latest
एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||    रास्वपा पाल्पाको प्रथम जिल्ला अधिवेशनबाट भण्डारी पूनः अध्यक्षमा निर्वाचित  ||   
सोमबार , असार ८, २०८३

तानसेनको १९औँ नगरसभा

तानसेन, असार ८ — तानसेन नगरपालिकाको १९औँ नगरसभा सुरु भएको छ। नगरसभाको पहिलो बैठकमा सभाध्यक्ष एवं नगर प्रमुख सन्तोषलाल श्रेष्ठले चालु आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएका प्रमुख कार्यहरूको प्रगति विवरण प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सभामा पेश गरेका छन्। प्रस्तुत नीति तथा कार्यक्रम नगरसभाको बहुमतबाट पारित भएको छ।

नगरप्रमुख श्रेष्ठले आगामी वर्षको नीति तथा कार्यक्रममा स्थानीय आर्थिक विकास, पर्यटन प्रवर्द्धन, उद्योग–व्यापार तथा रोजगारी सिर्जना, कृषि तथा पशुपालन, सहकारी, स्थानीय कृषि उपजको बजार व्यवस्थापन, स्वास्थ्य, शिक्षा, स्वच्छ खानेपानी, फोहोरमैला व्यवस्थापन र समग्र सामाजिक विकासलाई प्राथमिकतामा राखिएको बताए । उनले एचअाइभी सङक्रमितहरूलाइ मासिक ५ सय रूपैयाँ प्रदान गरिने बताए ।

कृषि क्षेत्रलाई थप व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यसहित तानसेनलाई मासु, दूध, अण्डा र तरकारीमा आत्मनिर्भर नगरपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ। दूध उत्पादक कृषकलाई प्रतिलिटर तीन रुपैयाँ अनुदान उपलब्ध गराइने तथा बाँझो जमिनमा उत्पादनमूलक खेती गर्न प्रतिरोपनी पाँच हजार रुपैयाँ अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

यसैगरी वडा नं. ७ स्थित शीतभण्डार सञ्चालनमा ल्याइने तथा वडा नं. ५ को गोदामघरमा अदुवाको बीउ भण्डारण गर्ने कृषकलाई प्रतिकेजी ५० रुपैयाँ अनुदान उपलब्ध गराइने व्यवस्था गरिएको नगरप्रमुख श्रेष्ठले बताए।

हेफर प्रोजेक्ट नेपालको साझेदारीमा ‘तानसेन आर्थिक विकास’ परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने नीति लिइएको छ। साथै तानसेनका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा, श्रीनगर, गुफाचौर, पाल्पा दरबार क्षेत्र, रानीमहल, ऋषिकेश–रुरु क्षेत्र तथा रणउजिरेश्वरी भगवती मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन आवश्यक पहल र समन्वय गरिने उल्लेख गरिएको छ।

नगरको मौलिक संस्कृति संरक्षणका लागि पाल्पाका ऐतिहासिक जात्राहरूको संरक्षण गर्दै परम्परागत शैलीमा घर निर्माण गर्ने नागरिकलाई विशेष प्रोत्साहन गरिने नीति पनि समावेश गरिएको छ।

पर्यटन पूर्वाधार विस्तारअन्तर्गत रिडीस्थित तीनमुखे पुलमा लाइटिङ तथा सौन्दर्यकरणका लागि बजेट सुनिश्चित गरिएको छ। प्रभास कमलपोखरी, सूर्यकुण्ड र अर्गली–कुडापानी क्षेत्रलाई ऐतिहासिक तथा धार्मिक महत्वसँग जोडेर विशेष पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सम्बन्धित निकायसँग सहकार्य गरिने नीति लिइएको छ।

युवाहरूलाई स्वरोजगार र उद्यमशीलतासँग जोड्न इन्स्योर परियोजनाको सहकार्यमा कुक, प्लम्बिङ, इलेक्ट्रिसियन तथा कम्प्युटर हार्डवेयर/नेटवर्किङलगायत सीपमूलक तालिम सञ्चालन गरिने कार्यक्रम पनि समावेश गरिएको छ। विद्यालय तहमा प्राविधिक शिक्षा तथा ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।

स्वास्थ्य तथा सामाजिक सुरक्षातर्फ एचआईभी सङ्क्रमितलाई मासिक ५०० रुपैयाँ औषधि उपचार सहायता उपलब्ध गराइने, प्रत्येक वडामा हरित पार्क र खुला व्यायामशाला निर्माण गरिने, करदाता शिक्षा विस्तारसँगै विद्युतीय राजस्व सङ्कलन प्रणाली अनिवार्य बनाइ डिजिटल भुक्तानीलाई प्रोत्साहन गरिने तथा ‘जनताको घरदैलोमा मेयर’ कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

नगरसभाको शून्य समयमा सदस्यहरू डिलबहादुर थापा, कमलबहादुर दर्लामी, राधिका थापा, यमबहादुर कार्की, करणबहादुर रेश्मी, माधवप्रसाद बस्याल र सीता बस्नेतले विभिन्न विषयमा धारणा राख्दै सुझाव प्रस्तुत गरेका थिए।

नगरसभाको अर्को बैठक आगामी असार ९ गते बस्ने गरी पहिलो बैठक सम्पन्न भएको नगरसभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय