फागुन २१ मा हुने पाल्पा क्षेत्र नम्बर दुइमा नेपाली कांग्रेसबाट उमेदवार बनेका छन्, कांग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठ । तीन दशक भन्दा लामो राजनीतिक अनुभव, विद्यार्थी राजनीतिदेखि जिल्ला नेतृत्वसम्मको निरन्तर सक्रिय श्रेष्ठकाे उमेदवारी जेनजी काे भावनालाइ व्यवहारमा उतार्न भएकाे बताएका छन् । उनले अाफ्नाे उमेदवारी संगठनात्मक निर्णय र देशकाे विशम परिस्थितिकाे उपज भएकाे बताउँदै जिम्मेवारपूर्ण भएर अगाडी बढ्न जेनजीले उद्गार गरेकाे विषयवस्तु अनुसार अाफ्नाे उमेदवारी रहेकाे बताएका छन् ।
काे हुन् हिमालदत्त श्रेष्ठ



प्रारम्भिक जीवन र राजनीतिमा प्रवेश
हिमाल दत्त श्रेष्ठको राजनीतिमा प्रवेश कुनै पद, प्रतिष्ठा वा सुविधाको खोजीबाट भएको थिएन । पारिवारिक संस्कार, लोकतन्त्रप्रतिको आस्था र कांग्रेसको विचारधाराले उनलाई सानै उमेरदेखि राजनीतितर्फ आकर्षित गर्यो । १३ वर्षको उमेरमै उनले नेविसंघमार्फत राजनीतिक यात्रा सुरु गरे । वि.सं. २०५१ मा सेन माध्यमिक विद्यालय, पाल्पामा नेविसंघ इकाई सभापतिको जिम्मेवारी सम्हाल्दै उनी विद्यार्थी राजनीतिमा स्थापित भए । त्यसपछि त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा नेविसंघ इकाई सदस्य, स्ववियु सदस्य, उपसभापति हुँदै सभापतिसम्मको जिम्मेवारी निर्वाह गर्दै उनले संगठन निर्माण र नेतृत्व क्षमताको बलियो आधार तयार पारे ।

आन्दोलन र गिरफ्तारी
हिमाल दत्त श्रेष्ठको राजनीतिक यात्रा आन्दोलन र बलिदानबाट खारिएको छ । वि.सं. २०५९ को प्रतिगमन विरोधी आन्दोलन र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा उनी अग्रपङ्क्तिमा रहे । आन्दोलनकै क्रममा काठमाडौंमा गिरफ्तार भई १७ दिनसम्म हिरासतमा बस्नुपर्यो । यही समय त्रिभुवन विश्वविद्यालयमा भएको आक्रमणमा परी उनी गम्भीर घाइते भए, जसका घाउ र टाँकाहरू आज पनि उनका संघर्षका प्रत्यक्ष साक्षी हुन् । आन्दोलनकै बीच उनका बुवाको देहावसान भयो । जेल र सडक संघर्षमा रहेका कारण उनी आफ्नै बुवाको अन्तिम दर्शन र दाहसंस्कारमा सहभागी हुन सकेनन् । यो पीडा कुनै पनि छोराका लागि असह्य हुन्छ । तर, “व्यक्तिभन्दा पार्टी ठूलो र पार्टीभन्दा देश ठूलो” भन्ने आदर्शलाई आत्मसात् गर्दै उनले व्यक्तिगत शोकलाई राजनीतिक संकल्पमा रूपान्तरण गरे ।

संगठन निर्माण र विद्यार्थी राजनीतिमा योगदान
माओवादी जनयुद्धको कठिन कालखण्डमा, जब गाउँ–गाउँमा राजनीतिक गतिविधि गर्नु जोखिमपूर्ण थियो, उनले पाल्पाका अधिकांश विद्यालय र क्याम्पसमा नेविसंघको संगठन विस्तार गरे । यसले उनलाई साहसी, धैर्यवान् र परिणाममुखी संगठकका रूपमा स्थापित गर्यो । उनी सेन माविको नेविसंघ सभापति हुँदै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको इकाईमा सभापति हुँदै स्ववियु सभापति सम्म भए । नेविसंघको जिल्ला राजनीति मा पनि उनी पाल्पाको सभापति हुंदै वि.सं. २०६२ मा नेविसंघ मनोनित केन्द्रीय सदस्य, वि.सं. २०६४ मा चितवन महाधिवेशनबाट पश्चिमाञ्चल क्षेत्रकै सर्वाधिक मतसहित नेविसंघ केन्द्रीय सदस्यमा निर्वाचित र वि.सं. २०७३ मा नेविसंघ केन्द्रीय महामन्त्री पदका उम्मेदवार बनेर उनले विद्यार्थी राजनीतिमा राष्ट्रिय पहिचान बनाए ।
पार्टी राजनीतिमा हिमाल
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेपछि पनि श्रेष्ठ संगठन निर्माण र विस्तारमै निरन्तर केन्द्रित रहे। राजनीतिक चेतना, अनुशासन र संगठनप्रतिको प्रतिबद्धताका कारण उनले छोटो समयमै पार्टीभित्र विश्वासिलो नेतृत्वको पहिचान बनाउन सके। वि.सं. २०६४ मा जिल्ला सदस्यमा प्रथम स्थानमा निर्वाचित हुँदै उनले संगठनात्मक यात्रालाई औपचारिक रूप दिए।
पछि वि.सं. २०७२ मा सम्पन्न नेपाली कांग्रेसको १३औँ महाधिवेशनबाट उनी महासमिति सदस्यमा निर्वाचित भए। त्यसैगरी, वि.सं. २०७८ मा नेपाली कांग्रेस पाल्पा जिल्ला सभापतिमा निर्वाचित भई जिल्लामा पार्टी संगठनलाई थप सुदृढ र गतिशील बनाउने कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।
सामाजिक र सादगी नेता हिमाल
हिमाल साच्चिकै हिमाल जस्तै छन् । उनी प्राय चिया खान पनि छाप्रा र क्यान्टिनमा छिर्छन् । सिंगो तानसेनमा उनी पैदल हिड्छन । अरुको प्रतिक्रिया अत्यन्तै तुरुन्त दिन्छन् । उनी धेरैका नेता होलान्, धेरैका दाइ होलान् तर उनी प्रायका लागि साथी जस्तै सहज छन् । उनिलाई भेट्न, उनिसँग कुरा गर्न, उनिलाई सुझाव दिन असहज छैन । उनले ताली मात्र होइन गालीको पनि उचित कदर गर्छन् ।








