सुशीला रेग्मी
रामपुर (पाल्पा), फागुन २०
चारैतिर डाँडाकाँडाले घेरिएको समथर भागमा अवस्थित सुन्दर वस्तीका रुपमा विकास हुदैछ, रामपुर उपत्यका । पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व) को केन्द्र भागमा रहेको रामपुर नगरपालिका धार्मिक, साँस्कृतिक र पर्यटकीय नगरीको रुपमा एउटा सम्भावना बोकेको छ ।
संघीय संरचना पश्चात स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गर्ने अवसर पाएपछि यस नगरले प्राकृतिक सुन्दरता भौगोलिक विविधता, सद्भावयुक्त, सामाजिक, साँस्कृतिक, नगरको एक व्यापारिक केन्द्रका रुपमा पहिचान बनाएको छ । यहाँ औद्योगिक, शैक्षिक विकास लगायतका जीवनयापनका अनेक सम्भावना र अवसरको रुपमा विकसित भइरहेको यस रामपुर नगरपालिकालाई खररहितको शहर, ढलरहितको नगरपालिकाका रुपमा विकसित गरिदैछ ।
‘स्वच्छ, सुन्दर र समुन्नत शहर, हाम्रो रामपुर नगर’ भन्ने सङ्कल्प सहित विकासमा फड्को मार्दै गरेको यस नगरभित्र खरका छानो भएको घरमा खर बिस्थापित गरी प्रत्येक घरधुरीमा जस्तापाता लगाउने, घरबाट निस्कने मलमुत्रलाई व्यवस्थापन गरी वैकल्पिक उर्जाको रुपमा प्रयोग गर्ने प्रविधिमा जोड दिइएको छ ।
नगरपालिकाको विपन्न परिवार बसोबास गर्ने खरका छाना हटाएर प्रत्येक घरधुरीमा जस्तापाता लगाउने अभियान अहिले जारी छ । पहिलो स्थानीय तहमा निर्वाचित भएर आएसंगै यहाँका जनप्रतिनिधिले नगरपालिकाको व्यवस्थापनमा सो अभियान सुरु गरेका हुन् । नगरले सुरुवाती गरेको सो अभियानलाई पछि प्रदेश र संघ सरकारले अवलम्वन गरी काम अगाडी बढीरहेको छ । अहिले नगरपालिकाभित्र खरको छानो भएका करिव ७५६ घरधुरीमध्ये ३५० भन्दा बढी घरमा जस्तापाता लगाउने काम सम्पन्न भएको छ । बाँकी घरमा पनि जस्तापाता लगाउने कार्य अगाडी बढीरहेको छ । यस कार्यका लागि यस आर्थिक वर्षमा नगरपालिकाले रु तीस लाख रकम विनियोजन गरेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।
“भौगोलिक वनावटले केही पहाडी भाग र समथर क्षेत्रमा फैलिएको यस रामपुर नगरलाई खररहितको शहर, ढलरहितको शहरका रुपमा विकास गरी नेपालकै नमुना शहर बनाउने योजनाका साथ अगाडी बढेका छौँ” उहाँले भन्नुभयो,–“ढलबिनाको शहर भन्दा सुन्ने जोसुकैलाई अनौठो लाग्न सक्दछ, घरबाट निस्कने मलमुत्रलाई प्रशोधन गरी उर्जामा परिणत गर्ने अभियानमा छौँ” ।
ढलबिनाको शहर भनेपछि झट्ट पहिला ढल बन्छ, क्रमश शहर, बाटो भन्ने कुरा आमनागरिकमा छ । ठूला–ठूला शहर बजारमा ढलका कारण बागमती, विष्णुमती जस्ता धार्मिक तथा पर्यटकीय, साँस्कृतिक महत्व बोकेका नदीनाला प्रदुषित बनेका छन् । वस्तीबाट गएको ढल सिधै नदीनालामा मिसाउँदा प्रदुषित बनेकाले ढल बनाउनुहुदैन भन्ने सोँचले रामपुर नगरले ढलबिनाको शहरको अवधारणा ल्याएको नगर प्रमुख थापा बताउनुहुन्छ ।
“घर बनाउने क्रममा नक्सापास गर्दा नै सेफ्टी ट्याङ्की अनिवार्य निर्माण गर्नुपर्नेछ, त्यो सेफ्टी ट्याङ्कीबाट सिधै ढलमा जोड्न पाइने छैन, ट्याङ्की भरिसकेपछि भने पम्प भ्याकुमको माध्यमबाट त्यसलाई तानेर साधारण प्रशोधन गरी मलमा परिणत गराउन बिगत तीन वर्ष देखि यसको योजना सुरु गरेका छौँ” नगर प्रमुख थापाले भन्नुभयो ।
अब यसलाई उर्जामा परिणत गर्ने, साझेदारी संस्थासंग समन्वय गरेर नगरपालिकाभित्रका घरबाट निस्कने मलमुत्रलाई एक ठाउँमा सङ्कलन गरी उर्जा निकाल्ने र वैकल्पिक उर्जाको रुपमा काम गर्ने, उर्जा निस्किसकेको लेदोलाई मलमा परिणत गर्ने योजना बनाइएको छ । हाललाई भने ढल निकालेर त्यसलाई साधारण मलमा प्रयोग गर्ने काम भएको छ भने अब यसलाई पनि उर्जामा परिणत गरेर अबको पाँच वर्ष भित्रमा यो काम सम्पन्न गर्ने नगर प्रमुख थापाले प्रतिबद्धता जनाउनुभएको छ ।
शौचालयमा किटाणु मार्नका लागि रसायन पदार्थ प्रयोग गर्ने गरिन्छ । रसायनको प्रयोगले किटाणु मरेपछि उर्जा उत्पादन नहुने भएकाले यस सम्बन्धमा प्राबिधिक संग वैकल्पिक व्यवस्थाको खोजीका लागि छलफल र सल्लाह भइरहेको नगर प्रमुख थापाले बताउनुभयो । यसरी घरबाट निस्कने मलमुत्रलाई व्यवस्थापन गरेर वैकल्पिक उर्जा निकालेर विद्युत्को उपयोग गर्न सकिन्छ । अर्कोतर्फ खेतबारीमा मलको व्यवस्थापन गर्न सकिन्छ ।
यस क्षेत्रको एकमात्र पवित्र धार्मिक, साँस्कृतिक र पर्यटकीय कालीगण्डकी नदी, यहाँ रहेका खोलानालालाई प्रदुषण हुनबाट जोगाउन रामपुरमा ढलबिनाको शहरको अवधारणा ल्याइएको हो । यहाँबाट दैनिक निस्कने मलमुत्रले नदीनाला प्रदुषण हुनबाट जोगिने छ भने सो मलमुत्रलाई प्रशोधन गरी वैकल्पिक उर्जा, खेतबारीमा प्रयोग गर्ने मलको रुपमा काम गर्न सकिन्छ । यसले नगर सफा, स्वच्छ र सुन्दर बन्नेछ भने एउटा कामबाट नगरवासीले धेरै फाइदा लिन पाउनेछन् । अहिलेलाई नगरपालिकाले घरमा भरिएका सेफ्टी ट्याङ्कीका मलमुत्र मेसिनको सहायताले भ्याकुमबाट तानेर नगरले व्यवस्थापन गरिरहेको छ । भ्याकुमबाट तानिएको सो मलमुत्रलाई घरधनीले आफ्नो खेतबारीमा प्रयोग गर्न पनि सक्दछन् ।
कसैको घरमा सेफ्टी ट्याङ्की भरिएको खण्डमा घरधनीले नगरपालिकामा निवेदन पेश गरी भ्याकुम लगाएर निश्चित शुुल्कमा तानेर व्यवस्थापन गर्ने काम भएको छ । भ्याकुमले फिटेर तान्ने कार्यले केही हदसम्म मलमुत्र प्रशोधन भएको नगरपालिकाले जनाएको छ । उर्जा उत्पादनका लागि नगरपालिकाले वडा नं ४ को बरडाँडा क्षेत्रमा करिव २० रोपनी जग्गा व्यवस्थापन गरिसकेको छ । सो जग्गामा नगरका सबै घरबाट निस्कने मलमुत्रलाई सङ्कलन गरेर एकिकृत रुपमा वैकल्पिक उर्जा निकाल्ने नगरको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय