पाल्पा, असार ३

पाल्पामा जनसंख्यामा १६ हजार १५३ ले कमी भएकाे तथ्यांक सार्वजनिक गरिएकाे छ । राष्ट्रिय जनगणना २०६८ अनुसार २ लाख ६१ हजार १८० जनसंख्या रहेकाे पाल्पामा राष्ट्रिय जनगणना २०७८ अनुसार जनसंख्या २ लाख ४५ हजार २७ रहेको तथ्यांक कार्यालय पाल्पाका निमित्त प्रमुख लेखनाथ पाण्डेले बताउनुभयो ।

पाल्पा जिल्लामा महिलाको जनसंख्या बढी रहेको छ । १ लाख ३२ हजार २६६ महिला र १ लाख १२ हजार ७७६ पुरुषको संख्या रहेको पाण्डेले बताउनुभयो । १० वर्षको अन्तरालमा महिलाको संख्या बढी घटेको छ । राष्ट्रिय जनगणना २०६८ र २०७८मा तुलना गर्दा १३ हजार ७४ महिलाको संख्या घटेको उहाँले बताउनुभयो । ३ हजार ६४ पुरुषको संख्या घटेको छ। जनसंख्या वृद्धिदर –०.६१ प्रतिशत रहेको छ ।

परिवार संख्या भने बढेको छ। राष्ट्रिय जनगणना २०७८ मा ६५ हजार ४९ परिवार संख्या रहेको छ । २०६८ मा ५९ हजार २९१ परिवार संख्या रहेको थियो । ५ हजार ७५८ घर परिवार संख्या वृद्धि भएको पाण्डेले बताउनुभयो । यहाँ जनघनत्व १७८ रहेको छ । ८३.६७ प्रतिशत साक्षरता दर रहेको छ ।

अक्सर विदेशमा बस्ने जनसंख्या ३० हजार ६९८ रहेको छ । २७ हजार ७८६ पुरुष र २ हजार ९१२ महिला विदेशमा बस्ने गरेका छन् । राष्ट्रिय जनगणना २०६८ को भन्दा अहिलेको जनगणनाअनुसार अक्सर विदेशमा बस्नेको जनसंख्या कम देखिन्छ । २०६८ मा ३९ हजार ५०४ जनसंख्या अक्सर विदेशमा बस्ने तथ्यांकमा उल्लेख थियो । यसरी हेर्दा ८ हजार ८०६ जनसंख्या घटेको निमित्त प्रमुख पाण्डेले बताउनुभयो । अपांगता भएको जनसंख्या ७ हजार ७१९ रहेको छ।

जिल्लामा २ नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् । स्थानीय तहअनुसारको तुलना गर्दा सबैभन्दा बढी जनसंख्या तानसेन नगरपालिकाको रहेको छ । पाण्डेकाअनुसार ५० हजार ७९२ जनसंख्या तानसेनमा रहेको छ । सबैभन्दा कम रिब्दीकोट गाउँपालिकामा १५ हजार ४७३ जनसंख्या रहेको छ ।

रामपुर नगरपालिकामा ४० हजार ८८३, रैनादेवी छहरा गाउँपालिकामा २३ हजार १४९, बगनासकाली गाउँपालिकामा १८ हजार ५९७, माथागढी गाउँपालिका २४ हजार ४३, निस्दी गाउँपालिका १८ हजार १२०, पूर्वखोला गाउँपालिका १६ हजार ५२, रम्भा गाउँपालिका १७ हजार १५५, तिनाउ गाउँपालिकामा १७ हजार ७७७ जनसंख्या रहेको तथ्यांकमा उल्लेख रहेको पाण्डेले बताउनुभयो । संस्थागत ३ हजार ७६ जनसंख्या रहेको छ । बसाइँसराइँ, कम सन्तान जन्माउने सोंचका कारण जनसंख्या घट्दै गएको बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय