latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पोखरा, माघ ८

मातृसेवा प्रतिष्ठान नेपालले गरिब तथा जेहेनदार विद्यार्थीको लागि विभिन्न नाममा छात्रवृत्ति वितरण गरेको छ ।

पाल्पाली समाज पोखराको व्यवस्थापनमा शनिबार पोखरामा आयोजित कार्यक्रममा समता शिक्षा निकेतन र आनन्दज्योति माविका करिब २ सय जना विद्यार्थीलाई करिब १२ लाख रुपैयाँ छात्रवृत्ति रकम वितरण गरियो ।

कुनै पनि दाताको सहयोगबिनै प्रतिष्ठानले प्राविधिक विषय अध्ययनका लागि निरन्तर छात्रवृत्ति वितरण गर्दै आएकोमा यसपालि समता शिक्षा निकेतनका १ सय ९२ र आनन्दज्योति माविमा जेटिए अध्ययनरत १० विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको पूर्व मन्त्री एवं प्रतिष्ठानका संस्थापक अध्यक्ष हरि पाण्डेले जानकारी दिए । प्रतिष्ठानले यसअघि विभिन्न नाममा देशभरका गरी ६ सय २५ जना विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्ति वितरण गरिसकेको पाण्डेले बताए ।

यसपालि समताका कक्षा नर्सरीदेखि ९ सम्मका गरी प्रतिविद्यार्थी ४ हजार र व्यवस्थापन खर्च १५ सय गरी कुल ५ हजार ५ सय र आनन्दज्योतिका जेटिए पढ्ने प्रतिविद्यार्थीले १५ हजार रुपैयाँ प्राप्त गरेका हुन् ।

छात्रवृत्ति रकम वितरण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शिक्षा र स्वास्थ्य निशुल्क गर्ने राज्यको नीति नै भएकोले गण्डकी प्रदेश सरकारले पनि यस अभियानलाई अघि बढाउन सहयोग गर्ने बताए । उनले सधैंभर माता, पिता र गुरुको सम्मान गर्नुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष छत्रधर आत्रेय, पाल्पाली समाज पोखराका अध्यक्ष रेशम रचक, समाजका पूर्व अध्यक्ष कुलप्रसाद घिमिरे लगायतले मातृसेवा प्रतिष्ठानको कार्यको प्रशंसा गरेका थिए ।

प्रतिष्ठान उपाध्यक्ष तुलसा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यक्रम संयोजक खेम सारु र स्वागत समाजका पूर्व अध्यक्ष कुलप्रसाद घिमिरेले गरेका थिए । पोखराको समतामा हाल १ हजार बढी विद्यार्थी रहेकोमा छात्रवृत्ति रकमले विद्यार्थीलाई पठनपाठनमा सहयोग मिल्ने समता स्कुलका प्राचार्य झलकप्रसाद पौडेलले बताए । कार्यक्रममा समता स्कुलका संस्थापक उत्तम सञ्जेलको पनि उपस्थिति थियो ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष समाजसेवी हरि पाण्डेले छात्रवृत्तिको सदुपयोग गरी स्वास्थ्य, विचार र सम्पत्तिलाई जोड दिंदै राष्ट्रको लागि योग्य नागरिक बन्न विद्यार्थीलाई सुझाए । २०३५ सालमा पहिलोपल्ट पोखरा प्रवेश गरेको स्मरण गर्दै उनले आफू अहिलेको अवस्थामा आइपुग्न कही न कही समाजको भूमिका रहेको भन्दै छात्रवृत्ति वितरण अभियानलाई निरन्तरता दिएको बताए । यसअघि उनले जन्मभूमि पाल्पामा रम्भादेवी छात्रवृत्ति र कास्कीमा कर्मभूमि छात्रवृत्ति प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय