पुष्कर अथक रेग्मी

हिन्दू दर्शन संसारकै जेठो दर्शन ह‍‍ो। यसको उत्पतिस्थल प्राचीन भारतबर्षनै हो । भारतबर्ष भन्नाले हालको भारत, नेपाल,पाकिस्तान र बंगलादेश भनी बुझ्नु पर्दछ ।हिन्दू दर्शन सनातन , आर्य , धार्मिक ,आध्यात्मिक र बैज्ञानिक दर्शन समेत हो । हिन्दू दर्शनको बिकास “श्रुति” र “स्मृति ” बाट भएको हो । हिन्दूहरूको आदिम ग्रन्थ वेद हो । वेदमा आधारित भइ साङ्ख्य ,योग,न्याय,वैशेषिक,मीमांश वेदान्त दर्शनको विकास भएको छ । यिनै षटदर्शनको सारनै हिन्दू दर्शनको सार हो ।संक्षेपमा भन्नुपर्दा ईश्वरीय तथा भौतिक जगतलाई प्राथमिकता दिई ” सत्यम् शिवम् सुन्दरम्” लाई आत्मसात गर्दै जीवनलाई सही र सरल मार्गमा अगाडि बढाउदै लैजानुनै हिन्दू दर्शनको सार हो ।

चार्बाक दर्शन पूर्वेली भौतिकवादी दर्शन हो । यसलाई लोकायत दर्शन पनि भनिन्छ । यसले संसार सत्य छ र यो जल वायु आकाश पृथ्वी गरि पाँच तत्वले बनेको छ भन्दछ ।यस दर्शनले परलोक वेद ईश्वर आदिलाई मान्दैन ।शरिरनै आत्मा हो र शरीर नष्ट भएपछि चेतनापनि संवत्: नष्ट हुन्छ भनिएको छ ।” ऋणम् कृत्वा घृतम् पिवेत ” भनी सन्देश दिने यस दर्शनको सर्वोच्च सन्देश सार भन्नुनै ” जबसम्म बाँचिन्छ , सुखसंग बाँच ” रहेको छ।

नेपाली भाषामा दर्शन शब्दको शाव्दिक अर्थ – हेर्नु , देख्नु वा जीवन र जगत सम्बन्धि कुराको चिन्तन गर्नु हुन्छ । ज्ञानको स्रोत ,विवेकको प्रयोग , मूल्य प्रणालीको आधार,समालोचनात्मक चिन्तन र तर्कको विधाको रूपमा दर्शनलाई व्यापक अर्थमा प्रष्ट्याउन सकिन्छ । महादेशीय दृष्टिले एशियामा विकास भएका दर्शनलाई पूर्वेली दर्शन र यूरोप तथा पश्चिमी मुलुकहरूबाट बिकसित दर्शनलाई पाश्चात्य दर्शन भनिन्छ । नेपालको लुम्बिनीमा जन्मेका गौतम बुद्धद्वारा प्रतिपादित बौद्ध दर्शनलाई पनि पूर्वीय दर्शनको मान्यता दिइएको छ । उल्लेखित हिन्दू दर्शन र चार्बाक दर्शनको बिचबाट अगाडि बढ्न खोजेको दर्शनलाई बौद्ध दर्शन भनिएको छ । बौद्ध दर्शनको उत्पत्ति महात्मा गौतम बुद्धको उपदेशबाट भएको हो ।

बौद्ध दर्शनका प्रवर्तक सिद्धार्थ गौतम हुन् । यिनको जन्म लुम्बिनी , ज्ञानप्राप्ति बुद्धगया , धर्मचक्र प्रर्वर्तन सारनाथ र महापरिनिर्वाण कुशीनगरमा भएको थियोे । यी चार संवेजनीय स्थलहरूलाई बौद्ध चारधामको रूपमा मानिदै आएको छ ।

” बुद्ध ” भनेको व्यक्तिको नाम होइन , जसले बोध गर्ने काम गर्छ , उसलाई बुद्ध भनिन्छ । चतुरार्य सत्य भगवान बुद्धको मूल उपदेश हो । चतु भनेको चार,आर्य भनेको उत्तम , पवित्र र सत्य अर्थात जहिले पनि सही भइरहने हो । चतुरार्य सत्य भगवान बुद्धको मौलिक उपदेश हो , जो निम्नानुसार रहेका छन् :

(क) दु:ख आर्यसत्य : पहिलो आर्यसत्य दुख हो । जन्मिनु, रोगी हुनु, इच्छा प्राप्ति नहुनु , बृद्ध हुनु र मर्नु अर्थात संक्षेपमा पाँच स्कन्धधारी शरीरनै दु:ख हो ।

(ख) दु:ख समुदय आर्यसत्य : तृष्णानै दुखको मूल कारण हो । काम तृष्णा , भव तृष्णा ( फेरि फेरि जन्म लिने इच्छा ) र विभवतृष्णा ( पुनर्जन्ममा बिश्वास नगर्ने इच्छा हुनु) नै दु:खको मुख्य तीन कारणहरू हुन् ।

(ग) दु:खनिरोध आर्यसत्य : तृष्णाको निरोधनै निर्वाण हो । निर्वाण भन्नुनै राग,द्वेष र मोहको निरोध हो । यो दु:खबाट अलग रहेको शान्तिको अबस्था हो , अमृतवस्था हो ।

(घ) दु:खनिरोधगामिनी प्रतिपदा आर्यसत्य : यसलाई दुख निवारणका आर्य अष्टाङ्गिक मार्ग भनिएको छ । समग्रमा चतुरार्य सत्यलाई यसरी बुझ्न सकिन्छ : – जीवनमा समस्या आउँछ , समस्या उत्पन्न हुनुको कुनै न कुनै कारण अबश्य हुन्छ, समस्या समाधान हुन्छ र समाधानको उचित मार्ग अपनाउनु पर्दछ । बौद्ध दर्शन बुझ्नको लागि आर्य अष्टाङ्गिक मार्ग मनन गर्नुपर्दछ । आर्य अष्टाङ्गिक मार्ग भनेको दुु:खबाट मुक्त हुनका लागि ,सुख शान्ति र समृद्धि प्राप्त गर्नाका लागि भगवान बुद्धले देखाएको मार्ग हुन् । जसलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।

१.सम्यक वचन ( ठीक बोली)

२. सम्यक कर्मान्त ( ठीक कर्म )

३.सम्यक आजिविका ( ठीक जिविका)

४.सम्यक व्यायाम ( ठीक प्रयत्न )

५.सम्यक स्मृति ( ठीक स्मृति )

६.सम्यक समाधि ( ठीक एकाग्रता )

७.सम्यक दृष्टि ( ठीक धारणा )

८.सम्यक संकल्प ( ठीक विचार )

उल्लेखीत ठीक बोली,ठीक कर्म र ठीक जिविकोपार्जनलाई शील, ठीक प्रयत्न ठीक स्मृति र ठीक एकाग्रतालाई समाधि र ठीक धारणा तथा ठीक विचारलाई प्रज्ञा भनिएको छ । यी मार्गहरूलाई शील समाधि र प्रज्ञा गरी तीन भागमा विभाजन गरिएको छ ।सबै प्राणीहरूमा सांसारिक दु:ख माया र मोह छ । दुखको कारण मृत्युु , मृत्युको कारण जन्म , जन्मको कारण तृष्णा र तृष्णाको कारण अज्ञान हो ।दु:ख निवारणका लागि उल्लेखित आठ कर्महरू गर्नु पर्दछ भनी भगवान बुद्धले बौद्ध दर्शनमा भनेका छन् । यी आठवटै मार्गको साधना गर्नाले अज्ञान नाश हुन्छ र पूर्ण शान्ति प्राप्ति हुन्छ ।पूर्ण शान्तिको अवस्थालाई निर्वाण भनिन्छ ।

बौद्ध दर्शन अनुसार बुद्ध धर्म र संघको शरणमा गई आफ्ना आफ्ना शील नियमहरूको पालना गरी धर्मको अनुशरण गर्ने व्यक्तिहरूलाई चतुपरिषद भनिन्छ । भिक्षु, भिक्षुणी , उपासक र उपासिका गरि चार प्रकारका व्यक्तिहरूको सामुहिक भेला , बैठक तथा सभालाई चतुपरिषद भनिन्छ ।यही चतुरपरिषदका व्यक्तिहरू मिलेर शील , समाधि र प्रज्ञा शिक्षाको व्यापक अनुसरण गर्न गराउन सकेको अवस्थामा मात्र बुद्ध धर्म र बौद्ध दर्शन कालान्तरसम्म समृद्धिकासाथ चिरस्थायी रहिरहनेछ ।

साधु साधु साधु ! ( लेखक पाल्पा साहित्य समाजका अध्यक्ष र पाल्पाका स्थापित साहित्यकार हुन्।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय