latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३
हुम सुनारी मगर
शाहासी, इमान्दार र बहादुरको उपाधि पाएका छौँ, हामी नेपालीहरूले। प्रथम र दोश्रो विश्वयुद्धमा इमान्दार र बहादुरी कै कारण कैयौँ नेपाली पुर्खाहरूले बीरगति प्राप्त गरेको इतिहास ताजै छ। अथवा, निडर, शाहासी र इमान्दारको पहिचान बनेको छ, नेपालीहरूको, विश्वमै। मोदी गाउँपलिका–४ खुइजेरी, पर्वतका सन्तबहादुर पुन पनि २०५४ सालमा साउदी अरेवीयाको एक रोजगारदाताको सिपाही बन्न पुगेका थिए । उनको इमान्दारिता कै कारण उनि साउदी अरेवीया गएको २६ बर्ष पछि गत बिहिबार, जेठ १८ गते उनलाई मृत्युदण्ड दिइएको छ।

म साउदी अरेवीया छँदा (सन् २०१७ तिर) सन्त दाइसँग टेलिफोनमा कुराकानी हुने गर्दथ्यो। त्यहाँ रहँदा मैले दुखि पीडितहरूलाई उद्धार गरेर स्वदेश पठाउने गरेको जानकारी सन्त दाईले थाहा पाउनु भएको रहेछ।  र, मलाई सम्पर्क गर्नु भयो।

एक दिन अज्ञात नम्बरबाट कल आयो। “म गुरियत जेलबाट सन्तबहादुर पुन बोल्दैछु, सर। तपाइले दुख पाएका पीडित नेपालीहरूलाई उद्धार गर्नुहुन्छ भन्ने सुने। मलाई पनि सहयोग गर्नुहुन्छ कि भनेर कल गरेको” भन्दै अति नै भाबुक हुँदै बोल्नु भयो। उनको बारेमा मैले सन् २०१२ तिर नै सुनेको थिएँ। त्यसैले उनको बारेमा धेरै कुराहरू सोध्न आवश्यक ठानिनँ। तपाईको बारेमा मलाई सबै थाहा छ। म तपाईको बारेमा नेपाली राजदूताबासमा थप बुझेर खबर गर्छु, भनेँ।

नेपाली राजदूताबासका तत्कालिन का.वा. राजदूत आनन्दप्रसाद शर्मालाई तुरून्तै सम्पर्क गरेर सन्तबहादुर पुनको बारेमा बुझेँ। उनको बारेमा सबै जानकारी भयो। नेपाली राजदूताबासको निरन्तर पहलकदमीका बाबजुत उनको रिहाई सफल हुन नसकेको जानकारी भयो।

मैले सन्तबहादुरलाई कल गरेर दूताबासले दिएको सबै जानकारी सुनाएँ। अब, म पनि तपाईको उद्धारको लागि सक्ने सहयोग गर्छु – चिन्ता नगर्नु होला भनेर ढाढस  दिएँ। त्यसपछि सन्तबहादुरसँग १-२ दिन बिराएर फोनमा कुराकानी हुने गर्दथ्यो। उनले मलाई आत्मीय सम्झिनु भयो। “तपाई म भन्दा पक्कै कान्छो हुनुहुन्छ। म तपाइलाई भाई सम्बोधन गर्छु है” भन्नु भयो र हामी दाजुभाई जस्तै भएर कुराकानी गर्थ्यौँ।

सन्त दाईको घटनाको बारेमा आंशिक जानकारी थियो, मलाई। तर, सन्त दाई कै मुखबाट घटनाको सबै विवरण सुन्न चाहेँ। उनले घटनाको विवरण यसरी सुनाए।

सन्त दाईले साउदी अरेबियाको दक्षिण भेगस्थित गुरियतको नासफाह गाउँमा झन्डै २ सय भेडा चराउने नोकरी गर्ने रहेछ। जुन गाउँ राजधानी रियादबाट १२ सय किलोमिटर टाढा पर्छ । साउदी गएको चार वर्षपछि एक दिन साहुका दुई सय भेडा चराउन मजराकै एक मरुभूमितर्फ लागे, सन्त दाई । जहाँ एक साउदी नागरिक अल सरारी भेडा माग्न बारम्बार गोठमा आउन थाल्यो । सन्त दाईले पहिलो दिन भेडा दिएनन्, दोस्रो दिन जबर्जस्ती लैजान खोजेपछि बिरामी भेडा दिएर पन्छाए, अल सरारीलाई । यद्यपि, उक्त व्यक्तिको भेडा माग्ने क्रम रोकिएन ।

सन्त दाईले सम्झाउन खोजे ति साउदी नागरिक अल सरारीलाई। तर, उल्टै हप्कीदप्की गरेर जाइलाग्यो । ‘ऊ मलाई मार्न अगाडि सरेजस्तो गर्‍यो । साथमा भएको चक्कु आवेशमा चलाएछ, सन्त दाईले । उसको पेटमा रोपियो। सन्त दाईले घटना सम्झिँदै मलाई बताई रहेका थिए। ‘ऊ ठाउँको ठाउँ ठहरै भयो । मलाई पनि फाँसी हुन्छ भनेर लगत्तै आफूलाई पनि चक्कु हानेछ । प्रहरीले उनलाई घाइते अवस्थामा अस्पताल पुर्‍यायो ।’ सन्त दाईले आफू दोषी रहेको कबुल गरेपछि प्रहरीलाई थप अनुसन्धान गर्न समय लागेनछ । उनलाई दुई वर्षसम्म कसैसँग बोल्न र भेट्न नदिई नजरबन्दमा राखियो । ‘एउटा भेडाका लागि मैले साउदी नागरिकको ज्यान लिएँ । सायद त्यो मेरो मूर्ख इमानदारी रहेछ । भेडा दिएको भए के जान्थ्यो र ? सन्त दाईले घटनाको प्रायश्चित गर्दै सुनाएका थिए, ‘हामी नेपाली आफू सिद्धिएर अर्कोका लागि ज्यान दिने जात रहेछौं ।’हो, सन्त दाईले उनको मालिकका लागि आफै सिद्धिए – साउदी नागरिक अल सरारीको ज्यान लिए। त्यो उनलाई उनको मालिकले दिएको जिम्मेवारी इमान्दारी पुर्बक निभाएका थिए।

मृतक अल सरारीका तीन छोराहरू रहेछन् । घटनाताका कान्छा छोरा ५ वर्षका मात्र थिए । नाबालक ती छोरा १८ वर्ष पुगेपछि मात्रै मृत्युदण्डको कार्यान्वयन विषयमा अर्को निर्णय गर्ने फैसला अदालतले सुनायो । मृत्युदण्ड दिन सबै परिवारको सहमति चाहिने भएपछि सन्त दाई त्यतिन्जेल कुरैयात जेलमै बस्नुपर्ने भयो । मृतकका माइलो छोरा जो फाहद इस्लामिक स्कुल (मदरसा) का शिक्षक (मुतवे) पनि रहेछ। उनले सन्त दाईलाई जेलमै भेटेर माफी दिने वचन दिएपछि उनमा जीवनदान पाउने आशा पलाएको थियो ।जेठो छोरा पनि माफी दिन सहमत नै थिए । तर, कान्छो छोरा र मृतकका भाइहरू भने खुनका बदला खुन नै हुनुपर्ने भन्दै माफीको विपक्षमा उभिएका रहेछन्।

सन् २०१८ नोभेम्बरमा म साउदी छाडेर नेपाल आएँ। म नेपाल आउनु भन्दा अगाडी सन्त दाईलाई सम्पर्क गरेर म नेपाल गएपछि नेपाल सरकारको उच्च तहमा तपाईको रिहाइको लागि पहल गर्छु भनेँ। म नेपाल आएपछि केहि नेताहरूलाई भेटेर सन्तबहादुर पुनको रिहाइको लागि गम्भीर रूपले पहल गरिदिन अनुरोध गरेको थिएँ। पछि त्यो कुरा राष्ट्रपति कार्यालयसम्म पुगेछ। पूर्वराष्ट्रपति विद्या भण्डारीले सन्तबहादुरलाई आम माफी दिन साउदीका राजालाई पत्राचारसम्म भएछ। तर, त्यसको पनि कुनै सुनुवाई भएन।

सन्त दाईको रिहाईको लागि मृतकको समुदायका स्थानीय नेतामार्फत, केन्द्रीयस्तरमा रहेको आममाफी कमिटीका अलकासिम क्षेत्रका गभर्नर, अलजोफ क्षेत्रका गभर्नर र मुख्य न्यायाधीशले पनि उनलाई माफी दिलाउन प्रयासरत गरेछन् । तर, ति सबै प्रयास र पहलहरू असफल साबित भयो।

अन्तत: गत बिहिबार, सन् २०२३ जुन १ गते सन्त दाईलाई मृत्युदण्ड कार्यान्यन गरेछ। उनको त्यो घटना इकान्तिपुरले आज शनिबार प्रकाशित गरेको देखियो। घटनाको समाचार पढेपछि म स्तब्ध भएँ। म साउदी अरेवीया छँदा सन्तदाई जस्तै केहि आजीवन जेलजीवन बिताएका केहि नेपालीहरूलाई ब्लडमनि दिएर रिहाई गर्न सफल भएको थिएँ। यसकारण सन्त दाईलाई पनि जीवनदान हुन्छ होला भन्ने ठुलो आशा पालेको थिएँ। तर, सन्त दाईलाई उद्धार गर्न असफल भएँ। अन्तत: सन्त दाईलाई मृत्युदण्ड दिएरै छाड्यो। सन्तदाईले कुनै बेला घटनाको प्रायश्चित गर्दै सुनाएका थिए, ‘हामी नेपाली आफू सिद्धिएर अर्कोका लागि ज्यान दिने जात रहेछौं ।’ गरिबीका कारण कैयौँ नेपालीहरूले विदेशमा यसरी नैअकालमै ज्यान गुमाउन बाध्य भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय