पाल्पा, १६ असोज । जिल्लामा भैपरी आउन सक्ने दुर्घटनालाई न्यूनिकरण गर्दै सम्भावित दुर्घटनामा उद्धार कार्यलाई चुस्त बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पाल्पाको समन्वयमा विपद उद्धार समिति गठन गरिएको छ।

जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई सघाउने गरी जिल्लाका सरोकारवाला निकायसँगको सहकार्यमा उक्त समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

समितिको संयोजकमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रहने व्यवस्था गरिएको छ। सदस्यमा रेडक्रस पाल्पाका प्रमुख बाबुराम कार्की, सञ्चारकर्मी सन्तोष बस्याल, होटल व्यवसायीका तर्फबाट लक्ष्मण बस्याल, र्‍याफ्टिङ सञ्चालक अनिल राना, श्रीनगर यातायातका भबिन्द्र गौतम, पश्चिम नेपाल बस समितिका सम्मर बहादुर थापा, नारायण युवा क्लबका बिनायक महर्जन लगायत १४ जना रहेका छन्।

त्यस्तै, विपदमा खोजपडताल र निरीक्षणका लागि पाल्पामा रहेका ड्रोन सञ्चालकहरूलाई पनि सहयोगीका रूपमा राखिएको छ। समितिको समन्वय अधिकृतको रूपमा प्रहरी निरीक्षक हिमनाथ घिमिरेलाई जिम्मेवारी दिइएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी भिमलाल भट्टराईले पाल्पामा बाढी–पहिरो, सडक दुर्घटना तथा डढेलो लगायतका घटनाको उच्च जोखिम हुने गरेकाले त्यस्ता घटना हुन नदिने र भैहाले समयमै उद्धारमा सक्रियताका लागि समिति गठन गरिएको बताए।

समिति गठन कार्यक्रममा सहभागीहरूले जिल्लामा सकेसम्म विपदका घटना हुन नदिने र भैहाले आ–आफ्नो क्षेत्रबाट उद्धारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। भर्खरै रसुवामा आएको महाविनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएकाले त्यसबाट पाठ सिक्दै जिल्लामा त्यस्ता घटना हुन नदिनेतर्फ सबै चनाखो हुनुपर्नेमा उनीहरूको जोड छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय