पूर्वी पाल्पाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो संस्करणको पाल्पा हेरिटेज राइड–२०८३ सम्पन्न भएको छ । पाल्पा जिल्ला साइक्लिङ संघको आयोजनामा सम्पन्न दुईदिने साइकल यात्रामा १८ जिल्लाका १८० भन्दा बढी साइकलयात्री सहभागी रहनुभएको थियो । इलामको चिया बगानको झल्को दिने काउलेडाँडा पछिल्लो समय पाल्पाको नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । करिब २४७ हेक्टर क्षेत्रफलमा फैलिएको काउलेडाँडा वनमा अम्रिसो खेती विस्तारसँगै यहाँको प्राकृतिक सौन्दर्य थप आकर्षक बनेको छ । वनमाराले भरिएको क्षेत्रलाई कबुलियती वनका रूपमा व्यवस्थापन गरी अम्रिसो खेती सुरु गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको हो ।
काउलेडाँडाको माथिल्लो भागबाट हिमशृङ्खला, पहाडी भूभाग तथा तराईका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिने भएकाले यो क्षेत्र पर्यटनको प्रचुर सम्भावना बोकेको गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । अम्रिसो खेतीबाट स्थानीयले आम्दानीसमेत गर्न थालेका छन् भने परम्परागत तथा लोपोन्मुख कुडुले घरले यहाँको सांस्कृतिक आकर्षण थपेको छ । पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सन्दीप रानाले पूर्वी पाल्पाका पूर्वखोला, माथागढी, रम्भा, निस्दी र रामपुर क्षेत्रका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको पहिचान र प्रवर्द्धनका लागि हेरिटेज राइड आयोजना गरिएको बताउनुभयो । ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई साइकल यात्रामार्फत देश तथा विदेशमा चिनाउने उद्देश्यले आयोजना गरिएको राइडले ग्रामीण पर्यटन, स्थानीय आर्थिक गतिविधि तथा रोजगारी प्रवर्द्धनमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘मेरो सांसद, मेरो अधिकार’ कार्यक्रमअन्तर्गत गरिएको यात्राले काउलेडाँडालाई सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । साथै, यात्रामा सहयोग गर्ने स्थानीय, पालिका तथा सहयोगीहरूप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।



रामपुर नगरपालिकाका प्रमुख रमण थापाले साइकलयात्रीको आगमनले रामपुरमा उत्साह थपिएको बताउनुभयो । पूर्वी पाल्पाका पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्द्धनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै उहाँले पर्यटनसँगै स्थानीय उत्पादनको बजारीकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कालीगण्डकी नदी र रामपुर क्षेत्रलाई जोड्ने करिब ४२ किलोमिटर साइकलिङ रुट तथा पैदलमार्ग निर्माण गरिएको जानकारी दिँदै उहाँले उक्त योजनामा करिब ६ करोड रुपैयाँ लगानी भएको बताउनुभयो । राम्दीदेखि देवघाटसम्म पैदलमार्गका रूपमा विकास गर्ने योजना अनुसार निर्माण कार्य अघि बढाइएको उहाँले जानकारी दिनुभयो । विश्व साइकल यात्री पुष्कर शाहले पाल्पा हेरिटेज राइडले जिल्लाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । पूर्वी पाल्पाका पर्यटकीय क्षेत्रलाई केन्द्रमा राखेर गरिएको यात्राले ओझेलमा परेका गन्तव्यको पहिचान र प्रचारप्रसारमा सहयोग पुग्ने उहाँले बताउनुभयो । काउलेडाँडा हिमाल, पहाड र तराईको दृश्य एकै स्थानबाट अवलोकन गर्न सकिने आकर्षक गन्तव्य भएकाले पर्यटन विकासका लागि ठूलो सम्भावना रहेको उहाँको भनाइ थियो ।
पाल्पा जिल्ला साइक्लिङ संघका अध्यक्ष रुपेशमान महर्जनका अनुसार यात्रामा ११ महिलासहित १८० भन्दा बढी साइकलयात्री सहभागी रहेको बताउनुभयो । उहाँले पूर्वी पाल्पाका पर्यटकीय स्थलको पहिचान गर्नु नै यात्राको मुख्य उद्देश्य रहेको बताउनुभयो । साइकल यात्रामा काठमाडौं, रूपन्देही, झापा, नवलपुर, बारा, मकवानपुर, नवलपरासी, लमजुङ, कञ्चनपुर, बाँके, स्याङ्जा, कास्कीलगायत १८ जिल्लाबाट साइकलयात्री सहभागी रहनु भएको थियो । यात्रामा विभिन्न १९ साइकलसम्बन्धी क्लबको सहभागिता रहेको थियो भने सहभागीहरूको उमेर १६ देखि ६३ वर्षसम्म रहेको थियो । शनिबार बिहान तानसेनको टुंडिखेलबाट सुरु भएको यात्रा नारायणटोल, असनटोल, तानसेन दरबार र भगवती मन्दिर हुँदै अघि बढेको थियो । आर्यभञ्ज्याङ, चिदीपानी, हुमिन र पूर्वखोला हुँदै ज्यामिरे, मित्यालबाट निस्दी गाउँपालिकाको काउलेडाँडा पुगेका थिए । काउलेडाँडा पुगेपछि त्यहाँको प्राकृतिक सुन्दरताको अवलोकन गरिएको संघका द्रोण भुसालले बताउनुभयो । दोस्रो दिन आइतबार काउलेडाँडाबाट सहलकोट र कीर्तिपुर हुँदै रामपुर नगरपालिकाको ज्याग्दी पार्क पुगेको संघका सचिव विज्ञान बज्राचार्यले बताउनुभयो । रामपुरका विभिन्न ऐतिहासिक तथा धार्मिक स्थलको भ्रमणपछि साइकल यात्रा सकिएको छ । पूर्वी पाल्पाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई पर्यटनको माध्यमबाट राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले आयोजना गरिएको हेरिटेज राइडले स्थानीय पर्यटन विकास, पर्यटकीय गन्तव्यको प्रचारप्रसार, स्थानीय उत्पादनको बजारीकरण र क्षेत्रीय पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।









