तानसेन, पाल्पा। अडिटर्स एशोसियसन नेपाल (अडान) पाल्पाको २१औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा करदाता सेवा कार्यालय पाल्पाबाट हटाइएपछि सेवाग्राहीले भोग्नुपरेका समस्या, लेखापरीक्षण प्रणालीमा आएका परिवर्तन तथा कर प्रशासनका समसामयिक विषयमा विस्तृत छलफल गरिएको छ।

अडान पाल्पाका अध्यक्ष राधेश्याम ज्ञवालीको अध्यक्षतामा तानसेनमा सम्पन्न कार्यक्रममा सहभागीहरूले करदाता सेवा कार्यालय पाल्पाबाट  हटाए पछि पाल्पासहित छिमेकी जिल्लाका सेवाग्राही, व्यवसायी, उद्योगी तथा कर परामर्शदाताले अनावश्यक समय, खर्च र झन्झट बेहोर्नुपरेको भन्दै चिन्ता व्यक्त गरेका थिए। उनीहरूले सहज, छरितो र प्रभावकारी कर सेवा प्रवाहका लागि पाल्पामै करदाता सेवा कार्यालय पुनः सञ्चालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

कार्यक्रमका प्रमुख वक्ता प्रमुख कोष नियन्त्रक सूर्यप्रसाद अर्यालले सार्वजनिक वित्त व्यवस्थापन, लेखापरीक्षणको महत्व तथा कर प्रणालीमा भइरहेका परिवर्तनबारे जानकारी गराउँदै पारदर्शिता, जवाफदेहिता र कानुनको प्रभावकारी कार्यान्वयनका लागि लेखापरीक्षकको भूमिका महत्वपूर्ण रहेको बताए। उनले बदलिँदो कर प्रणालीसँग व्यवसायी तथा लेखापरीक्षक समयानुकूल अद्यावधिक हुनुपर्नेमा जोड दिए।

विशिष्ट अतिथि अडिटर्स एशोसियसन नेपाल (अडान) लुम्बिनी प्रदेशका अध्यक्ष टुक पाण्डेले कर प्रशासनलाई प्रविधिमैत्री बनाउने सरकारी प्रयास सकारात्मक भए पनि सेवाग्राहीको पहुँचलाई कमजोर बनाउने निर्णयहरू पुनर्विचार गर्नुपर्ने धारणा राखे। उनले करदाता सेवा कार्यालय हटाइँदा स्थानीय व्यवसायी र करदाताले प्रत्यक्ष असर भोगिरहेको उल्लेख गर्दै सेवा विकेन्द्रीकरणलाई प्राथमिकता दिन आग्रह गरे।

कार्यक्रममा सहभागी लेखापरीक्षक तथा कर व्यवसायीहरूले लेखापरीक्षणसम्बन्धी नयाँ व्यवस्था, परिवर्तित कर कानुन, कर प्रशासनमा देखिएका व्यावहारिक चुनौती तथा समाधानका उपायबारे अन्तरक्रियात्मक छलफल गरेका थिए। उनीहरूले करदातामैत्री नीति, सेवा प्रवाहको सहजता र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे।

अडान पाल्पाका सचिव हिराराज आचार्यले सञ्चालन गरेको कार्यक्रममा जिल्लाका लेखापरीक्षक, व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। स्थापना दिवसका अवसरमा व्यावसायिक क्षमता अभिवृद्धि, कर सचेतना र सेवाग्राहीका समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याउने विषयमा अडानले आगामी दिनमा पनि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय