
गोपाल प्रसाद वश्याल
विश्वविद्यालय अनुसन्धान आयोगको सहयोग र अनुसन्धान ब्यवस्थापन समिति, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको आयोजनामा सञ्चालित तीन दिने प्राज्ञिक लेखन कार्यशाला आज सम्पन्न भएको छ ।
त्रिभुवन क्याम्पससहित पाल्पा जिल्लाका विभिन्न नौवटा क्याम्पसबाट ६८ जना प्राध्यापकहरू सहभागी यस कार्यशालामा त्रिभुवन विश्वविद्यालयका सहपरीक्षा नियन्त्रक डा. रामनाथ न्यौपानेले अनुसन्धान पत्र लेखनको ढाँचा, विषयवस्तु स्रोत संकलन र अभिलेखीकरण पद्धति, र अनुसन्धान प्रस्तावनापत्र लेखन विषयक तीनवटा कार्यपत्रहरू, त्रिभुवन क्याम्पस प्रमुख डा. टंक प्रसाद पन्थले सिर्जनात्मक र प्राज्ञिक लेखनको तुलनात्मक विश्लेषण, त्रिभुवन विश्वविद्यालय, ब्यवस्थापन संकायका पूर्व डिन दिनेशमणि घिमिरेले अनुसन्धानात्मक प्रस्तावना लेखनको अभ्यास, अनुसन्धान ब्यवस्थापन समितिका संयोजक डा. शंकर प्रसाद गैरेले लेखन र प्रकाशन, तथा प्राज्ञिक लेखनका प्रक्रियाहरू विषयक दुईवटा कार्यपत्रहरू, सहायक क्याम्पस प्रमुख सन्तोष खनालले पुस्तक समिक्षा, डा. पित बहादुर नेपालीले वैज्ञानिक लेखन, डा. लक्ष्मी सापकोटाले मात्रात्मक अनुसन्धानमा तथ्याङ्क विश्लेषण, कृष्ण बहादुर जि सि ले गुणात्मक अनुसन्धान विधि र साधनहरू र गोपाल प्रसाद वश्यालले प्राज्ञिक लेखनका प्रक्रिया र रणनीतिहरू विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा डा. न्यौपानेले विश्वविद्यालय अनुसन्धान आयोगले सहयोग गर्ने अनुसन्धान कार्यका लागि प्रस्तावना लेखनसम्बन्धि जानकारी गराउनु भएको थियो ।
अनुसन्धान र प्राज्ञिक लेखनका यी विविध पक्षमा केन्द्रित रहेर सञ्चालित कार्यशालामा पूर्व प्रकाशित कार्यहरूको समिक्षात्मक विश्लेषण, अनुसन्धान तथा लेखनका विभिन्न चरणहरू, आवश्यक भाषिक, विषयवस्तु र संरचनागत पद्धतिमा प्रस्तुति, छलफल, कक्षाकार्य, समीक्षा, पुनरावलोन, बैयक्तिक एवम् समूह कार्य लगायतका तरिकाहरू अपनाई सञ्चालित कार्यशालाबाट सहभागीहरूले प्राज्ञिक अनुसन्धान तथा लेखनका आधारभूत सिप विकास गर्न सकेका छन् ।
कार्यशालाको सुरू र अन्त्यमा सञ्चालित संक्षिप्त उद्घाटन तथा समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्रिभुवन क्याम्पस पाल्पाका क्याम्पस प्रमुख डा. टंक प्रसाद पन्थले प्राध्यापकहरू कक्षाशिक्षण कार्यका साथै प्राज्ञिक उन्नयनका लागि अनुसन्धान कार्यमा लाग्नुपर्ने र अनुसन्धानले कक्षा शिक्षण सिकाइ प्रक्रियामा समेत योगदान गरी विद्यार्थीका सिकाइ उपलब्धिलाई सकारात्मक योगदान गर्नुपर्ने आावश्यकता भएको औंल्याउनु भयो । त्यस्तै पूर्व क्याम्पस प्रमुख टंक भट्टराई, सहपरीक्षा नियन्त्रक डा. रामनाथ न्यौपाने, प्राध्यापक संघका सभापति खिम बहादुर राना, कर्मचारी संघका सभापति डुकुल ढकाल, स्वतन्त्र विद्यार्थी युनियनका सभापति मिलन घर्ती लगायतले प्राध्यापकको प्राज्ञिक विकासका लागि तालिम कार्यशाला फलदायी हुने भएकोले क्याम्पसले समयसमयमा यस्ता कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
अनुसन्धान ब्यवस्थापन समितिका अध्यक्ष डा. शंकर प्रसाद गैरेको अध्यक्षता र सदस्य डा. पित बहादुर नेपालीको सञ्चालनमा चलेको समापन कार्यक्रममा प्रशिक्षक सहजकर्ताहरू र सहभागी प्रशिक्षार्थीहरूलाई प्रमुख अतिथि डा. पन्थले प्रमाणपत्र वितरण गर्नुभयो ।
समापन सत्रमा सहभागीहरूका तर्फबाट बोल्दै उपप्राध्यापक मिना ढकाल र तानसेन बहुमुखी क्याम्पसका चन्द्रकान्त न्यौपानेले अनुसन्धान र प्राज्ञिक लेखनमा कार्यशालाले दिएको महत्वपूर्ण ज्ञानले यसप्रकारका प्राज्ञिक कार्य गर्नका लागि थप उर्जा मिलेको बताउनुभयो । समितिका सदस्य केशव घिमिरेले सबैलाई धन्यवाद दिनुभयो ।