latest
माथागढी गाउँपालिकाः दुर्गम बस्तीमा ‘एक घर–एक धारा’ अभियान  ||    समुदायसँग जोडियो सिकाइ, ‘सक्षम सिकाइ कार्यक्रम’ले बदल्दै माथागढीको शैक्षिक अभ्यास  ||    माथागढीका कृषकलाई प्रविधिमैत्री कृषि अभ्यास  ||    राजस्व संकलनमा सुधार, दिगो विकासका लागि स्रोत विस्तारको खोजी  ||    वैदेशिक रोजगारी त्यागेर बंगुरपालनमा सफलता, माथागढीका सम्मर कुमाल दम्पतीको वार्षिक २० लाखको कारोबार  ||    उत्पादनका आधारमा अनुदान, यान्त्रीकरण र व्यावसायिक खेतीले फेरिँदै माथागढीको कृषि  ||    लिफ्ट खानेपानी योजनाले फेरियो माथागढीका डाँडाबस्तीको दैनिकी  ||    माथागढीको नौ वर्षमा सडक, पुल र सिंचाइ पूर्वाधारले फेरियो गाउँको मुहार  ||   
सोमबार , असार १५, २०८३

पाल्पा, जेठ २०, माथागढी

वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै उद्यम गर्ने अठोट लिएका पाल्पाको माथागढी गाउँपालिका–३ कसेनीका सम्मर बहादुर कुमाल र उनकी श्रीमती आज सफल बंगुरपालक किसानका रूपमा परिचित बनेका छन्। पाँच वर्षअघि एउटा मात्र बंगुरबाट सुरु भएको उनीहरूको व्यवसाय अहिले वार्षिक करिब २० लाख रुपैयाँको कारोबार गर्ने स्तरमा पुगेको छ। उनीहरूको सफलता स्थानीय सरकारको प्रोत्साहन, परिवारको एकता र निरन्तर मेहनतले गाउँमै पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेको छ।

पाँच वर्षसम्म वैदेशिक रोजगारीमा पसिना बगाएका सम्मर कुमाल विदेशको दुःखभन्दा आफ्नै गाउँमा केही गर्ने उद्देश्यका साथ नेपाल फर्किएका थिए। सुरुमा सामान्य रूपमा बंगुरपालन थालेका उनले व्यवसायलाई निरन्तर विस्तार गर्दै लगे। अहिले उनको फार्ममा १५ वटा माउ बंगुर रहेका छन् भने नियमित रूपमा पाठापाठी उत्पादन र बिक्री हुँदै आएको छ।

व्यवसायबाट सन्तुष्ट रहेको बताउँदै सम्मर भन्छन्, “घरखर्च कटाएर राम्रो बचत गर्न सकेका छौं। बैंकको ऋण तिर्न पनि सहज भएको छ। अहिले वार्षिक करिब २० लाख रुपैयाँ बराबरको कारोबार भइरहेको छ। मेहनत गरे गाउँमै पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विश्वास बढेको छ।”

उनको व्यवसाय विस्तारमा माथागढी गाउँपालिकाको सहयोग पनि महत्वपूर्ण बनेको छ। गाउँपालिकाबाट प्राप्त २ लाख रुपैयाँ अनुदानबाट उनले बंगुरको खोर व्यवस्थित बनाउन पार्टेसन, ढलान तथा अन्य आवश्यक संरचना निर्माण गरेका छन्। साथै गाउँपालिका र वडा कार्यालयबाट नियमित रूपमा प्राविधिक परामर्श र पशु स्वास्थ्यसम्बन्धी सेवा प्राप्त भइरहेकाले व्यवसाय सञ्चालन थप सहज भएको उनी बताउँछन्।

कुमाल दम्पतीको सफलताको अर्को महत्वपूर्ण आधार पारिवारिक सहकार्य हो। सुरुका दिनमा उनीहरूले ब्रोइलर कुखुरा पालन पनि गरेका थिए। तर पछिल्ला वर्षहरूमा पूर्ण रूपमा बंगुरपालनमै केन्द्रित भएका छन्।

सम्मरकी श्रीमती भन्छिन्, “काम सानो वा ठूलो भन्ने हुँदैन। परिवार मिलेर काम गर्दा दुःख पनि सहज लाग्छ। यहाँ काम नगरे विदेश जानुपर्छ, तर विदेशमा पनि दुःख त गर्नैपर्छ। त्यसैले आफ्नै देशमा मेहनत गरौं भनेर मैले श्रीमानलाई विदेश जान रोकेकी हुँ। अहिले हाम्रो मेहनतको प्रतिफल देखिन थालेको छ।”

व्यवसाय सुरु गर्नुभन्दा त्यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण हुने अनुभव सम्मरले सुनाउँछन्। “सुरु गर्न त सजिलो हुन्छ, तर टिकाइराख्न गाह्रो हुन्छ। जुनसुकै पेसामा पनि धैर्य, अनुशासन र निरन्तरता आवश्यक हुन्छ। टिकेर काम गर्न सके विदेशिनु पर्दैन,” उनी भन्छन्।

सम्मरको व्यवस्थित फार्म र व्यवसाय सञ्चालन शैलीले आसपासका किसानलाई पनि व्यावसायिक बंगुरपालनतर्फ आकर्षित गरेको छ। माथागढी गाउँपालिका–३ का वडाध्यक्ष तेजबहादुर घर्तीमगरका अनुसार कुमालको फार्म अहिले धेरै किसानका लागि अध्ययन र प्रेरणाको केन्द्र बनेको छ। सुरक्षित, सफा र वैज्ञानिक ढंगले गरिएको खोर व्यवस्थापनले यस क्षेत्रमा बंगुरपालनप्रतिको आकर्षण बढाएको उनले बताए।

यता माथागढी गाउँपालिकाले वास्तविक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्पादनका आधारमा अनुदान वितरण गर्ने नीति लागू गरेको छ। गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीका अनुसार किसानले जति धेरै उत्पादन गर्छन्, त्यति नै बढी अनुदान रकम सिधै उनीहरूको बैंक खातामा जम्मा हुने व्यवस्था गरिएको छ। दूध, माछा, मासु, मह, तरकारीलगायत कृषिजन्य उत्पादनमा यो कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको उनले जानकारी दिए।

यही किसानमुखी नीतिका कारण माथागढी गाउँपालिकामा पशुपालन व्यवसाय विस्तार हुँदै गएको छ। विशेषगरी सुँगुर तथा बंगुरको मासु उत्पादनमा उल्लेखनीय वृद्धि भएको तथ्यांकले देखाएको छ। आठ वर्षअघि गाउँपालिकाभर वार्षिक १७४.५ मेट्रिक टन मासु उत्पादन हुने गरेकोमा अहिले त्यो बढेर २०३.८ मेट्रिक टन पुगेको छ।

स्थानीय सरकारको प्रभावकारी नीति, समयमै उपलब्ध प्राविधिक सहयोग र किसानको अथक परिश्रम एकसाथ जोडिँदा गाउँमै सम्मानजनक आम्दानी र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण सम्मर कुमाल दम्पतीले प्रस्तुत गरेका छन्। उनीहरूको सफलताले वैदेशिक रोजगारीको विकल्प आफ्नै गाउँघरमा खोज्न सकिन्छ भन्ने सन्देश मात्र दिएको छैन, कृषि र पशुपालनमार्फत ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन पनि प्रेरणा प्रदान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय