राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन् । यसैगरी नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए । यस्तै पाँच मत भने बदर भएको छ ।

जसअनुसार पौडेलले संघतर्फ १६९०६ र प्रदेशतर्फ १६८९६ मतभार प्राप्त गरे ।  उनको कुल मतभार ३३८०२ रहेको छ। यसैगरी नेम्वाङले संघतर्फ ७७४२ र प्रदेशतर्फ ७७७६ गरी कुल १५५१८ मतभार प्राप्त गरे ।

काे हुन्, नवनिर्वाचित राष्ट्रपति पाैडेल

विसं. २००१ असोज २९ गते शनिबार  तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा रामचन्द्र  पौडेलको जन्म भएको थियो। उनका माता ऋषिमाया पौडेल हुन् भने पिता दुर्गाप्रसाद पौडेल हुन्।

पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागे। राजा महेन्द्रले २०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि सक्रिय रुपमा पौडेल रानीतिमा आएका हुन्।

उनले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गरेका छन् भने संस्कृत साहित्यमा त्रिविबाटै  शास्त्री पास गरेका छन्। उनी श्रीमतीसहित पाँच सन्तानका पिता हुन्।

नेपाली कांग्रेसद्वारा सञ्चालित ०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए। ०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता पौडेल ०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए। ०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचत भए। ०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनामा पौडेल पनि सहभागी थिए। र, उनी संस्थापक केन्द्रीय सदस्य बने।

त्यस्तै ०४० सालमा पौडेललाई कांग्रेसले केन्द्रीय प्रचार समितिको संयोजक बनायो। ०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा छन्।

पञ्चायतको अन्त्य भई ०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि पौडेल ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित भए। त्यसपछि बनेको सरकारमा स्थानीय विकासमन्त्री भए। दोस्रोपटक ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने। ०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए। ०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भएर ५ वर्ष सेवा गरे। पौडेल ०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित भए र ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले। ०६२ सालमा कांग्रेस महामन्त्री भए।

माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयाको संयोजक पनि थिए। ०६३ सालमा उनी शान्ति तथा पुनर्निमाण मन्त्री भए। ०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए। सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित भए। ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए। ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौंपटक निर्वाचित भए।

पौडेलले पञ्चायती राजतन्त्रका विरुद्ध संघर्षका क्रममा २०१९ देखि वि।सं। २०४६ सम्म विभिन्नपटक गरी १३ वर्ष जेल जीवन बिताएका छन्।

२०६७ सालमा भएको प्रधानमन्त्रीको निर्वाचनमा पौडेलले १७ पटक पराजित व्यहोरे। त्यसबेला प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसदमा उम्मेदवारी दिएका थिए। तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनैजनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीनजनाबीच प्रतिस्पर्धा भयो।

आठौं प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैं बाहिर निस्किए । त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे। यो चुनावी श्रृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्वन्धी नियमावली नै परिवर्तन गरियो। अर्को चरणमा झलनाथले बाजी मारे भने रामचन्द्रको प्रतिस्पर्धा खेर गयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय