सुशीला रेग्मी
रामपुर (पाल्पा), २१ जेठ
सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको रासायनिक (युरिया) मल प्रहरीले फेला पारेको छ । पाल्पा रामपुर नगरपालिका ७ स्थित हराभरा कृषि सहकारीले अनुदानमा आएको मल निजि एग्रोभेटलाई बिक्रि गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएर मल फिर्ता गरेको छ ।
सहकारीले स्याङ्जाको वालिङ भकुण्डे स्थित गरिमा एग्रोलाई बिक्री गरी गाडीमा मल लैजादै गर्दा प्रहरीद्धारा फेला पारिएको हो । वडा प्रहरी कार्यालय वालिङले विहिवार राती मल फेला पारेर नियन्त्रणमा लिएको हो । सो मल शुक्रवार साँझ करिव ६ वजेको समयमा रामपुर नगरपालिकालाई प्रहरीले बुझाएको छ ।
सहकारीबाट ४० बोरा मल किनेर निजि एग्रोभेटले लगेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको मल लिएर रामपुर नगरपालिकालाई बुझाएको नगरपालिकाका सुचना अधिकारी रामहरी पाण्डेयले जानकारी दिनुभयो ।
“सेयर सदस्यलाई र वडावासीलाई मात्रै उपलब्ध गराउने मल हो, नियम विपरित फरक जिल्लामा मल बिक्रि भएको पाइएको छ, यस विषयमा सहकारीसंग लिखित स्पष्टीकरण माग्नेछौँ, नगर उपप्रमुखको संयोजकत्वमा स्थानीय मल व्यवस्थापन समितिले छानबिन गर्नेछ” उहाँले भन्नुभयो ।
उपप्रमुख संयोजक रहेको समिति सदस्यमा प्रमुख प्रशासकिय अधिकृत, कृषि शाखा प्रमुख सहित तीन सदस्यीय समिति रहनेछ । अनुदानको मल व्यवस्थापन निर्देशिका २०७७ अनुसार स्थानीय तहमा मल वितरण समिति रहन्छ । समितिको बैठक बसेर यसबारेमा छानबिन गरिने सुचना अधिकारी पाण्डेयले बताउनुभयो ।
रामपुर नगरपालिका भित्र जेठ महिना लागेपछि हालसम्म एक हजार एक सय बोरा अनुदानको मल प्राप्त भएको छ । सहकारीले वालिङ भकुण्डे स्थित गरिमा एग्रोलाई प्रतिबोरा रु एक हजार ५० का दरले बिक्रि गरेको जनाएको छ । बाहिरी जिल्लाको एग्रोभेटमा मल कसरी को मार्फत बिक्रि भयो यसबारेमा आफुलाई कुनै जानकारी नभएको हराभरा कृषि सहकारी संस्थाका अध्यक्ष गितादेवी भट्टराईले बताउनुभयो ।
सहकारीले रामपुर ७ स्थित बहखोलामा रहेको पसलबाट विहिवार राती ९ वजेपछि मल बिक्रि गरेको बुझिएको छ । रामपुर नगरपालिकाभित्रका दशवटै वडामा सरकारले उपलब्ध गराएको अनुदानको मल बिक्रि गर्ने आधिकारिक सहकारी, संघ संस्था रहेका छन् । सोही संस्थामार्फत मात्रै वडाभित्रका किसानलाई मल उपलब्ध गराइएको छ ।
वडा नं १ को लागि भलायटारमा रहेको ग्रामिण वचत तथा ऋण सहकारी, २ मा दुर्गादेवी सामाजिक उद्यमी महिला कृषि सहकारी, वडा नं ३ मा दर्छा हरियाली साना किसान कृषि सहकारी, ४ मा हातेमालो वचत तथा ऋण सहकारी (हालसालै मान्यता प्राप्त संस्था), ५ मा सूर्योदय कृषि सहकारी संस्थाबाट मलको कारोबार भइरहेको छ ।
यस्तै वडा नं ६ मा विजयपुर कृषि सहकारी, ७ मा हराभरा कृषि सहकारी, ८ मा बराह कृषि सहकारी, ९ मा अर्बसिङ कृषि सहकारी र वडा नं १० मा आधारशिला महिला कृषि सहकारीले अनुदानको मलका लागि स्वीकृती लिएर मल खरिद बिक्रि गर्दै आइरहेका छन् ।
रामपुरमा १५ देखि २० दिनको फरकमा मल भित्रिने गर्दछ । विजयपुर कृषि सहकारी र सुर्योदय कृषि सहकारीले साल्ट्र टे«डिङ्ग कर्पोरेशन कम्पनी र कृषि सामग्री संस्थानमार्फत मल खरिद बिक्रिको अनुमती पाएका छन् भने बाँकी अन्य सहकारी संस्थाले कृषि सामग्री संस्थानमार्फत अनुमती लिएर मलको कारोबार गरिरहेका छन् ।