रम्भा गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
पाल्पा — रम्भा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभाको १९औँ अधिवेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकालाई सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) आधारित ‘स्मार्ट ग्रामीण पालिका’ का रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि सारेका छन्।



नीति तथा कार्यक्रमअनुसार शिक्षामा एआईमा आधारित सिकाइ प्रणाली विस्तार गरिनेछ भने कृषि, स्वास्थ्य र सेवा प्रवाहलाई डिजिटल माध्यमबाट थप प्रभावकारी र नागरिकमैत्री बनाइने लक्ष्य राखिएको छ। ‘जनताको घरमै पालिका’ अभियानअन्तर्गत ई–गभर्नेन्स, डिजिटल कर भुक्तानी र अनलाइन फाइल ट्र्याकिङ प्रणाली लागू गरी कागजी प्रक्रियालाई न्यूनीकरण गरिने उल्लेख गरिएको छ।
भौतिक पूर्वाधारतर्फ आगामी आर्थिक वर्षलाई ‘सडक स्तरोन्नति वर्ष’ का रूपमा मनाइने भएको छ। अत्यावश्यक तथा प्राविधिक रूपमा उपयुक्त देखिएका बाहेक नयाँ सडकको ट्र्याक खोल्ने कार्य पूर्ण रूपमा रोक्ने नीति लिइएको छ। विद्यमान सडकलाई वर्षभर सञ्चालनयोग्य बनाउन सडक मर्मत कोष र लेन्थमेन व्यवस्थालाई प्रभावकारी बनाइनेछ।
खानेपानीतर्फ ‘एक घर एक धारा’ अभियानलाई पूर्णता दिइने तथा लिफ्टिङ्ग खानेपानी योजनाको न्यूनतम विद्युत् महसुल गाउँपालिकाले नै व्यहोर्ने व्यवस्था निरन्तर रहने जनाइएको छ।
अध्यक्ष भण्डारीले नागरिकको आवश्यकता केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार गरिएको बताउँदै नयाँ सडक खनेर बजेट छर्ने प्रवृत्तिको अन्त्य गरी विद्यमान सडकको स्तरोन्नतिमा ध्यान केन्द्रित गरिने बताए। रम्भालाई प्रविधिसँग जोड्न सके सुशासन र समृद्धिको बलियो आधार तयार हुने उनको विश्वास छ।
प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले नीति तथा कार्यक्रमले सेवा प्रवाहलाई जनताको घरदैलोमै पुर्याउने लक्ष्य लिएको बताए। उनका अनुसार ‘जनताको घरमै पालिका’ अभियान, एकद्वार प्रणाली र डिजिटल ई–गभर्नेन्समार्फत प्रशासनिक झन्झट कम गरिनेछ। साथै, वातावरणमैत्री तथा दिगो विकासलाई प्राथमिकता दिँदै आर्थिक पारदर्शिताका लागि ‘शून्य बेरुजु’ को नीति कडाइका साथ कार्यान्वयन गरिने उनले बताए।
कृषितर्फ दूध र मासु उत्पादनमा जोड दिँदै कृषि एम्बुलेन्स सञ्चालनलाई निरन्तरता दिइने भएको छ। लिची र सुन्तला खेतीको जोन विस्तार गरिने तथा बाँझो जग्गाको उपयोगका लागि ‘भूमि बैंक’ स्थापना गर्ने योजना पनि समावेश गरिएको छ। वडा नं. १ हुँगीमा निर्माणाधीन औद्योगिक ग्राम चालु आर्थिक वर्षमै सञ्चालनमा ल्याइने जनाइएको छ।
शिक्षातर्फ ‘पढ्दै कमाउँदै, कमाउँदै पढ्दै’ कार्यक्रममार्फत शिक्षालाई श्रमसँग जोडिनेछ भने सम्भावित विद्यालयहरूमा मगर भाषाको पठनपाठन सुरु गरिने नीति लिइएको छ। स्वास्थ्य क्षेत्रमा ‘स्वस्थ गाउँपालिका, नागरिक आरोग्य अभियान’ अन्तर्गत दीर्घरोगको स्क्रिनिङ र निःशुल्क प्रयोगशाला सेवालाई थप प्रभावकारी बनाइने सूचना अधिकारी सुरज पाठकले जानकारी दिए।











