आनन्द बचत तथा ऋण सहकारी संस्थाले १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। ‘क्रमिक बचत गर्ने बानी बसालौं, बोट नमासी मिठो फल खाऔं’ भन्ने नारालाई आत्मसात् गर्दै समृद्धिको दिशामा अघि बढिरहेको संस्थाले शनिबार तानसेनमा औपचारिक कार्यक्रम गर्दै १६ औं वार्षिक साधारण सभा मनाएको हो।
संस्थाले १६ वर्षको यात्रामा आफ्ना शेयर सदस्यहरूको आर्थिक समृद्धिसँगै गरिब, महिला, दलित, जनजाति, उत्पीडित तथा विपन्न समुदायको उत्थानमा निरन्तर योगदान पुर्याएको छ। आर्थिक समृद्धिको मेरुदण्डका रूपमा रहेको सहकारीले शेयर सदस्यहरूमा सामूहिक भावनाको विकास गरी उपलब्ध श्रम, सीप, स्रोतसाधन, पुँजी र प्रविधिको अधिकतम उपयोग गर्दै समृद्धिको यात्रा अघि बढाएको हो।



संस्थाले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउँदै लगेको छ। मोबाइल तथा एसएमएस बैंकिङ सेवा सञ्चालनमा ल्याएको संस्थाले साधारण सभाको अवसरमा ‘श्री आनन्द आइ स्मार्ट एप’ पनि सार्वजनिक गरेको छ। अध्यक्ष सरोजलाल शाक्यले सेवा प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त एप सञ्चालनमा ल्याइएको जानकारी दिँदै भने, “अब शेयर सदस्यहरूले घरबाटै आफ्नो वित्तीय कारोबारको जानकारी लिन सक्नेछन्। मोबाइल एपमार्फत अन्तरबैंकिङ रकम ट्रान्सफर, वालेट टपअप, खानेपानी, बिजुली, स्कुल फी, इन्टरनेट, हवाई टिकटलगायतका सेवाको भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ।”
यसबाट कार्यालय धाउनुपर्ने र लाइन बस्नुपर्ने झन्झट अन्त्य हुनुका साथै सरकारको डिजिटलाइजेसन लक्ष्यमा समेत टेवा पुगेको छ। शेयर सदस्यहरू प्रविधि प्रयोगमा अभ्यस्त हुँदै गएका छन् भने संस्थाले महिला उद्यमशीलतालाई पनि प्रोत्साहन गरेको छ।
साधारण सभामा बोल्ने अधिकांश वक्ताहरूले संस्थाले आफ्नो सेवालाई समयसापेक्ष रूपमा प्रविधिमैत्री बनाउँदै लगेकोमा प्रशंसा गरेका थिए। नेपाल पत्रकार महासंघका सचिव रामचन्द्र रायमाझीले सहकारीले छोटो समयमै सेवालाई प्रविधिमैत्री बनाएकोमा खुसी व्यक्त गर्दै भने, “मैले विगतका साधारण सभाहरूमा सहकारीलाई प्रविधिमैत्री बनाउन सुझाव दिएको थिएँ। त्यही सुझावलाई आनन्द सहकारीले कार्यान्वयन गरेकोमा धन्यवाद दिन चाहन्छु। अन्य सहकारीले पनि आनन्दबाट सिक्नुपर्छ।” शेयर सदस्य पुष्करराज रेग्मीले एसएमएस बैंकिङ सेवा सञ्चालन गरेकोमा संस्थाको प्रशंसा गरे।
कार्यक्रममा संस्थाका सल्लाहकार सर्जुलाल बज्राचार्य, छत्रराज शाक्य, डा. पुरनमान बज्राचार्य, चित्रबलीराम सुवाल तथा शेयर सदस्य यादवराज शर्मा, कृतिका बज्राचार्य लगायतले संस्थाले छोटो समयमै समृद्धिको दिशामा फड्को मारेको बताए। उनीहरूले संस्थालाई दीगो र प्रभावकारी बनाउन समर्पण, प्रतिबद्धता र पारदर्शिता आवश्यक रहेकोमा जोड दिँदै सहकारीहरू अब एकजुट भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।
सभामा सचिव विनयराज बज्राचार्यले प्रगति प्रतिवेदन, कोषाध्यक्ष मनिषलाल बज्राचार्यले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक नारायणबहादुर बज्राचार्यले लेखा प्रतिवेदन र ऋण उपसमितिका संयोजक तथा उपाध्यक्ष रत्नमान बज्राचार्यले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाले विगत वर्षहरूझैं यस वर्ष पनि जेष्ठ नागरिक, असल बचतकर्ता तथा एसईईमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरूलाई सम्मान गरेको थियो। अध्यक्ष सरोजलाल शाक्यले सभाको उद्घाटन गरेका थिए भने पेश भएका प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएको प्रबन्धक प्रकाश शर्माले जानकारी दिए।
कार्यक्रमको अध्यक्षता अध्यक्ष सरोजलाल शाक्यले, धन्यवाद ज्ञापन उपाध्यक्ष रत्नमान बज्राचार्यले र सञ्चालन सहसचिव अनुराधा बज्राचार्यले गरेका थिए।









