रामपुर (पाल्पा), माघ २२
रामपुर नगर गौशालामा आउँदो फागुन ९ देखि १५ गते सम्म ‘श्रीमद्भागवत कथा प्रवचन–२०७९’ हुने भएको छ । छाडा गाईहरुको व्यवस्थापन संगै संरक्षणका लागि स्थापना भएको गौशालाको दिगो सञ्चालन तथा प्रचार प्रसारका लागि रामपुर नगरपालिका ६ तातोपानी धाममा सप्ताह सञ्चालन गर्न लागेको हो । नगर गौशाला समितिले पत्रकार सम्मेलन गरी ‘श्रीमद्भागवत कथा प्रवचन–२०७९’ को बारेमा जानकारी गराएको छ । ‘श्रीमद्भागवत कथा प्रवचन–२०७९’ को बारेमा जानकारी गराउँदै नगर गौशाला समितिका अध्यक्ष हुमनाथ न्यौपानेले गौशालाको दिगोपनका लागि सप्ताहव्यापी प्रवचन गर्न लागिएको बताउनुभयो । “आर्थिक स्रोत जुटाउने मात्र हाम्रो लक्ष्य होईन, सर्वसाधारण तथा भक्तजनहरुलाई गौशाला सम्म पुग्ने वातावरण बनाउनका लागि तेस्रो वार्षिकउत्सवको अवसरमा प्रवचन कार्यक्रम गर्न लागिएको हो ।” अध्यक्ष न्यौपानेले भन्नुभयो ।
गौशालाको दिगो सञ्चालनका लागि सबैमा साथ, सहयोग र शुभेच्छाका लागि उत्प्रेरित गर्न कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । सात दिनसम्म सञ्चालन हुने प्रवचनमा पछिल्लो समय चर्चामा रहनु भएका प्रखर वाचिका भागवत मन्जरी पुज्य श्री राधिका दासीको मुखारविन्दबाट कथाबाचन हुनेछ । महायज्ञहरुमा दानको लागि रकम नतोकिएको र स्वेच्छाले दान गर्ने दाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । दान बाट संकलन भएको रकममध्ये खर्च कटाएर बचेको रकमको ७५ प्रतिशत अक्षयकोष स्थापनाका लागि र २५ प्रतिशत गौशालाको दैनिक खर्चमा प्रयोग गरिने छ । गौशाला सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न लागिएको छ । कथा प्रवचनको लागि अहिले तयारीका कामहरु भइरहेको छ । एक सय एक सदस्यीय मूल आयोजक समिति र १५ वटा उपसमितिले आफ्नो कार्यलाई अघि बढाएको छ । फागुन ९ गते विहान बुद्धपार्कबाट कलश यात्रा सहित दिउँसो १ बजे प्रवचन शुभारम्भ हुनेछ । कथा प्रवचन अवधिभर विहान ७ बजे देखि १० बजेसम्म पाठपारायण, दिउँसो १ देखि ४ बजेसम्म प्रवचन र साँझ साढे ७ देखि १० सम्म भजनकृत हुने जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला सदस्य दुर्गेश मल्लले गौशालाले गाईको संरक्षण संगै धार्मिक पर्यटनमा ठूलो योगदान दिएको बताउनुभयो । गौशालाको दिगोपनका लागि सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताउनुभयो । नगर गौशाला समितिका सचिव बासुदेव ढकालले रामपुरमा सञ्चालन भएको गौशाला गण्डकीवेशी क्षेत्रकै व्यवस्थित गौशाला भएको दावी गर्नुभयो । कार्यक्रमको सञ्चलन सचिव ढकालले गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय