पाल्पा, हरितालिका तीजकाे अवसरमा रामपुर नगरपालिकामा खुला मौलिक तिजगीत प्रतियोगिता सम्पन्न भएको छ । तीजका्र मौलिकपन जोगाउन तथा सचेतना जगाउन उप–प्रमुख तीज विशेष कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकाको आयोजनामा प्रतियोगिता भएको हो ।
रामपुर नगरपालिकाको प्राङ्गणमा भएको प्रतियोगितामा विभिन्न संघ संस्था तथा समुह बाट २८ समूहले सहभागीता जनाएको थियो । प्रतियोगितामा क्षेत्री समाज रामपुर पाल्पाको राधिका क्षेत्रीको समुह प्रथम, रामपुर ईङ्गलिश बोर्डिङ्ग स्कुल रामपुर ५ पाल्पाको सन्ध्या भण्डारीको समुह द्वितिय, बैडी माध्यमिक विद्यालय चापाकोट ९ स्याङ्जाको आरती बस्यालको समुह तृतीय, विना घिमिरेको समुहर रामपुर ६ र राधा आमा समुह चापाकोट नगरपालिका–६ केलादीको मनिषा पोख्रेलको समुह सान्त्वना भएको निर्णायक मण्डलका संयोजक राम प्रसाद ढकाल (रमेश)ले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुन सफल समुहलाई क्रमश नगद २५ हजार, १५ हजार, १० हजार र ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागीहरुले गीत मार्फत नगरको वर्तमान अवस्था, सम्भावना तथा विकासका कार्यलाई गति दिन चाल्नु पर्ने कदम, नागरिकको भुमिका सहित महिला अधिकार, नारीको वेदना, महिला हिंसा, वैदेशिक रोजगारले समाजमा देखिएका समस्या लगाएतका विषयवस्तु प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष एवं हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले उट्घाटन गर्नु भएको थियो । आपसी सद्भावलाई जोड्न संस्कृतिको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । ‘हामीले मनका सद्भावहरु जोड्न सकेनौ भने हाम्रो विकास अधुरो हुन्छ । हाम्रा सम्बन्धलाई जोड्न र प्रगाढ बनाउन पनि हाम्रा कला संस्कृतिको जगेर्ना गर्नु पर्छ ।’ उहाँले भन्नुभयो । प्रतियोगिताले हाम्रा हजुर आमाले सुरु गरेको भाका जगेर्ना गर्न संस्कृतिलाई थप उचाईमा लैजान सहयोग गरेको बताउनुभयो । महिलाहरुको योगदानको मापन अझै हुन नसकेको भन्दै उहाँले अधिकारको सदुपयोग गर्दै अघि बढ्न महिलाहरुलाई आग्रह गर्नुभयो । मुलुकको ७ सय ५३ स्थानीय तह मध्ये २५ स्थानीय तह महिलाको नेतृत्वमा रहेको भन्दै यसरी नै महिलाहरुलाई हरेक क्षेत्रमा अघि बढाउन सबैको भुमिका रहने बताउनुभयो ।
पाण्डेले राजनीतिले साँच्चीकै परिवर्तन गर्न सक्छ भन्ने कुरा संविधानले पुष्टी गर्न खोजेको र त्यो पुष्टी गर्ने स्थानमा स्थानीय सरकार भएको बताउनुभयो । जनताको सुझाव र प्रतिक्रियाले जनप्रतिनिधि र स्थानीय सरकारलाई जागरुक बनाउन सहयोग गर्ने उल्लेख गर्नुभयो ।
निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले तीजको मौलिक पनको संरक्षण गर्दै भड्कीलो रुपमा नभै सभ्य रुपमा मनाउन आग्रह गर्नुभयो । कार्यक्रमले संस्कृतिको जगेर्ना संगै विकासका योजना सञ्चालनका लागि आवश्यक सुझाव संकलनमा पनि सहयोग गरेको बताउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले तीजको मौलिकपनलाई जीवन्त राख्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । तीजको मौलिक भाका संरक्षण संगै पर्वको नाममा भित्रिएका विकृतिलाई हटाउन सचेतनाका लागि कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रमको अवसरमा रामपुर नगरपालिकाले लक्ष्मी तिवारी (तिवारी) आमालाई नगद सहित सम्मान गरेको छ । मौलिक तिजको भाकाको संरक्षण संगै गित संगितको माध्यम बाट रामपुरलाई चिनाउन महत्वपूर्ण योगदान दिएको भन्दै नगद १५ हजार सहित दोसला ओढाई सम्मान पत्रले तिवारी आमालाई सम्मान गरेको हो । गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले उहाँलाई सम्मान गर्नु भएको थियो ।
उपप्रमुख थापाको अध्यक्षतमा भएको कार्यक्रम रामपुर नगरकार्यपालिका सदस्य दुर्गा देवी भण्डारी गौतमको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिका न्यायिक समितिका सचिव पार्वती परियारले गर्नु भएको हो ।