–सुशीला रेग्मी
रामपुर (पाल्पा), ८ वैशाख

पाल्पाको रामपुरमा ज्येष्ठ नागरिकलाई लक्षित गरी निशुल्क कृत्रिम दन्त शिविर दाँत हस्तान्तरण तथा नयाँवर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । कालीगण्डकी फाउन्डेशन नेपालको आयोजनामा ट्राभल डेन्टिष्ट्री नेपालको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी निशुल्क कृत्रिम दन्त शिविर आयोजना गरेपछि दाँत नभएका धेरै जना ज्येष्ठ नागरिकले नयाँ दाँत पाएका छन् ।
फाउन्डेशनका अध्यक्ष निलकण्ठ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा रहनुभएको हो । प्रमुख अतिथि नगर प्रमुख थापाले शिविरमा सहभागीलाई दाँत हस्तातन्तरण गर्नुहुदै यसले नयाँ दाँत राखेपछि यसको सुरक्षा सही किसिमबाट गर्नुपर्ने र सुरुमा केही अप्ठ्यारो अनुभुती भएपनि नियमित प्रयोग गर्दै गएपछि सहज बन्ने बताउनुभयो ।
दाँत नै स्वास्थ्यको पहिलो खुड्किलो हो, दाँत भएन भने खानपानमा समस्या पर्ने, अनुहार चाउरिपन पर्ने, खानेकुरा चपाउन नसक्दा पाचन प्रक्रिया नभएपछि शरीर स्वस्थ नरहने भएकाले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै कृत्रिम दाँत उपलब्ध गराइएको कालीगण्डकी फाउण्डेशन नेपालका सल्लाहकार सन्दिप राना बताउनुहुन्छ । नगर उपप्रमुख बालकुमारी थापाले ज्येष्ठ नागरिकको लागि गरेको यस कार्य अति राम्रो रहेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष यामबहादुर सुनार, नेकपा समाजवादीका केन्द्रिय सल्लाहकार लेखनाथ पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी रामपुर संयोजक अर्जुन श्रेष्ठ, पत्रकार सुशीला रेग्मी, रामतुलसी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल, दन्तरोग विशेषज्ञ डाक्टर अनिता गुरुङ लगायतले बोल्दै रामपुर क्षेत्रलाई कर्मथलो बनाएर गरेको कार्यले समाजमा सकारात्मक भुमिका खेलेको बताउनुभएको छ ।
एक महिनाको अवधीमा ६० जनाको नयाँ दाँत राख्ने प्रक्रिया सकिएको ट्राभल डेन्टिष्ट्री नेपालका अध्यक्ष डाक्टर शंकर श्रेष्ठले बताउनुभएको छ । उहाँका अनुसार निकाल्न र राख्न मिल्ने खालको पूरै दाँत नभएकालाई राखिएको छ । नयाँ दाँत राख्न डराउने, छाला, हड्डीसम्बन्धी समस्या भएका बिरामीलाई उपचार गरेर दाँतको महत्वबारे परामर्श लिएर कृत्रिम दाँत राख्न उप्रेरणा गरेको डाक्टर श्रेष्ठको भनाई छ ।
दाँतको समस्याले पाल्पा रामपुर नगरपालिका वडा नं ५ बस्ने ७४ वर्षीय नेत्रप्रसाद तिवारीलाई सधैँ पिरोल्ने गथ्र्यो । दाँत झरेपछि अनुहारमा चाउरीपन आउने, मन लागेको खानेकुरा खान नपाउने समस्या झेल्नुभएका तिवारी अहिले कृत्रिम दाँत राखेपछि उहाँ फूर्तिलो देखिनुहुन्छ । आफ्नै गाउँमा चलेको दन्तरोग विशेषज्ञ निशुल्क शिविरमा दाँत जाँच तथा नयाँ दाँत राख्ने सुबिधा पाएपछि उहाँ खुशी हुनुुहुन्छ ।
“दाँत नहुदा धेरै समस्या भोग्नुपर्ने, मन लागेको खानेकुरा खान नपाइने, अनुहार चाउरी पर्ने, अहिले नयाँ दाँत राखेपछि छुट्टै आनन्द लागेको छ, अनुहार नै फेरिएको जस्तो अनुभुती पाएको छु” उहाँले खुशी हुदै भन्नुभयो ।
पाल्पाको बगनासकाली गाउँपालिका १ बस्ने तुलसा खनाल रामपुरमा निशुल्क कृत्रिम दाँत राख्ने शिविर आयोजना गरी नयाँ दाँत राख्न पाएपछि उहाँ उत्साहित हुनुहुन्छ । धेरै टाढाबाट रामपुरमा आउनुभएकी उहाँ नयाँ दाँत राखेपछि आफ्नो उमेर नै घटेको जस्तो अनुभुती भएको बताउनुहुन्छ ।
ज्येष्ठ नागरिक फणीन्द्र खनाल, तुलसा खनाल र रुक्मागत भट्टराईले निशुल्क दात राख्न पाउँदा धेरै खुशि लागेको बताउनुभएको छ । उपाध्यक्ष पवित्रा पौडेल ढकालको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव सीता डोटेलले गर्नुभएको हो । शिविरमा रामपुर नगरपालिका, निस्दी गाउँपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका लगायतका नागरिकले सेवा लिएका छन् । यस संस्थाले स्थापनाकालदेखि रामपुर क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । कोभिड १९ को समयमा स्वास्थ्य सुरक्षा सामग्री, बाँदर आतंक समस्या समाधान गर्न बाँदर धपाउने यन्त्र वितरण, कृषकलाई तालिम, एम्बुलेन्स सेवा, रामपुर बेझाडमा सार्वजनिक विद्या मन्दिर पुस्ताकालय सञ्चालन लगायतका कामहरु गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय