
पाल्पा, चैत ६
देशकै पहिलाे क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा नेपाल विद्यार्थी संघको नेतृत्वमा सर्वपक्षीय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठन भएको छ । नेपाल विद्यार्थी संघका कृष्ण अर्याल अध्यक्षमा चयन भएको निर्वाचन अधिकृत जीवनबहादुर थापाले बताए । उपाध्यक्षमा एमाले निकट अनेरास्ववियुका अमृत भट्टराई, सचिव अनेरास्ववियु (क्रान्तिकारी) का ताराबहादुर रायमाझी, नेकपा एकीकृत समाजवादी समर्थित अनेरास्ववियुबाट सहसचिवमा उमेश भण्डारी, कोषाध्यक्षमा एमाले निकट अनेरास्ववियुका सन्तोष पोखरेल चयन भएकाे विज्ञप्ती जारी गरेर जनाइएकाे छ ।



सहिद बहुमुखी क्याम्पस पाल्पामा नेविसंघको समूह विजयी
पाल्पा रामपुरको सहिद बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट उम्मेदवार बनेका ल्याकत अली सभापतिमा विजयी भएका छन् । एमाले निकट अनेरास्ववियुका उम्मेदवार सन्देश ढकाललाई ३२ मतले पछि पार्दै अली विजयी भएका हुन् ।
समानुपातिकतर्फ नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी)ले संगठन दर्ता गराएको थियो । समानुपातिकतर्फ नेपाल बिद्यार्थी संघले ३ सय २१, अनेरास्ववियुले २ सय ७६ र अनेरास्ववियु (क्रान्तिकारी ) ले ५१ मत प्राप्त गरेको छ । उपसभापति, सहसचिवसहित ५० प्रतिशत पदाधिकारी समानुपातिक मतको आधारमा चयन हुनेछ ।
उद्बुद्ध कलेज
उद्बुद्ध कलेज स्वतन्त्र विद्यार्थी युयिनन निर्वाचन अन्तर्गत एमाले निकट अनेरास्ववियुको एकल प्यानल निर्विरोध भएको छ । सभापतिमा केशव पंगेनी, उपसभापति कमल बस्याल, सचिव कृष्णा झापुर्लक, सहायक सचिव बिनिता कामु निर्विरोध भए । सदस्यहरु सरिता नेपाली, रुपा घर्ती, हेमा हिस्की, विष्णु आचार्य, संगीता आचार्य, नेत्रबहादुर पल्ली रहेका छन् ।
माण्डव्य बहुमुखी क्याम्पस
दमकडास्थित माण्डव्य बहुमुखी क्याम्पसमा पनि एमाले निकट अनेरास्ववियुका सरोज अधिकारी सभापति र बन्दना सुनार सचिव रहेको समिति गठन भएको छ । यहाँ नेविसंघ र एकीकृत समाजवादी निकट अनेरास्ववियुसमेत समितिमा छ ।