latest
उत्पादनका आधारमा अनुदान, यान्त्रीकरण र व्यावसायिक खेतीले फेरिँदै माथागढीको कृषि  ||    लिफ्ट खानेपानी योजनाले फेरियो माथागढीका डाँडाबस्तीको दैनिकी  ||    माथागढीको नौ वर्षमा सडक, पुल र सिंचाइ पूर्वाधारले फेरियो गाउँको मुहार  ||    माथागढीमा स्वास्थ्य सेवाको फड्को : घरदैलोमै आधुनिक उपचार, नागरिकमा बढ्यो स्वास्थ्य चेतना  ||    तानसेन–१२ मा नवनिर्मित वडा कार्यालय भवन समुद्घाटन, जनसेवा थप प्रभावकारी हुने विश्वास  ||    रम्भाले एआईमा आधारित ‘स्मार्ट ग्रामीण पालिका’ निर्माणदेखि सडक स्तरोन्नति  ||    तिनाउ गाउँपालिकाद्वारा सामुदायिक विद्यालयमा स्मार्ट बोर्डदेखि डिजिटल सामग्री वितरण  ||    बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारीमा माथागढी  ||   
आइतबार , असार १४, २०८३

माथागढी (पाल्पा)

कुनै समय वर्षायाम सुरु हुनेबित्तिकै पाल्पाको माथागढी गाउँपालिकाका बासिन्दाको मनमा त्रास छाउँथ्यो। आकाशबाट पानी पर्न थालेपछि गाउँका सडक हिलाम्मे बन्थे, बर्खे खोलाहरू उर्लिन्थे र एउटा गाउँ अर्को गाउँबाट पूर्ण रूपमा विच्छेद हुन्थ्यो। सामान्य बिरामी पर्दासमेत अस्पताल पुर्‍याउन डोको वा खलातीको भर पर्नुपर्ने बाध्यता थियो भने विद्यार्थीहरू हिलो, उकालो–ओरालो र उर्लिएका खोल्सा तर्दै जोखिम मोलेर विद्यालय पुग्न बाध्य थिए।

तर स्थानीय सरकार गठनपछि बितेका नौ वर्षमा माथागढीले यो अवस्था परिवर्तन गर्दै विकासको नयाँ अध्याय लेखेको छ। धुलाम्मे र हिलाम्मे सडकहरू अहिले कालोपत्रे, ग्राभेल र ढलानमा रूपान्तरण भएका छन् भने सडक, पुल, भवन र सिंचाइ पूर्वाधारमा गरिएको उल्लेखनीय लगानीले गाउँको मुहार नै फेरिएको छ।

आर्थिक वर्ष २०७४/७५ देखि २०८१/८२ सम्म गाउँपालिकाले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक सञ्जाल विस्तारमा ठूलो उपलब्धि हासिल गरेको छ। गाउँपालिका अध्यक्ष यम बहादुर चिदीका अनुसार योजनाबद्ध रूपमा गरिएको लगानीको प्रतिफल अहिले तथ्याङ्क र स्थानीयको जीवनशैली दुवैमा स्पष्ट देखिन थालेको छ।

गाउँपालिकाको आफ्नै लगानीमा नौ वर्षको अवधिमा ९ किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरिएको छ। यसले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती खेप्दै यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता अन्त्य गरेको छ। माथागढी–३ कसेनीका स्थानीय नारायणप्रसाद अधिकारी भन्छन्, “पहिले हिँड्नै मुस्किल हुने बाटो अहिले घरअगाडि नै कालोपत्रे भएको छ। गाउँमै गाडी चल्न थालेपछि यात्रा निकै सहज भएको छ।”

कालोपत्रेसँगै ग्रामीण सडकको स्तरोन्नतिलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ। नौ वर्षमा ५१ किलोमिटर सडक ग्राभेल गरिएको छ, जसका कारण अधिकांश सडक बाह्रै महिना सञ्चालनयोग्य बनेका छन्। त्यस्तै उकालो, घुम्ती तथा जोखिमयुक्त स्थानमा साढे चार किलोमिटरभन्दा बढी सडक आरसीसी ढलान गरिएको छ। वडा नं. २ का वडाध्यक्ष बोमबहादुर ठाडाका अनुसार ढलान सडकले ग्रामीण क्षेत्रमा सुरक्षित र सहज यातायात सुनिश्चित गरेको छ।

२०७४ सालअघि गाउँपालिकाको केन्द्र झडेवासम्म पुग्न र एक गाउँबाट अर्को गाउँ जानसमेत निकै कठिन थियो। यही अवस्थालाई अन्त्य गर्न गाउँपालिकाले दुर्गम बस्तीहरूमा सडक विस्तार अभियान सञ्चालन गर्‍यो। पूर्वाधार शाखा प्रमुख धर्मेन्द्र यादवका अनुसार नौ वर्षमा १०५ किलोमिटर नयाँ सडक ट्र्याक खोलिएको छ, जसले पहिलो पटक अधिकांश गाउँलाई सडक सञ्जालसँग जोडेको छ।

सडकसँगै पुल निर्माणलाई पनि प्राथमिकता दिइएको छ। पालिकाभित्र झोलुङ्गे पुल, मोटरेबल पुल र कल्भर्ट गरी ५० भन्दा बढी संरचना निर्माण भएका छन्। यसले वर्षायाममा हुने आवागमन अवरोध हटाउँदै सुरक्षित यातायातको आधार तयार गरेको छ।

पूर्वाधार विस्तारसँगै स्थानीयको आर्थिक गतिविधिमा पनि सकारात्मक परिवर्तन आएको छ। विगतमा सडक अभावका कारण किसानले उत्पादन गरेको तरकारी, दूध तथा अन्न बजारसम्म पुर्‍याउन नसकी गाउँमै नष्ट हुने अवस्था थियो। अहिले घरदैलोमै सडक पुगेपछि कृषकले आफ्ना उत्पादन सहज रूपमा बजार पुर्‍याएर आम्दानी बढाउन थालेका छन्।

स्थानीय ज्ञानबहादुर जिसी भन्छन्, “पहिले वर्षायाममा खोल्सा तर्न निकै जोखिम हुन्थ्यो। बालबालिका विद्यालय जान डराउँथे, बिरामीलाई अस्पताल पुर्‍याउन निकै कठिन थियो। अहिले पुल र सडक बनेपछि यातायात सुरक्षित भएको छ र गाउँको जीवनशैली नै बदलिएको छ।”

गाउँपालिकाले कृषि क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै सिंचाइ पूर्वाधार विस्तारमा उल्लेखनीय लगानी गरेको छ। २०७४ देखि २०८२ सालसम्म १६ किलोमिटर पक्की कुलो निर्माण गरिएको छ। यसबाट कृषकको आकासे पानीमा निर्भरता घट्दै गएको छ भने व्यावसायिक खेतीतर्फ आकर्षण बढेको छ।

भौगोलिक रूपमा विकट मानिने माथागढी आज क्रमशः सुगम र समृद्ध बन्दै गएको छ। जनप्रतिनिधिको दृढ इच्छाशक्ति, कर्मचारीको प्राविधिक सहयोग र स्थानीय बासिन्दाको सक्रिय सहभागिताले नौ वर्षको अवधिमा गाउँपालिकाले सडक, पुल, सिंचाइ तथा अन्य भौतिक पूर्वाधारमा बलियो आधार तयार गरेको छ। यी विकासका उपलब्धिले नागरिकको दैनिक जीवन सहज बनाउनुका साथै माथागढीलाई समृद्ध गाउँ निर्माणतर्फ अग्रसर गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय