लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ ।

आज बसेको प्रदेशसभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम मुख्यमन्त्रीले विश्वासको लिँदा उहाँको पक्षमा ५७ मत परेको छ । यस्तै विश्वासको मतको विपक्षमा २८ मत परेको छ । आठ राजनीतिक दल र दुई स्वतन्त्र सदस्य गरी ५७ जनाले पक्षमा मतदान गरेका हुन् ।

मुख्यमन्त्री गिरीको पक्षमा नेकपा (एमाले) २९, नेकपा (माओवादी केन्द्र)का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका चार–चार, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीका तीन–तीन, नेकपा (एकीकृत समाजवादी)का एक र दुई स्वतन्त्र सदस्यसहित ५८ जना हुनुहुन्थ्यो । माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराको आमाको निधन भएपछि उहाँ मतदानमा उपस्थित हुन सक्नुभएन ।

सरकार गठनमा पक्षमा नरहेको एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य भगवती घिमिरेले विश्वासको मत भने मुख्यमन्त्री लीला गिरीलाई दिनुभएको छ ।

सभामुख र उपसभामुख निर्वाचनमा समर्थन गरेका नेपाली कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा मुख्यमन्त्रीलाई विश्वासको मतमा भने विपक्षमा उभिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय