
–सुशीला रेग्मी
रामपुर (पाल्पा), २८ माघ
पाल्पाको रामपुर महोत्सवमा दर्शकको उल्लेख्य सहभागीता बढेको छ । शनिवार दोस्रो दिन महोत्सवस्थलमा दर्शकको भीड देखिन्थ्यो । शनिवार भएकाले पनि विभिन्न संघ संस्था, विद्यालय बन्दको दिन भएकाले मेला अवलोकन गर्न आउनेले मेला परिसरस्थल भरिभराउँ बन्यो । शनिवार लोकदोहारी गायक राजु परियार, शिला आले, दिनेश ढकालको सांगितिक प्रस्तुतीले मेलामा रौनकता थपेको थियो । कलाकारको गीतमा दर्शकले साथ दिन थालेपछि कार्यक्रमलाई तताएको थियो । दर्शकको मनछुने गरी कलाकारले गीत प्रस्तुत गरेपछि सबै उमेर समुह मेलामा रमाउँदै गर्दा महोत्सवको उत्साह बढ्दो छ ।
कृषि उत्पादन, घरेलु उत्पादनलाई प्रवद्र्धन गर्दै पर्यटकिय तथा साँस्कृतिक प्रवद्र्धनका लागि रामपुर उद्योग वाणिज्य संघको आयोजना तथा रामपुर नगरपालिकाको संरक्षणमा शुक्रवार देखि मेला आयोजना गरिएको छ । शुक्रवार पाल्पा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले मेलाको उद्घाटन गर्नुहुदै तीन तहको सरकारले समन्वय र सहकार्य गरेर काम गरेमा विकासले फड्को मार्ने बताउनुभएको छ ।
“रामपुर क्षेत्र केन्द्रको राजधानी बनाउन सकिने सम्भावना बोकेको छ” उहाँले भन्नुभयो,– “रामपुरलाई बृहत्तर नगरपालिका बनाउने भनिएतापनि तालमेल नमिल्दा केही विकासमुलक काममा समस्या परिरहेको छ, बिगतका कमजोरीलाई मनन् गर्दै विकासमुलक कार्यमा सबैको साथ सहयोग आवश्यक रहेको छ” ।
जनघनत्व बढ्दै गएको रामपुरको शान्ती सुरक्षालाई मध्यनजर गर्दै डिएसपी सहितको दरबन्दीको प्रक्रिया अगाडी बढेको र यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सडक, विकास निर्माण, उद्योग विस्तार र विकासका लागि सधै लागिपर्ने उहाँ बताउनुहुन्छ ।
लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्गसंग रामपुर जोडिएकाले साना कुटीर उद्योग मात्रै नभई ठुला उद्योग व्यावसाय सञ्चालन गरेर यहाँको आर्यआर्जन बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
संघको बहुउद्धेश्यीय भवन निर्माणमा सहयोगार्थ, रामपुर उपत्यका सहित कालीगण्डकी उपत्यकाको प्रचार प्रसार, लोपोन्मुख वस्तुको प्रवद्र्धन, यस क्षेत्रको कला संस्कृतीको जगेर्ना गर्न, कृषि उत्पादनलाई प्रवद्र्धन गर्न मेला आयोजना गरिएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष ढकालले बताउनुभयो ।
मेलाका अवसरमा स्थानीय उत्पादन, कला संस्कृती, कृषि उत्पादनका अलवा रामपुर उपत्यकाको हेलिकप्टरमार्फत दृश्यावलोकन, प्याराग्लाईडिङ लगायत मुख्य आकर्षणको रुपमा रहेको छ । मेला अवधीभर करिव तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । मेलामा कृषि प्रदर्शनी, व्यापारिक गरी करिव तीन सय स्टल रहेको छ । संघको आयोजनामा यसभन्दा अघि दुई पटक व्यापार मेला सम्पन्न भइसकेको छ । मेलाको तेस्रो दिन आईतवार लोकदोहरी गायक पशुपति शर्मा, चन्द्र शर्मा, गायिका जमुना राना, हास्यकलाकार पुर्षोत्तम भण्डारी (पुर्खेबा) को रमाइलो प्रस्तुती रहने आयोजकले जनाएको छ ।


