पाल्पा — जिल्ला भलिबल संघ पाल्पाको चौथो जिल्ला अधिवेशन शनिबार तानसेनमा सम्पन्न भएको छ। अधिवेशनले राजु गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा रोशन बुढा, सचिवमा कृष्णबहादुर आले र कोषाध्यक्षमा शुशिला गोदार चयन हुनुभएको छ। यस्तै, सदस्यमा उमेशकुमार गाहा, मानबहादुर दर्लामी, देवबहादुर श्रेष्ठ र हुमबहादुर श्रेष्ठ चयन हुनुभएको निर्वाचन अधिकृत केशवराज अधिकारीले जानकारी दिनुभयो।

अधिवेशनले पाल्पामा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा प्रतियोगितालाई व्यवस्थित र नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

नवनिर्वाचित अध्यक्ष राजु गुरुङले पाल्पामा भलिबल खेलको विकासका लागि संघलाई थप सक्रिय र व्यवस्थित बनाउने बताउनुभयो। जिल्लामा रहेका प्रतिभावान खेलाडीको पहिचान गरी उनीहरूलाई प्रशिक्षण, प्रतियोगिता र आवश्यक अवसर उपलब्ध गराउने आफ्नो प्राथमिकता रहेको उहाँले बताउनुभयो।

उहाँले स्थानीय तह, विद्यालय, क्लब तथा खेलकुदसम्बन्धी निकायसँग सहकार्य गर्दै भलिबललाई जिल्लाको महत्वपूर्ण खेलका रूपमा विकास गर्ने बताउनुभयो। ग्रामीण क्षेत्रदेखि सदरमुकामसम्मका खेलाडीलाई समान अवसर उपलब्ध गराउन संघले विशेष ध्यान दिने उहाँको भनाइ छ।

“पाल्पामा भलिबलको राम्रो सम्भावना छ। नयाँ कार्यसमितिले सबै पक्षसँग सहकार्य गर्दै खेलाडीको क्षमता विकास र प्रतियोगिताको निरन्तरतामा जोड दिनेछ,” अध्यक्ष गुरुङले भन्नुभयो।

नयाँ कार्यसमितिले जिल्लामा नियमित भलिबल प्रतियोगिता सञ्चालन गर्ने, खेलाडीका लागि प्रशिक्षण कार्यक्रम अघि बढाउने तथा पाल्पाबाट प्रदेश र राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको छ। त्यसका लागि स्थानीय तह, विद्यालय, क्लब, खेलकुद संस्था तथा निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिने संघले जनाएको छ।

पाल्पामा पछिल्लो समय भलिबल खेलप्रति युवाको आकर्षण बढ्दै गएको छ। जिल्लाका विभिन्न स्थानीय तह तथा ग्रामीण क्षेत्रमा नियमित रूपमा भलिबल प्रतियोगिता आयोजना हुँदै आएका छन्। विद्यालय तहदेखि नै विद्यार्थी तथा युवाको भलिबलप्रति बढ्दो आकर्षणले नयाँ प्रतिभा पहिचानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

संघले खेलाडी, प्रशिक्षक, रेफ्री तथा खेलप्रेमीबीच सहकार्य बढाउँदै पाल्पालाई भलिबलको क्षेत्रमा थप पहिचान दिलाउने गरी आगामी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय