latest
शनिबार , जेठ २३, २०८३

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको जिल्ला अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष विष्णु प्रसाद भण्डारी र वर्तमान उपाध्यक्ष सुमन गैरै बीच प्रतिस्पर्धा हुने भएपछि पार्टीभित्र चुनावी माहोल तातेको छ।

शनिबार तानसेन नगरपालिका हलमा सुरु भएको जिल्ला अधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदका आकांक्षी भण्डारी र गैरैका समर्थकहरू सामाजिक सञ्जालमार्फत सक्रिय बनेका छन्। फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा दुवै नेताको नेतृत्व क्षमता, संगठन निर्माणमा भूमिका तथा योगदानको चर्चा गर्दै कार्यकर्ताहरूले समर्थन जनाउन थालेका छन्।

वर्तमान अध्यक्ष भण्डारीका समर्थकहरूले उनको नेतृत्वमा पार्टी संगठन विस्तार, सदस्यता वृद्धि तथा जिल्लामा पार्टीको उपस्थितिलाई सुदृढ बनाएको दाबी गरेका छन्। अर्कोतर्फ उपाध्यक्ष गैरैका समर्थकहरूले युवा नेतृत्व, संगठनात्मक सक्रियता र नयाँ सोचका कारण उनलाई अध्यक्षका रूपमा अघि सार्नुपर्ने तर्क प्रस्तुत गरेका छन्।

सामाजिक सञ्जालमा समर्थन र प्रचारप्रसार बढेसँगै रास्वपा पाल्पाको आन्तरिक चुनावप्रति कार्यकर्ता तथा शुभेच्छुकहरूको चासो समेत बढेको देखिएको छ। कतिपय कार्यकर्ताले भने प्रतिस्पर्धा स्वस्थ र लोकतान्त्रिक हुनुपर्ने तथा चुनावपछि संगठनलाई अझ मजबुत बनाउने गरी सबै पक्ष एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

अध्यक्ष पदका लागि दुई प्रभावशाली नेताबीच प्रतिस्पर्धा हुने संकेत देखिएपछि रास्वपा पाल्पाको जिल्ला अधिवेशन थप रोचक बन्ने अनुमान गरिएको छ। दुवै पक्षबाट औपचारिक उम्मेदवारी दर्ता गरिएको बताईएको छ ।

पार्टीभित्र नेतृत्व चयनको बहस तीव्र बन्दै जाँदा पाल्पामा रास्वपाको आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने विषय अहिले राजनीतिक वृत्तमा चर्चा र चासोको केन्द्र बनेको छ। #seroferonews

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय