‘पाल्पाको भाषा, कला, साहित्य र संस्कृति’ कृतिकाे नारी साहित्य तथा साँस्कृतिक प्रतिष्ठान पाल्पाले सार्वजनिक गरेकाे छ । २० वटा खोजमुलक लेख समेटिएको कृतिकाे लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री बीरबहादुर रानाले विमाेचन गर्नुभएकाे हाे ।
संस्थाको परिचय गराउनुका साथै कार्यक्रमको सन्दर्भ उठाउन गरी औचित्यमा प्रकाश पार्दै प्रतिष्ठानकी अध्यक्ष मन गहिरेले पुस्तकमा समेटिएका सामग्री र पुस्तक प्रकाशनको सन्दर्भलाई समेत उहाँले प्रकाश पार्नुभयो । कृतिमाथि समीक्षात्मक टिप्पणी गर्ने काम त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उपप्राध्यापक पुष्कर आचार्यले गर्नुभयो । पाल्पाको साहित्य, कला र संस्कृतिका क्षेत्रमा पछिल्लो समयमा जागरण आएको विचार उहाँले व्यक्त गर्नुभयो । विभिन्न बीस जना स्रष्टाका लेखहरू कृतिमा रहेको, धेरै अनुसन्धानमूलक र केही निजात्मक प्रकृतिका लेखहरू रहेको कुरा उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा साहित्यकार विजया पन्त, पोखराथोक साहित्य संगमका अध्यक्ष हरि भट्टराई, लेखक तथा इतिहासविद् निर्मल श्रेष्ठले लेखनमा लाग्नेहरू हात्तीको चालमा लसलस हिँड्नुपर्ने बताउँदै साहित्य इतिहासका सम्बन्ध सिङ्गो कृति आउनुपर्ने विचार व्यक्त गर्नुभयो । पत्रकार महासंघका पूर्व सभापति गोविन्द भट्टराईले साहित्यका माध्यमबाट व्यक्ति महामानव बन्न सक्नुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष मन गहिरेको अध्यक्षता र प्रतिष्ठानकी सचिव मञ्जु कोइरालाको संचालनमा सम्पन्न भएको हो ।