आइतबार , भाद्र ७, २०८३

 गोपाल प्रसाद वश्याल
तानसेन, पाल्पा साउन १६ गते । (तम्घासबाट)
शिक्षण सिकाइ गुणस्तर बृद्धिका लागि “खोज—प्रमाण—विज्ञता” सहितको विज्ञता चक्र अभ्यासको प्रभावकारितासम्बन्धि तीन दिवसीय गोष्ठी गुल्मी तमघासस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा आज सम्पन्न भएको छ ।
नेपालका १० जिल्लाका ४५ विद्यालयहरूबाट एक सय बढी प्रधानाध्यापक, शिक्षकहरू र एक दर्जन विद्यार्थीहरू सहभागी रहेको यस कार्यक्रममा तीन जना प्रधानाध्यापकहरू, तीन जना शिक्षकहरू र १० जना विद्यार्थीहरूले आफ्ना अभ्यासहरूको प्रस्तुति दिनुभएको थियो । काठमाण्डौ प्रज्ञा कुञ्ज, बानेश्वरका प्रिन्सिपल सुनिता पौडेल, माछापुच्छ्रे माध्यमिक विद्यालय, कास्कीका प्रधानाध्यापक सन्तोष आचार्य र सिद्धबाबा माध्यमिक विद्यालय, तमघास गुल्मीका प्रधानाध्यापक डोर बिक्रम श्रीसले शिक्षकहरूको पेशागत विकास एवम् विद्यालयका असल अभ्यासहरूको प्रस्तुति गर्नुभएको थियो । उहाँहरूले विद्यालयमा शिक्षकहरूबाट र बाह्य विज्ञहरूबाट तालिम कार्यशाला सञ्चालन, स्व—निर्देशित पेशागत विकासका लागि उत्प्रेरित गर्ने, विद्यालयमा फर्केर तालिम सिपको आदानप्रदान, साप्ताहिक समीक्षा, जिम्मेवारी बाँडफाँड, स्वचालित संरचना विकास, पेशागत विकास र शिक्षामूलक अभियानमा सहभागिताका लागि प्रोत्साहन जस्ता अभ्यास प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा अनुसन्धानमा आधारित भै विद्यार्थीहरूले कृत्रिम बुद्धिमता (ए. आई.) प्रयोग गरिरहेको स्थिति, अवस्था, कारण र त्यसबाट शिक्षकले सिक्नुपर्ने पाठसमेतको प्रस्तुति सिद्धबाबा माध्यमिक विद्यालय तमघासका शिक्षक कमला महत, माछापुच्छ्रे माध्यमिक विद्यालय, कास्कीका शिक्षक लोकनाथ आचार्य र काठमाण्डु प्रज्ञा कुञ्ज, बानेश्वरका शिक्षक आशिष घिमिरेले गर्नुभयो ।
विगत पाँच वर्षदेखि माछापुच्छ्रे माध्यमिक विद्यालयबाट सुरू भएको यस विज्ञता चक्र अभियानमा समावेश भएका विद्यालयहरूमध्ये सिद्धबाबा माध्यमिक विद्यालय, तमघासका तीन समूह, माछापुच्छ्रे माध्यमिक विद्यालय कास्की, काठमाडौ ज्ञान पुञ्ज नयाँबानेश्वर र न्यू फिल्ड हाइस्कूल, न्यूयोर्क अमेरिकाका गरी १० जना विद्यार्थीहरूले विद्यार्थी पठन क्लबमार्फत विकासित पठन संस्कृतिबाट आफूहरूमा विषयवस्तुको ज्ञानमात्र नभएर ज्ञानको खोजी गर्ने, भाषिक, अभिब्यक्ति, सिर्जनात्मकता, नेतृत्व र प्रस्तुतिकरण सिप विकास भएका तथ्यहरू प्रस्तुत गर्नुभयो । आफूहरू ठूलो विज्ञ समूहका विचमा पनि निर्धक्कसँग प्रस्तुत गर्न सक्ने भएको बताउनुभयो । प्रस्तोता विद्यार्थीहरूमा सिद्धबाबा माध्यमिक विद्यालयका करिष्मा वैदवार, आयुष गुरुङ, प्रविन अर्याल, विशाल वि. क., रोहित भट्टराई, संस्कार पौडेल र सञ्जिता भलामी, माछापुच्छ्रे माध्यमिक विद्यालय कास्कीका प्रतिक आचार्य, काठमाडौ ज्ञान पुञ्जका आज्ञा थापा, र न्यू फिल्ड हाइस्कूल न्यूयोर्कका आभा शर्मा हुनुहुन्थ्यो ।
कार्यक्रममा सबै सहभागीहरूलाई आफूहरूले शिक्षणसिकाइ तथा नेतृत्व कार्यमा उपयोग गरिरहेका असल अभ्यासहरू खोजी गरी पहिचान गर्ने, ती अभ्यासहरू र तिनीहरूको प्रभावसम्बन्धि प्रमाण खोजी गर्ने र सहकर्मी वा विद्यार्थीको सिकाइ सिप विकासमा उत्प्रेरक बन्ने अभ्यासहरूको संकलन, जोडी तथा समूहमा आदानप्रदान गर्ने गरिएको थियो ।
कार्यक्रममा कार्यक्रमको ढाँचा निर्माण गर्नुभएका न्यूयोर्क स्टेट युनिभर्सिटीका प्राध्यापक डा. श्याम शर्माले विज्ञता चक्र र यसका पाँच अ (अध्ययन, अभ्यास, अन्तर, अन्तरक्रिया र अभिलेखीकरण), खोजबाट सिकाई, अभ्यासको प्रमाण अभिलेखीकरण र विज्ञता सिप विकासका सम्बन्धमा विभिन्न दृष्टान्तसहित स्पष्ट पार्नुभएको थियो । उहाँले विद्यार्थी ज्ञानको गहिरो खोजीमा जाने वातावरण सिर्जना गर्ने, बौद्धिक इमान्दारिता र पुतली प्रभावजस्ता विचारहरूको चर्चा गर्नुभयो । सबैलाई बोल्ने अवसर प्रदान, विचारहरू अभिब्यक्त गर्न चाहने वातावरण निर्माण, योग तथा मानसिक शारीरिक तन्दुरुस्तीसम्बन्धी अभ्यासका कारण गोष्ठी थप प्रभावकारी भएको थियो ।
कार्यक्रममा उत्कृष्ट अभ्यासका लागि शान्ति नमुना माध्यमिक विद्यालय, रुपन्देहीका सहायक प्रधानाध्यापक धर्मगत शर्मा, मोहन कन्या माध्यमिक विद्यालय, पाल्पाका शिक्षक गोपाल प्रसाद वश्याल र सिद्धबाबा माध्यमिक विद्यालय गुल्मीका शिक्षक कमला महतलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको उद्घाटन रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले गर्नुभएको थियो भने समापनमा शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले प्रमाण—पत्र वितरण गर्नुभयो । प्रमुख अतिथि पन्थीसहित सभाका अध्यक्ष निरञ्जन थापा र प्रधानाध्यापक डोर बिक्रम श्रीसले मायाको चिनो वितरण गर्नुभयो ।
कार्यक्रममा प्राध्यापक श्याम शर्माले विद्यालयमा ८० लाख रूपैयाँको अक्षय कोष स्थापना गर्नुभयो । कार्यक्रमको ब्यवस्थापन सौजन्य सिद्धबाबा माध्यमिक विद्यालय तमघासले गरेको थियो । कार्यक्रमका सहभागीहरूलाई रेसुंगा तपोवन अवलोकन गराइएको थियो । सहभागीहरूलाई रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेश भुसालले रेसुंगाको पौराणिक महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको पहिलो दिन नेल्टा गुल्मीको पहलमा संक्षिप्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । नेल्टा गुल्मीका सचिव टिका थापाको सञ्चालनमा चलेको कार्यक्रममा प्राध्यापक शर्माले आफूले नेपालमा रहँदा नेल्टामा सम्पादकको भूमिकामा कार्य गरेको स्मरण गर्दै नेल्टाले शिक्षक प्रशिक्षण, लेखन लगायतका पक्षमा खेलेको भूमिकाको दृष्टान्तसहित प्रशंसा गर्नुभयो । नेल्टा लुम्बिनी प्रदेश समिति अध्यक्ष गोपाल प्रसाद वश्यालले नेल्टाका क्रियाकलाप र अंग्रेजी भाषा शिक्षण र शिक्षकहरूको पेशागत क्षमता विकासमा नेल्टाले खेलेका भूमिका चर्चा गर्नुभयो । नेल्टा लुम्बिनी प्रदेश सदस्य यज्ञ गौतमले गुल्मी जिल्लामा अंग्रेजी भाषा शिक्षणको अवस्था चर्चा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय