latest
जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||    सर्वोच्चको अन्तरिम आदेशः माथागढी–१ का वडाध्यक्ष राजकुमार पन्थी पुनः कामकाजमा  ||   
सोमबार , असार २२, २०८३

पाल्पा। तानसेन नगरपालिका–६ ले जेष्ठ नागरिक तथा विभिन्न लक्षित वर्गप्रति सम्मान व्यक्त गर्दै ४ सय १९ जनालाई सम्मान गरेको छ। सामाजिक सद्भाव, पुस्तान्तरण तथा समुदायबीचको सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, विधवा, एकल महिला, अपाङ्गता भएका व्यक्ति (क, ख र ग वर्ग) तथा दीर्घरोगीलाई सम्मान गरिएको हो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा पुरानो पुस्ताका अनुभव र जीवनका सिकाइ नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने अन्तरपुस्ता संवाद आयोजना गरिएको थियो। सम्मानित व्यक्तित्वहरू पूर्णमाया महर्जन, टिकाराम बस्याल, रेवती विष्ट तथा द्वारिका प्रसाद नेपालले आफ्ना जीवनका संघर्ष, अनुभव, समाज रूपान्तरणका कथा तथा विगत र वर्तमान पुस्ताबीचको सोचमा आएको परिवर्तनबारे अनुभव सुनाउनुभयो। उहाँहरूले अनुशासन, इमानदारी, श्रम र सामाजिक उत्तरदायित्वजस्ता मूल्यहरू आधुनिक पुस्ताले पनि आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले वडा नं. ६ ले जेष्ठ नागरिक तथा संरक्षणको आवश्यकता भएका वर्गलाई सम्मान गर्दै उदाहरणीय कार्यक्रम सञ्चालन गरेको बताउनुभयो। उहाँले जेष्ठ नागरिकलाई समाजका जीवित इतिहासको रूपमा चित्रण गर्दै उनीहरूको अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। साथै स्थानीय सरकारले सामाजिक सुरक्षा तथा सम्मानका कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा वडा नं. ६ का अध्यक्ष सागरमान महर्जनले वडाले हरेक वर्ष जेष्ठ नागरिक तथा लक्षित वर्गलाई सम्मान गर्ने परम्परा कायम राख्दै आएको जानकारी दिनुभयो। सम्मान कार्यक्रम औपचारिकतामा मात्र सीमित नभई समाजमा योगदान पुर्‍याएका व्यक्तिप्रति कृतज्ञता व्यक्त गर्ने अवसर भएको उहाँको भनाइ थियो। आगामी वर्षमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र सहभागितामूलक बनाइने उहाँले बताउनुभयो।

तानसेन नगरपालिकाका सामाजिक शाखा प्रमुख कौशलराज घिमिरेले वडा नं. ६ सामाजिक उत्तरदायित्वका क्षेत्रमा सधैँ अग्रणी रहेको उल्लेख गर्दै स्थानीय तहले सामाजिक समावेशीकरण र मानवकेन्द्रित विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा वडा सदस्य गोमा गैरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहजकर्ता गोकुल थापाले विद्युतीय सामग्रीको सुरक्षित प्रयोग, यसको उपयोगिता, सम्भावना तथा अपनाउनुपर्ने सावधानीबारे जानकारीमूलक अनुशिक्षण दिनुभएको थियो। बढ्दो विद्युतीय उपकरणको प्रयोगसँगै सुरक्षा सचेतना पनि उत्तिकै आवश्यक रहेको उहाँले बताउनुभयो।

कार्यक्रमको सांगीतिक आकर्षणका रूपमा जय प्रकाश उप्रेतीको भजन टोलीले करिब तीन घण्टासम्म भजन–कीर्तन प्रस्तुत गरेको थियो। सुमधुर भजन, धार्मिक वातावरण तथा हास्यव्यङ्ग्य मिश्रित प्रस्तुतिले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो। सहभागी जेष्ठ नागरिकहरू भजनको तालमा रमाउँदै नाचेका थिए भने धेरैले लामो समयपछि यति आत्मीय वातावरणमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरेका थिए।

वडा सचिव विशाल ओलीले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा सदस्यहरू रेखा विष्ट, दीर्घसिंह थापा, सस्मिता गहतराज, कार्यपालिका सदस्य दिनेश गन्धर्व, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको समापनमा सम्मानित सबै ४१९ जनालाई पाँच लिटर क्षमताको विद्युतीय किटली वितरण गरिएको थियो। सम्मानसँगै दैनिक जीवनमा उपयोगी सामग्री प्रदान गरिएकाले सहभागीहरूले वडा कार्यालयप्रति आभार व्यक्त गरेका थिए। स्थानीयवासीहरूले वडा नं. ६ को यस सामाजिक तथा मानवीय पहलले जेष्ठ नागरिक तथा लक्षित वर्गप्रति सम्मानको भावना अभिवृद्धि गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय