पाल्पा — तिनाउ गाउँपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार तथा शिक्षण–सिकाइलाई प्रविधिमैत्री बनाउने उद्देश्यले चालु आर्थिक वर्षमा विभिन्न विद्यालयहरूलाई आधुनिक डिजिटल उपकरण तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
गाउँपालिकाले कक्षा ८ र १० मा डिजिटल माध्यमबाट पठनपाठन सञ्चालन गर्ने लक्ष्यसहित २२ वटा स्मार्ट बोर्ड वितरण गरेको छ। त्यसैगरी, प्रारम्भिक बालविकास (ईसीडी) कक्षाका बालबालिकालाई श्रव्य–दृश्य माध्यमबाट सिकाइप्रति आकर्षित गर्न २० वटा स्मार्ट टिभी उपलब्ध गराइएको छ।
विद्यालयहरूको प्रशासनिक तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि ५ वटा डेस्कटप कम्प्युटर, ५ वटा ल्यापटप र ७ वटा प्रिन्टर वितरण गरिएको गाउँपालिकाले जनाएको छ। साथै, बालमैत्री र न्यानो सिकाइ वातावरण निर्माणका लागि कार्पेट, कुसनलगायत आवश्यक व्यवस्थापकीय सामग्रीसमेत प्रदान गरिएको छ।
गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले शिक्षा क्षेत्रको रूपान्तरणलाई स्थानीय सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले सूचना र प्रविधिको युगमा परम्परागत शिक्षण पद्धतिले मात्र विद्यार्थीलाई विश्वस्तरको प्रतिस्पर्धामा सक्षम बनाउन नसकिने उल्लेख गर्दै सामुदायिक विद्यालयको गुणस्तर सुधार र विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्न शिक्षामा लगानी बढाइएको बताउनुभयो। यसबाट विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले उपलब्ध गराइएका प्रविधि र सामग्रीको प्रभावकारी प्रयोगबाट शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार आउने बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाले शिक्षक तथा विद्यालयका कर्मचारीका लागि क्षमता विकासका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। “प्रविधि उपलब्ध गराउनु मात्र पर्याप्त हुँदैन, यसको प्रभावकारी सञ्चालन, नियमित प्रयोग र दीर्घकालीन संरक्षण पनि उत्तिकै महत्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो। गाउँपालिकाले यसको नियमित अनुगमन र आवश्यक प्रशासनिक सहजीकरण गर्ने पनि उहाँले जानकारी दिनुभयो।
शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवरले स्मार्ट बोर्ड र स्मार्ट टिभीको प्रयोगले शिक्षक तथा विद्यार्थी दुवैमा नयाँ उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षमा करिब २ करोड रुपैयाँ बजेट विनियोजन गरी प्रविधिमैत्री विद्यालय विकास, शिक्षक क्षमता अभिवृद्धि तालिम, कक्षाकोठा व्यवस्थापन तथा प्रविधि प्रयोगसम्बन्धी आधारभूत तालिम सञ्चालन गरिएको छ।
यता, दोमान माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद पौडेलले प्रविधिसँगै शिक्षकहरूको क्षमता विकासलाई पनि समान प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। समयअनुसार शिक्षालाई प्रविधिसँग जोड्ने प्रयास सकारात्मक भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि दक्ष जनशक्ति तयार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो।
गाउँपालिकाको यो पहलले सामुदायिक विद्यालयहरूलाई थप प्रविधिमैत्री, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा अभिभावक तथा सरोकारवालाले गरेका छन्।