पाल्पा। शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल, पाल्पाले कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई प्रदान गरेको छ ।
स्वर्गीय कमलराज रेग्मीको स्मृतिमा वरिष्ठ मुटुरोग विशेषज्ञ तथा प्रतिष्ठानका संरक्षक डा. प्रकाशराज रेग्मीले स्थापना गर्नुभएको उक्त पुरस्कार शाक्यलाई प्रदान गरिएको हो ।



प्रमुख अतिथि खनालले पानसमा दीप प्रज्वलन गरी तथा स्वर्गीय कमलराज रेग्मीको तस्बिरमा माल्यार्पण गर्दै समारोहको उद्घाटन गर्नुभएको थियो। कलाकार तथा गायक बुद्धरत्न शाक्यले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो भने पुरस्कार छनोट समितिका सदस्य भोजराज भट्टराईले पुरस्कार छनोटका आधारहरू प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा कवि प्रेमराज खरालले कमलराज रेग्मीद्वारा वि.सं. २००७ सालमा रचित कविता वाचन गर्नुभएको थियो भने कवि तेजनारायण ढकालले ‘कमलराज रेग्मी’ शीर्षक कविता प्रस्तुत गर्नुभएको थियो। साहित्यकार रामप्रसाद अर्यालले स्वर्गीय कमलराज रेग्मीको व्यक्तित्व र योगदानमाथि प्रकाश पार्नुभएको थियो भने शिक्षाविद् बुद्धिप्रसाद शर्माले पुरस्कृत व्यक्तित्व दिलबहादुर शाक्यको शिक्षा क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो।
त्यसपछि प्रमुख अतिथि टंकनाथ खनाल, पुरस्कारदाता डा. प्रकाशराज रेग्मी तथा अध्यक्ष पुष्कर अथक रेग्मीले संयुक्त रूपमा शिक्षाविद् दिलबहादुर शाक्यलाई टीकामाला, सम्मानपत्र, दोसल्ला तथा नगद रु. ५१ हजार सहित कमल राष्ट्रिय सुकर्म पुरस्कार समर्पण गर्नुभएको थियो।
यसअघि उक्त पुरस्कारबाट साहित्यकार झपेन्द्र जिसी, वैद्यराज विश्वमान बज्राचार्य, समाजसेवी राधा भारती, कलाकार अशोक आर्ट, शिक्षाविद् बुद्धिप्रसाद शर्मा, युनाइटेड मिसन अस्पतालकी प्रमुख डा. रचेल कार्ख तथा साहित्यकार–पत्रकार मोहन दुवाल सम्मानित भइसकेका छन्।
समारोहमा तानसेन नगर कार्यपालिका सदस्य सविता भट्टराई, बुद्धिजीवी बासुदेव अर्याल, नेपाल पत्रकार महासंघ पाल्पाका उपसभापति मुक्ति न्यौपाने तथा तानसेन–३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
पुरस्कृत व्यक्तित्व दिलबहादुर शाक्यले आफूलाई यस सम्मानका लागि छनोट गरेकोमा प्रतिष्ठान, पुरस्कारदाता तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गर्दै यस सम्मानले शिक्षा सेवामा अझ समर्पित भएर काम गर्ने प्रेरणा दिएको बताउनुभयो।
पुरस्कारदाता तथा प्रतिष्ठानका संरक्षक डा. प्रकाशराज रेग्मीले पुरस्कारलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिँदै पाल्पाको शिक्षा र स्वास्थ्य क्षेत्रमा सक्दो योगदान पुर्याइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रमुख अतिथि टंकनाथ खनालले स्वर्गीय कमलराज रेग्मीको शिक्षा, साहित्य र समाजप्रतिको योगदानको स्मरण गर्दै प्रतिष्ठानले निरन्तर सञ्चालन गर्दै आएका सिर्जनात्मक र सामाजिक कार्यको प्रशंसा गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि, अतिथि, समीक्षक, कवि तथा कलाकारलाई प्रतिष्ठानका संरक्षक र अध्यक्षबाट मायाको चिनो प्रदान गरिएको थियो। अन्त्यमा अध्यक्ष पुष्कर अथक रेग्मीले धन्यवाद गर्नुभयो।प्रतिष्ठानका महासचिव चन्द्रकान्त न्यौपानेको सञ्चालन तथा साहित्यकार पुष्कर अथक रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल प्रमुख अतिथि रहनुभएको थियो। पुरस्कारदाता तथा प्रतिष्ठानका संरक्षक डा. प्रकाशराज रेग्मी, शिक्षाविद् बुद्धिप्रसाद शर्मा, साहित्यकार रामप्रसाद अर्याल, सल्लाहकार बाबुराम कार्की, पुरस्कृत व्यक्तित्व दिलबहादुर शाक्यलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। राष्ट्रिय गानपछि प्रतिष्ठानका उपाध्यक्ष रोहित ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।









