काठमाण्डाैं, भदाै ३१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिको निष्कर्ष रहेको छ। गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको हाे ।
कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट पुष्टि भएको छ । बैंकमा संयुक्त खाता सञ्चालन गरेका जीबी, रवि र छविले सहकारीबाट गोर्खा मिडियामा आएको रकम चेक काटेर खर्च गरेका थिए । ‘तीनमध्ये दुई जनाको हस्ताक्षर चल्ने गरी खाता सञ्चालन भएको देखिन्छ । रवि लामिछानेले हस्ताक्षर गरेका चेक पनि साटिएका छन् । कम्पनीको तलब खुवाउन लामिछानेले हस्ताक्षर गरेर साटिएको रकम पनि सहकारीबाटै आएको हो,’ समितिका एक सदस्यले भने ।
समितिलाई असोज ६ गतेसम्म समय रहे पनि प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ४ मा त्यता जाने कार्यक्रम रहेकाले आइतबारको मन्त्रिपरिषद्को बैठकले सोमबार मध्यरातिबाटै संसद् अन्त्य गर्ने निर्णय गरेको थियो । संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयले दबाबमा परेको समितिले यसै अधिवेशनमा प्रतिवेदन बुझाउने लक्ष्यसहित रातभर बैठक बसेको हो ।
समितिले लिएको बयानका क्रममा पनि लामिछानेले गोर्खा मिडिया नेटवर्कमा आएको पैसाका बारेमा आफूलाई थाहा नभएको बताएका थिए । साथै, उनले सहकारीको पैसा गोर्खा मिडिया नेटवर्कमा आएको विषय आफूले दोस्रो पटक सांसद निर्वाचित भएपछि मात्रै थाहा भएको बताएका थिए । यद्यपि, सूचना, समाचार र विश्लेषणको क्षेत्रमा विश्वकै एक नम्बर टीभी बनाउने भनेर लामिछाने प्रबन्ध निर्देशक बनेका थिए ।
‘विश्वकै एक नम्बर टेलिभिजन सञ्चालन गरौं भन्ने प्रस्ताव लिएर जीबीजी आउनुभयो । आकर्षक तलब, सुविधा र सेयर दिने कुरा भयो । त्यसपछि मासिक ५ लाख रुपैयाँ तलब दिने गरी अग्रिम एडभान्स ७५ लाख रुपैयाँ लिएँ । त्यही रकम राखेर व्यावसायिक समझदारीमा प्रवेश गरेको हो,’ रविले बयानकै क्रममा खुलाएका छन् ।
बयानका क्रममा गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीले पैसा आवश्यक परेपछि रवि र जीबी मिलेरै आफ्नो घर बैंकमा राखिदिन खोजेपछि असमझदारी बढेको बयान दिएका छन् । छविले घर आफ्नो नाममा नभएर श्रीमतीका नाममा भएकाले सम्भव नभएको बताएका छन् । त्यसपछि जीबी र रवि मिलेरै आफूलाई गोर्खा मिडिया नेटवर्कबाट बाहिर निकाल्ने काम भएको छविले बयानमा उल्लेख गरेका छन् ।
आज संसद्मा बुझाइने प्रतिवेदनका मुख्य अंश
- ग्लोबल आईएमई र तत्कालीन सिभिल बैंकमा केवाईसी फर्म भरेर गितेन्द्रबाबु (जीबी) राई, रवि लामिछाने र छविलाल जोशीले सञ्चालन गरेका थिए संयुक्त खाता
- गोर्खा मिडियाको खातामा रवि लामिछानेले हस्ताक्षर गरेका चेक पनि साटिएका छन्, कम्पनीको तलब खुवाउन लामिछानेले हस्ताक्षर गरेर साटिएको रकम पनि सहकारीबाटै आएको हो
- कम्पनीको लगानी, ऋण र सम्पत्ति सहितको लेखापरीक्षण प्रतिवेदनमा पनि अध्यक्षको ठाउँमा जीबी राई र प्रबन्ध निर्देशकका रूपमा लामिछानेको हस्ताक्षर
- लामिछानेले कम्पनी रजिस्ट्रार कार्यालयमा हस्ताक्षर र औंठा छापसहित बुझाएको कागजमा समेत आफूले १५ प्रतिशत सेयरका लागि कम्पनीमा रकम बुझाएको बैंक स्टेटमेन्ट समावेश, रकम भने सुप्रिम सहकारीको
- संसदीय छानबिन समिति गठन हुँदा मितेरी सहकारीको विषय नउठेकाले कार्यादेश (टीओआर) र अनुसूचीमा यो सहकारीको नाम नभए पनि कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गर्न लेखी पठाउने #कान्तिपुरबाट