पाल्पा । पाल्पा ग्याँस डिलर्स संघको १३ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट पर्शुराम पौड्याल पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ।
तानसेनस्थित होटल गौरीशंकरमा सम्पन्न अधिवेशनले पौड्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ समितिमा उपाध्यक्षमा अजय बहादुर श्रेष्ठ, सचिवमा उमेश राज शाक्य, कोषाध्यक्षमा विष्णु बहादुर जि.सी., सहसचिवमा भुपेन्द्र के.सी. तथा सदस्यहरूमा राजेश प्रसाद श्रेष्ठ, विष्णु पौडेल, चेउ नारायण बस्याल, अनवर अलि, विष्णु थापा र राम बहादुर श्रेष्ठ रहनुभएको छ।
अधिवेशनमा संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पौड्यालले रुस–युक्रेन युद्ध तथा मध्यपूर्वको अशान्तिका कारण सिर्जित अन्तर्राष्ट्रिय संकटले ग्याँस आपूर्ति र मूल्यमा पारेको असरबारे जानकारी गराउनुभयो। उहाँले राज्यको नीति तथा ग्याँस उद्योगहरूको मनोमानीका बाबजुद डिलरहरूले करिब ३ प्रतिशतको सीमित मुनाफामा रहेर घरभाडा, बैंक ब्याज र कर्मचारी खर्च धान्नुपरेको बताउनुभयो।
डिलर कमिसन वृद्धि गर्न र अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न नेपाल आयल निगम तथा माथिल्ला निकायसँग माग गर्दै उहाँले ग्याँस उद्योगहरूले पुराना डिलरलाई विस्थापित गर्ने र बिना मापदण्ड नयाँ डिलर खडा गर्ने प्रवृत्तिविरुद्ध संघले कडा कदम चाल्ने चेतावनी दिनुभयो। साथै आगामी दिनमा डिलर प्रमाणीकरण र उपभोक्ता कार्ड वितरण प्रणालीलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
व्यवसायी कल्याण तथा सामाजिक दायित्वअन्तर्गत संघले सदस्यहरूको दुर्घटना तथा स्वास्थ्य बिमा रकम दुई लाखबाट बढाएर तीन लाख रुपैयाँ बनाउने, सदस्यको दम्पतीको निधन भएमा किरिया खर्चबापत दश हजार रुपैयाँ राहत उपलब्ध गराउने र उत्कृष्ट अंक ल्याउने सदस्यका छोराछोरीलाई सम्मान गर्ने योजना सार्वजनिक गरेको छ।
सोही अवसरमा संघका तर्फबाट भोटेकोशी बाढीपीडितका लागि २५ हजार ५५१ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको थियो। साथै उत्कृष्ट ग्याँस विक्रेता, दीर्घसेवी मजदुर तथा सहयोगी विज्ञापनदाताहरूलाई सम्मान पनि गरिएको संघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय