पाल्पा – पाल्पाको तानसेन नगरपालिका–४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्यासको पाइप फुस्किएर भएको आगलागीमा गम्भीर घाइते भएकी ८ वर्षीया बालिका साजुदा बानुको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ।
एलकेजीमा अध्ययनरत बानु गत साउन ७ गते विद्यालयको चमेना गृहमा खाजा खाने क्रममा अचानक ग्यासको पाइप फुस्किएर भएको आगलागीमा गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल लगिएको थियो।



पारिवारिक स्रोतका अनुसार उपचारकै क्रममा बुधबार दिउँसो उनको निधन भएको हो।
परिवारका एक सदस्यका अनुसार बानुको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मंगलबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। तर चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद बुधबार दिउँसो उनको मृत्यु भयो। उनको बिहिबार पोष्टमार्टम गरि तानसेन ल्याउने बताईएको छ । शोकमा बिहिबार र शुक्रवार मिलेनियम स्कुल विदा गरिएको छ ।
चिकित्सकका अनुसार आगलागीबाट बानुको अनुहार, दुवै हात, छातीको दाहिने भाग तथा कम्मरदेखि पैतालासम्म गरी करिब ३५ प्रतिशत शरीर जलेको थियो।
उक्त घटनामा बानुसँगै खाजा खाइरहेका अन्य दुई जना विद्यार्थी पनि सामान्य घाइते भएका थिए। उनीहरूको उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।









