काठमाडौँ । नेपालसहित ५० देशका नागरिकका लागि अमेरिकाको पर्यटक तथा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदनमा अब अनिवार्य रूपमा धरौटी (भिसा बन्ड) राख्नुपर्ने व्यवस्था लागू गरिएको छ। अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड’ कार्यक्रमलाई स्थायी बनाउँदै धरौटी रकम अधिकतम २० हजार अमेरिकी डलरसम्म निर्धारण गरेको हो। यो रकम नेपाली मुद्रामा करिब ३० लाख रुपैयाँभन्दा बढी हुन आउँछ।
नयाँ व्यवस्थाअनुसार अमेरिका भ्रमण वा व्यावसायिक प्रयोजनका लागि बी–१ (व्यापार) र बी–२ (पर्यटक) भिसा आवेदन दिने नेपाली नागरिकले न्यूनतम १० हजार अमेरिकी डलरदेखि अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ। भिसा अन्तर्वार्ताअघि नै उक्त रकम बुझाउनुपर्ने प्रावधान राखिएको छ।



भिसा आवेदन अस्वीकृत भएमा वा अमेरिका पुगेपछि भिसाका सबै सर्त पालना गर्दै तोकिएको समयभित्र स्वदेश फर्किएमा धरौटी रकम फिर्ता गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। तर भिसाको अवधि नाघेर अमेरिकामा गैरकानुनी रूपमा बसेमा (ओभरस्टे) भने धरौटी रकम जफत गरिनेछ।
अमेरिकी सरकारले भिसाको म्याद सकिएपछि पनि गैरकानुनी रूपमा बस्ने (ओभरस्टे) व्यक्तिहरूको संख्या घटाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको जनाएको छ। ट्रम्प प्रशासनका बेला परीक्षणका रूपमा सुरु गरिएको ‘भिसा बन्ड’ कार्यक्रम प्रभावकारी देखिएपछि यसलाई स्थायी रूपमा कार्यान्वयनमा ल्याइएको बताइएको छ।
यो नियमबाट नेपालका साथै बंगलादेश, भुटानलगायत ५० देशका नागरिक प्रभावित हुनेछन्। अमेरिकी विदेश मन्त्रालयले आवश्यकता अनुसार भविष्यमा थप देशहरूलाई पनि यो सूचीमा समावेश गर्न सकिने जनाएको छ।









