सुशीला रेग्मी
रामपुर (पाल्पा), १३ फागुन
पाल्पाको रामपुरमा बृहत् निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । रोटरी क्लब रामपुर, ज्योतीपुन्ज युवा क्लव रामपुर, रोट्रायाक्ट क्लव अफ बुटवलको आयोजनामा मुटु तथा मृगौला रोगलाई प्राथमिकता दिएर शिविर संचालन गरिएको हो । शिविरमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, कालीगण्डकी आँखा उपचार केन्द्र, शहीद बहुमुखी क्याम्पस रामपुरको प्राबिधिक सहयोगमा र रामपुर नगरपालिकाको समन्वयमा संचालन भएको शिविर रोटरी क्लव रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा उद्घाटन गरिएको छ । शहीद बहुमुखी क्याम्पस रामपुर ७ किसानबारीमा भएको शिविरको उद्घाटन रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले गर्नुभएको हो । नगर प्रमुख थापाले समयमा स्वास्थ्य परिक्षण गर्ने बानी नहुदा अकालमै ज्यान गुमाउनु परिरहेको बताउनुहुदै मानिसको संवेदनशिल भाग मुटु, मृगौलालाई प्राथमिकता दिएर शिविर आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुभएको छ । उहाँले साधारण परिक्षण मात्रै नगरिकन रोग निदान हुने गरी उपचार सेवा दिन स्वास्थ्यकर्मीलाई अनुरोध गर्नुभएको छ ।
गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज अलामले ठाउँ ठाउँमा गएर उपचार गर्ने मात्रै होईन रोगको निदान गर्ने चाहना हो, स्वास्थ्य जस्तो संवेदनशील कुरामा वेवास्ता गर्दा घातक रोगको सिकार बन्नु परेको बताउनुभएको छ । कार्यक्रममा ज्योतीपुन्ज युवा क्लवका अध्यक्ष सुदिप गौतमले शहर देखि टाढा रहेको रामपुर क्षेत्रका नागरिकलाई गाउँमै सहज सेवा दिन मुटु, मृगौलाको परिक्षण गर्ने उद्धेश्यले शिविर आयोजना गरिएको बताउनुहुदै रामपुरमा डाइलायसिसको सेवा अती आवश्यक रहेको जानकारी गराउनुभएको छ । रोट्रायाक्ट क्लव बुटवलका कोषाध्यक्ष प्रेमप्रकाश श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रमको संचालन रोटरी क्लव रामपुरका सचिव सुर्यप्रसाद घिमिरेले गर्नुभएको हो ।
शिविरमा स्वास्थ्य परिक्षण गराउने ठूलो भीड देखिन्थ्यो । स्वास्थ्य परिक्षण, औषधी निशुल्क रहेकाले सेवाग्राही बिरामीलाई ठूलो राहत मिलेको छ । रगत परिक्षण, ईसिजि, ईको, मुटु, मृगौलाको परिक्षण तथा उपचार सेवा एकै स्थानमा पाएपछि अन्यत्र सेवा लिन जाने झण्झटले मुक्त भएको सेवाग्राही बताउँछन् । आफ्नै गाउँ ठाउँमा शिविरमार्फत सेवा पाउँदा बिरामी उत्साहित भएर लामबद्ध रुपमा पालो पर्खेर सेवा लिएका छन् । सेवाग्राहीलाई सहज सेवा दिलाउन आयोजकले स्वयम्सेवक परिचालन गरिएपछि सेवा लिन धेरै समय अलमलमा पर्नु नपरेको अनिल भट्टराईले बताउनुभएको छ । यसरी गाउँघरमा बेला बेलामा संचालन हुने स्वास्थ्य शिविरबाट टाढा उपचार गर्न जान आर्थिक समस्यमा रहेका, ज्येष्ठ नागरिक, विभिन्न पेशा, व्यावसायमा आबद्ध व्यक्तिले प्रत्यक्ष फाइदा लिइरहेका छन् । गाउँघरमा बाहिर उपचार गर्न नजाने, भित्रभित्रै रोगसंग लडेर बस्ने प्रवृत्तिले अकालमा ज्यान गुमाउनु पनि परिरहेको छ । यस्ता शिविर स्थानीय नागरिकलाई स्वास्थ्योपचारमा धेरै सुबिधा पु¥याएको हुन्छ । शनिवार यहाँ चलेको शिविरको लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले अवलोकन गरी सेवाग्राहीलाई सहज रुपमा राम्रो सेवा दिन आयोजकलाई अनुरोध गर्नुभएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025: Seroferonews मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा