पाल्पा, बैशाख १५ — पाल्पाको तानसेनमा बैशाख १५ देखि २६ गतेसम्म चौथो न्यू युथ युनियन कप फुटबल प्रतियोगिता २०८३ सञ्चालन हुने भएको छ। स्थानीय स्तरमा खेलकुद विकास र युवा प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश खेलकुद विकास समितिका उपाध्यक्ष राजु महर्जनले तानसेनको विकास पर्यटनमार्फत सम्भव रहेको बताउँदै यस्ता प्रतियोगिताले खेल पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने बताउनुभयो। विशिष्ट अतिथि तथा क्लबका निवर्तमान अध्यक्ष मनोज लिगलले खेलकुदमार्फत तानसेनको पहिचान सुदृढ हुँदै गएको उल्लेख गर्नुभयो।



पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समिर मान सिंहले प्रतियोगिताले स्थानीय व्यापार तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीरजंग राणा, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिलसिना लगायतले पनि मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम क्लबका अध्यक्ष तामबहादुर कुमालको अध्यक्षतामा सम्पन्न भएको हो। आयोजकका अनुसार प्रतियोगिताले खेलकुद, पर्यटन र स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।







