पाल्पा — पाल्पाका दुई सरकारी कार्यालय र दुई स्थानीय तहबाट गरी जम्मा ५६ जना कर्मचारीलाई सेवाबाट हटाइएको छ।
कृषि ज्ञान केन्द्र पाल्पाबाट १३ जना र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाबाट १३ जना गरी जम्मा २६ जना कृषि तथा पशु प्राविधिक कर्मचारी हटाइएका हुन्। यी प्राविधिकहरूलाई वि.सं. २०७५ सालदेखि विभिन्न समयमा करारमा नियुक्त गरिएको थियो। प्रदेश सरकारको परिपत्रअनुसार जिल्लाका १० स्थानीय तहका विभिन्न वडामा कार्यरत यी प्राविधिकलाई सम्बन्धित कार्यालयहरूले हटाएका छन्।



कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख अमिता पाण्डेका अनुसार यी प्राविधिकहरूले स्थानीय तहसँग समन्वय गरी ग्रामीण क्षेत्रका पशुपालक तथा तरकारी खेती गर्ने किसानको घरदैलोमै पुगेर सेवा दिँदै आएका थिए। १३ जना प्राविधिक हटाइएपछि कार्यालयको नियमित सेवा प्रवाहमा समस्या देखिएको उहाँले बताउनुभयो। करारका प्राविधिक हुँदा कार्यक्रम सञ्चालन, फिल्ड अनुगमन, स्थानीय तहसँग समन्वय र किसानको मागअनुसार घरदैलोमा सेवा पुर्याउन सहज थियो। अहिले भने सेवा प्रवाह र स्थानीय तहसँग सहकार्य गर्न कठिनाइ भएको उहाँको भनाइ छ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गाप्रसाद खनालले प्रदेश सरकारको अनावश्यक कर्मचारी नराख्ने नीतिअनुसार करारका कर्मचारी हटाइएको जानकारी दिनुभयो। आवश्यकता पहिचान गरी मात्र कर्मचारी राख्ने तथा समान उद्देश्य भएका कार्यालयलाई एकीकृत गर्ने नीतिअनुसार यो निर्णय गरिएको उहाँले उल्लेख गर्नुभयो। करारका कर्मचारी हटाइएपछि ग्रामीण भेगका किसान प्रत्यक्ष रूपमा प्रभावित भएको उहाँले बताउनुभयो। पशुपक्षी बिरामी पर्दा औषधिसहित घरदैलोमै पुगेर सेवा दिने व्यवस्था बन्द भएको र स्थानीय तहसँग कृषि तथा पशुसम्बन्धी तथ्याङ्क सङ्कलन लगायतका कार्यक्रममा सहकार्य गर्न पनि कठिन भएको उहाँले जनाउनुभयो।
यस्तै बगनासकाली गाउँपालिकाले नौ जना सहायक कम्प्युटर अपरेटर र एक जना स्वास्थ्यकर्मीसहित जम्मा १० जना कर्मचारीलाई हटाएको छ। गाउँपालिकाका सूचना अधिकारी विक्रम रायमाझीले यसको पुष्टि गर्नुभयो। सेवाबाट हटाइएका कर्मचारीहरूले पुनर्बहालीको माग गर्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाउनेलगायतका कार्यक्रम गरिरहेका छन्।
त्यस्तै रैनादेवी छहरा गाउँपालिकाले दैनिक ज्यालादारीमा कार्यरत २० जना कर्मचारीलाई हटाएको छ। विद्यालय नर्स, कार्यालय सहायक, कार्यालय सहयोगीलगायत विभिन्न पदमा कार्यरत यी कर्मचारीलाई हटाइएको गाउँपालिकाका प्रशासन प्रमुख लक्ष्मण रानाले जानकारी दिनुभयो।










