* पुष्कर अथक रेग्मी
विश्वेश्वरप्रसाद कोइराला अर्थात् बी.पी. कोइराला कुनै साधारण व्यक्ति थिएनन् । उनी महामानव थिए । किनकि उनका पूर्वजहरू नै महामानव थिए।

बी.पी. कोइरालाका पूर्वजहरूको अध्ययन गर्ने हो भने उनी भगवान् अहिराका वंशज हुन् । भगवान् अङ्गिराका छोरा मौद्गलय र मौद्गलयका छोरा मुद्गलायन थिए । मुद्गलायनका छोरा लम्बोदर र लम्बोदरका छोरा अलाल थिए । अलालका छोरा लाल विए र लालका छोरा लालकर्ण थिए । लालकर्णका छोरा लालचन्द्र र लालचन्द्रका छोरा विशा थिए। विशाका छोरा बशु र बशुका छोरा परम थिए । परमका छोरा दामोदर र दामोदरका छोरा हरिहर थिए । हरिहरका छोरा परशुराम र परशुरामका छोरा जनमेजय थिए । जनमेजयका छोरा विश्वंभर र विश्वंभरका छोरा करुणाकर थिए । करुणाकरका छोरा शिवनिधि र शिवनिधिका छोरा नन्दिकेश्वर थिए । नन्दिकेश्वर यिनै बी.पी. कोइरालाका हजुरबुबा थिए । नन्दिकेश्वरका जेठा छोरा सरदार कालीदास, माहिला छोरा सुब्वा नारायणप्रसाद, साँहिला छोरा हीरालाल र कान्छा छोरा खरदार कृष्णप्रसाद थिए। यिनीहरू भट्ट ब्राह्मण थिए ।

लमजुङ्गको दुरा डाँडाबाट बसाइ सरी पूर्वी नेपालको गोग्राहा आएका थिए । कोइरालाको रुख प्रशस्त हुने फाँटमा बसेकाले यिनीहरूलाई कोइराला भनिएको हो । कृष्णप्रसाद कोइरालाले नै गोग्राहालाई विराटनगर नामकरण गरिदिएका थिए। कृष्णप्रसाद कोइरालाले छ भाइ छोरा जन्माए । उनीहरूको नाम मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, हरिहर कोइराला, केशव कोइराला, तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला हो। कृष्णप्रसाद कोइरालाका यिनै छोराहरूमध्ये मातृकाप्रसाद कोइराला नेपालको प्रथम नागरिक प्रधानमन्त्री, विश्वेश्वरप्रसाद कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री र गीरिजाप्रसाद कोइराला प्रजातन्त्रको पुनस्थापनापछि नेपालमा पटकपटक प्रधानमन्त्री भएका थिए ।

“मेरो जन्म एउटा द्विविधामा भएको हो । जन्मने घडीमा मैले अड्डीपनाको पूरा परिचय दिएँ । ममाथि त्यसदिन बल प्रयोग गरिएको हुनाले हो कि किन हो, म जीवनमा आजसम्म विद्रोही रहें।” भनी स्वयं वी.पी. कोइरालाले उदगार व्यक्त गरेका छन् ।

कृष्णाप्रसाद कोइरालाका तीनवटी पत्नीमध्ये कान्छी दिव्या कोइरालाको गर्भबाट शल्यक्रिया गरी वि.सं. १९७१ भाद्र २४ गतेका दिन वाराणसीमा विश्वेश्वरप्रसाद कोइरालाको जन्म भएको हो। न्वारनको नाम चूडामणि भए तापनि भगवान् विश्वनायको स्मृतिमा विश्वेश्वरप्रसाद राखियो भने बी.पी. कोइरालाको नामबाट उनी विश्वप्रसिद्ध भए । वी.पी. सानो देशमा जन्मिएका, संसारले मानेका ठूला नेता हुन् । वरिष्ठ ज्योतिषी एवं हस्तरेखाविद् अङ्गिरस न्यौपानेले बी.पी. को जन्म कुण्डली तथा ग्रहदशाको सन्दर्भमा निम्नानुसार व्याख्या विश्लेषण गरेका छन् ।

मेष राशि र तुला लग्नमा बी.पी. को जन्म भएको थियो। जसले गर्दा स्वगृही शुक्र समेत रहेकाले बाँचुञ्जेल चर्चित हुने र मृत्युपछि अमर रहने योग थियो । धनस्थानको कुरा गर्दा धन भए पनि नभए पनि आँटेको काम पूरा गर्न सक्ने र मित्रधन धेरै राख्न सक्ने थियो । शनि र मंगलको पूर्ण दृष्टिको कारणले गर्दा पराक्रमी, आँट, अठोट भएका, कसैसँग नझुक्ने र दाजुभाइलाई समेत हानि पुऱ्याउन सक्ने क्षमता रहेको थियो । गुरुग्रह भने नीच भई बसेको हुनाले परिवारसँग बस्न नपाउने, कारागार तथा प्रवासमा बस्नुपर्ने योग रहेको थियो। राहु ग्रहको प्रभावले हठी स्वभावका, अरूको बुद्विमा नहिँड्ने र आफ्‌नै बुद्धिमा हिँड्ने, हिँडाउँने स्वभावका थिए। बुद्धि, विवेक, तीक्ष्ण र दूरगामी प्रभाव पुऱ्याउने भएकोले राजशक्ति एवं सैन्यशक्तिमा वैमनस्यता हुने, छिमेकीसँग समझदारीमा कमी रहने अवस्था थियो । चन्द्रमा उच्च अभिलाषी भएकोले मन चंचल, स्त्री र यौनबारे उत्सुक्ता राख्ने, सत्ता प्राप्त गरे पनि स्थिर नहुने योग थियो। जसले गर्दा राजा, स्त्री, वैदेशिक सम्बन्ध राम्रो राख्न सकेनन् । उनीमा गुरुदृष्टि भने पूर्ण रूपमा परेको थियो। अप्रत्यासित मार परे तापनि गुरुकै कारणले ज्यान जाने योगबाट समेत बचायो । जस्तै दुःख परे तापनि राजा, सेना, कार्यकर्ता, विदेश एवं समयबारे बुझेका र बुझाउन सक्ने स्वभावका थिए । भाग्यस्थानमा शनिग्रह प्रबल भई बसेकोले भाग्यले ठगेर साथ नदिएको र शनि ग्रहकै प्रभावले धर्म कर्ममा विश्वासको अभाव भएको पाइएको थियो । कर्म स्थानमा भने बृहस्पतिको पूर्ण दृष्टि परेकोले गुरु विचार दिन सक्ने, नयाँ दर्शन दिन सक्ने, कर्मवादी, नाम उच्च राख्न सक्ने, आत्मबल र विश्वास बलियो रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय