पाँच वर्षअघि विश्वलाई खुसी बनाएका निम्सदाई, आज संसारलाई रुवाएर बिदा भए

पाँच वर्ष सात महिनाअघि निर्मल पुर्जा ‘निम्सदाई’को नेतृत्वमा भएको ऐतिहासिक हिमाल आरोहणले नेपालसँगै विश्वलाई उत्साहित बनाएको थियो। सन् २०२१ जनवरी १६ मा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के–टूको पहिलो शीतकालीन (विन्टर) सफल आरोहण गर्दै १० सदस्यीय नेपाली टोलीले विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय लेखेको थियो।

तर, शुक्रबार पाकिस्तानकै अर्को हिमाल आरोहणका क्रममा आएको दुःखद खबरले नेपाल मात्र होइन, विश्व पर्वतारोहण समुदायलाई नै स्तब्ध बनाएको छ। शनिबार पाकिस्तानको ब्रोड पिक क्षेत्रमा आएको हिमपहिरोमा परी विश्वप्रसिद्ध आरोही निर्मल पुर्जाको निधन भएको पुष्टि भएपछि विश्व साहसिक पर्यटन तथा पर्वतारोहण क्षेत्र शोकमा डुबेको छ। नेपाली मूलका बेलायती नागरिक पुर्जाको निधनको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रमुखताका साथ प्रकाशित भइरहेको छ।

निर्मल पुर्जाको कीर्तिमान केवल हिमाल आरोहणमा सीमित थिएन। उनले असम्भवजस्तै मानिएको चुनौतीलाई सम्भव बनाउँदै आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। यसअघि सो उपलब्धि हासिल गर्न आरोहीहरूले झण्डै आठ वर्ष लगाएका थिए।

उनको प्रेरणादायी यात्रामाथि आधारित पुस्तक ‘बियोन्ड पसिबल’ र नेटफ्लिक्सको चर्चित डकुमेन्ट्री ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ ले विश्वभरका लाखौँ मानिसलाई प्रेरित गरेको थियो। नेपाली साहस, दृढ संकल्प र आत्मविश्वासलाई विश्वमाझ चिनाउने निम्सदाई अब भौतिक रूपमा नरहे पनि उनका कीर्तिमान, योगदान र प्रेरणाले इतिहासमा सदैव अमिट छाप छोडिरहनेछन्।

610561974_18340342477239515_7367821248106937717_n-1785590186.jpg

ती कीर्तिमानले पुर्जालाई मात्रै चिनाएन, नेपाली हिमाल, नेपाली शेर्पा र नेपालको साहसिक पर्यटनलाई पनि विश्वभर चिनायो । सन् २०१९ मै पनि पुर्जाले एक किसिमको विश्वव्यापी चर्चा बटुलेका थिए । सगरमाथामा भएको ‘ट्राफिक जाम’को तस्वीर सार्वजनिक गरेर उनले आफ्नो पहिचान अझ व्यापक बनाएका थिए ।

सन् २०१२ मा खुम्बुको लोबुचे इस्टको सफल आरोहणसँगै हिमाल यात्राको सुरुआत गरेका पुर्जाले १४ वर्षपछि पाकिस्तानको ब्रड पिकमा पुगेर आफ्ना हिमाली पाइलाको तुफानी गति सदाका लागि स्थगित गरेका छन् ।

उनको आरोहणका पाइला अब हिमालमा छैनन् । तर, इतिहासमा भने सधैँ रहनेछन् । निर्मल पुर्जाको ज्यान हिमालमै जाला भन्ने डर उनकी स्वर्गीय आमा पूर्णकुमारीलाई सधैँ लाग्थ्यो ।

1-1785590186.jpg
पुर्जाको पुस्तक ‘बियोन्ड पसिबल’का अनुसार विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गर्ने अभियानमा निस्किनुअघि चितवनस्थित घरमा आमाले भनेकी थिइन्, ‘निर्मल, अब आमाबुबा बूढा भए । स्याहार्न गाह्रो हुन्छ भनेर आफैँ हिमालमा मर्न हिँडेको हो ?’

आमाको यो वाणीले पुर्जालाई निकै भावविह्वल बनाएको थियो । किनभने त्यो त्यही समयको कुरा थियो, जब उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गर्ने लक्ष्यसहित बेलायतस्थित आफ्नो घर धितो राखेर ६५ हजार पाउन्ड ऋण लिएका थिए ।

त्यतिबेलासम्म उनले १५ वर्ष खाएको बेलायती गोर्खा सैनिक हुँदै स्पेसल फोर्सको जागिरसमेत छोडिसकेका थिए । करिब साढे सात लाख पाउन्ड खर्च जुटाउन उनले विभिन्न कम्पनीसँग सहयोगको याचना गरेका थिए ।

659128249_18356237923239515_7770989166304974096_n-1785590185.jpg
उनले बेलायती अर्बपति रिचर्ड ब्रान्सनलाई समेत हस्तलिखित पत्र लेखेर सहयोगका लागि अनुनय विनय गरेका थिए । तर, त्यसको कुनै उत्तर आएन । किनभने पत्र लेख्दाको समयमा पुर्जा प्रायः गुमनामजस्तै थिए ।

ब्रान्सनलाई पत्र लेख्नुको कारणबारे पुर्जाले ‘बियोन्ड पसिबल’मा भनेका छन्, ‘मैले त्यो पत्र किन पनि लेखेँ भने, पछि पैसा नपाउँदा उनलाई पत्र लेखेको भए हुन्थ्यो कि भन्ने पछुतो नहोस् भनेर ।’

670624633_18359354863239515_6633704983718133004_n-1785590185.jpg
आमासँग भावुक हुने पुर्जाको अर्को कथा पनि छ । २०४० साउनमा म्याग्दीको दानामा जन्मिएका पुर्जा चार वर्षको हुँदा चितवनको रामनगरमा आएका थिए । आमा त्यहीँ बस्थिन् । राम्रो पैसा कमाएर काठमाडौंमा घर किनेर आमालाई राख्ने पुर्जाको सपना थियो । पुर्जा र उनकी पत्नी सूचीको पनि त्यही सपना थियो ।

त्यो सपना सन् २०२० मा पूरा भयो । बेलायतबाट आमालाई नयाँ घरमा स्वागत गर्न पुर्जा र सूची काठमाडौं आए । तर, २५ फेब्रुअरीमा काठमाडौं उत्रिनेबित्तिकै उनीहरूले अत्यन्त दुःखद समाचार पाए । उनीहरूलाई भनियो, ‘दुई घण्टाअघि नै आमा बित्नुभयो ।’

तस्वीर: निर्मल पुर्जाकाे फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय