पाल्पा, असार ९ — पाल्पाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भविश्वर पाण्डेले जिल्लामा सुशासन कायम गर्दै विकास निर्माणलाई गति दिने र नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभएको छ।
हालै सरुवा भएर पाल्पा आएका प्रजिअ पाण्डेले सोमबार क्रियाशील पत्रकारहरूसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रशासनलाई नागरिकमैत्री, पारदर्शी र उत्तरदायी बनाउँदै सहज, छिटो तथा प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।



उहाँले संघीय शासन व्यवस्थापछि प्रजिअको भूमिका र अधिकारमा केही परिवर्तन आएको उल्लेख गर्दै आफ्नो जिम्मेवारीको दायराभित्र रहेर नागरिकले अनुभूति गर्ने गरी सेवा सुधारमा विशेष ध्यान दिइने बताउनुभयो। सरकारी कार्यालयमा देखिने ढिलासुस्ती अन्त्य गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेतर्फ प्रशासन केन्द्रित रहने उहाँको भनाइ थियो।
प्रजिअ पाण्डेले स्थानीय तह, प्रदेश सरकार तथा संघीय कार्यालयबीचको समन्वय र सहकार्यलाई थप सुदृढ बनाइ विकास निर्माणका कामलाई सहज र परिणाममुखी बनाइने जानकारी दिनुभयो। “नागरिकका समस्या, गुनासा र अपेक्षाप्रति प्रशासन सधैं संवेदनशील रहनेछ,” उहाँले भन्नुभयो।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई पनि उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै उहाँले गृह मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तहदेखि वडा तहसम्म प्रभावकारी समन्वय सञ्जाल निर्माण गरिने बताउनुभयो। विपद् व्यवस्थापनमा पूर्वतयारी, सूचना आदानप्रदान र द्रुत प्रतिकार्यलाई सुदृढ बनाइने उहाँको भनाइ थियो।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका संस्थापक सचिव भरत शर्मा, पूर्व अध्यक्ष रेखिराम राना तथा अध्यक्ष कमलराज तिमिल्सिनाले सेवाग्राहीले भोगिरहेका समस्या, सेवा प्रवाहमा हुने ढिलासुस्ती तथा प्रशासनिक समन्वयसँग सम्बन्धित विषय उठाउनुभएको थियो।
जिल्लाका दर्जनौँ पत्रकारको सहभागिता रहेको कार्यक्रमको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले गर्नुभएको थियो।
नवनियुक्त प्रजिअ पाण्डेको प्रतिबद्धतासँगै पाल्पावासीले प्रशासनिक सेवा थप सहज, छरितो र प्रभावकारी हुने अपेक्षा गरेका छन्।







