति, कति बस्छौ साथी युरोप अनि खाडीमा, सम्भावना खोजौं आफ्नै देशको खेत अनि बारीमा ।
इको घरमार्फत पर्यटन विकासका साथै माटोसँग बालबालिका, वृद्धवृद्धा तथा युवालाई घुलमिल गराई प्रकृति र माटोको महत्त्व बुझाउने अभियानमा समेत आफू लागेको उनले बताए । पाहुनालाई घोडामा बसाएर यहाँको उकाली ओराली, खोला, पर देखिने गाउँको बाटोसम्म सयर गराउँदै आएको उनले बताए । ‘घोडसवार गराएर कफी, कागती, हरियो तरकारी बारीमा डुलाइन्छ,’ उनले भने, ‘प्रकृति, जल, वायु, अग्नि र पृथ्वी पञ्चतत्त्व भएकाले तीमध्ये कुनै एकको साथमा हरेक मानिस रमाउनुपर्ने सन्देश दिने गरेको छु ।’ उनका अनुसार घरमा दैनिक २ देखि ४ वटा समूह बास बस्न आइरहेका छन् ।
शान्त क्षेत्रमा बस्न रुचाउने स्वभाव रहेकाले श्रीमान् देश फर्किएको श्रीमती स्वेता बताउँछिन् । उनीहरूका तीन वर्ष र तीन महिनाका गरी दुई छोरा छन् । ‘आमाबुबाले विदेशमा नबसे हुन्थ्यो भन्ने गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘श्रीमान्को पनि त्यही सोच भएकाले सँगै फर्कियौं ।’ अहिले सुरु गरेको कामबाट समाजमा सकारात्मक सन्देश गइरहेकाले खुसी भएको उनले बताइन् । ‘मैले बाबुहरू हेर्नुपर्छ,’ उनले भनिन्, ‘चार जना कर्मचारी हुनुहुन्छ, सँगै श्रीमान्ले सबै काम गर्नुहुन्छ, यसरी सजिलै भइरहेको छ ।’ आफूहरूले फार्म हाउस चलाएदेखि गाउँलेले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा रोजगार पाइरहेको उनले बताइन् । ‘गाउँमा उत्पादन भएका अन्डा, कुखुरा, दाल, गेडागुडी, दूध, दही, घिउ, तरकारी किनेर ल्याइन्छ,’ उनले भने, ‘यसले आम्दानी भइरहेको छ ।’ कान्तिपुरबाट