latest
शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||    रास्वपा पाल्पाको प्रथम जिल्ला अधिवेशनबाट भण्डारी पूनः अध्यक्षमा निर्वाचित  ||    रास्वपा पाल्पाको अध्यक्षमा भण्डारी–गैरैबीच प्रतिस्पर्धा !  ||   
आइतबार , असार ७, २०८३

काठमाडौं । शीत काव्य समाज नेपालले शीत परिकल्पनाको छैटौं स्थापना दिवस पुरस्कार समर्पण, सम्मान अर्पण, कृति विमोचन, शीत वाचन तथा लेखनलगायत विविध साहित्यिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता प्रथम शीत ईश्वर कृष्णबहादुर के.सी.ले गरेका थिए भने साहित्यकार राजेन्द्र गोपाल सिंह प्रमुख अतिथि रहेका थिए। शीत परिकल्पनाकार पुष्कर अथक रेग्मी, साहित्यकार तथा ‘जुलुस’ कृतिका लेखक लव जोशी, प्रा. डा. कमल गौतम, प्रकाश कोइराला, दुर्गा अधिकारी भमरकोटे र दीर्घबहादुर चन्द विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमअघि शीत काव्य समाज नेपालको केन्द्रीय कार्यालयको उद्घाटन शीत परिकल्पनाकार पुष्कर अथक रेग्मीले गरेका थिए। त्यसपछि प्रमुख अतिथि, अध्यक्ष, परिकल्पनाकार तथा लेखकको उपस्थितिमा साहित्यकार लव जोशीद्वारा लिखित ‘जुलुस’ कृतिको विमोचन गरिएको थियो। सोही अवसरमा शीत काव्य समाज नेपालको लोगो अंकित टी–सर्ट पनि लोकार्पण गरिएको थियो।

कार्यक्रममा समीक्षक चन्द्रा न्यौपानेले ‘जुलुस’ कृतिमाथि समीक्षा प्रस्तुत गरेकी थिइन्। राष्ट्रिय गान, शीत स्वागत गान, राष्ट्रिय गीत तथा शीत गानमार्फत कार्यक्रमलाई सांगीतिक वातावरण प्रदान गरिएको थियो। कलाकार विष्णु गुरुङ, सरस्वती अर्याल तथा बुढानिलकण्ठ कलेजका विद्यार्थीहरूको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

स्थापना दिवसका अवसरमा शीतकर्ण–शिवकुमारी पुरस्कारबाट के.पी. सत्यनारायण ढकाल, भोजभक्त कँडेल तथा विमला ढकाल ‘समीक्षा’ सम्मानित भए। त्यस्तै शीत सम्मानबाट साहित्यकार तथा लेखक लव जोशी, भाषा सम्पादक शिव शर्मा, संगीतकार तथा गायक विष्णु गुरुङ, गायिका सुशीला ढकाल अधिकारी, सरस्वती अर्याल, दिपा दियाली तथा शीत तीज गीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी अम्बिका आचार्यलाई सम्मान गरिएको थियो।

कार्यक्रममा गोपालबहादुर महत, राजु सापकोटा, द्वारिका कुइँकेल, ध्रुव गजुरेल, डा. सीता बिष्ट कार्की, मुरलीप्रसाद ढकाल, शारदा ज्ञवाली ढकाल, इन्दिरा ज्ञवाली पौडेल, भोजभक्त कँडेल, दीर्घबहादुर चन्द, दुर्गा अधिकारी भमरकोटे, प्रकाश कोइराला र प्रा. डा. कमल गौतमलगायतले शीत सिर्जना वाचन तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

‘जुलुस’का लेखक लव जोशीले कृतिको सिर्जना प्रक्रिया र साहित्यिक यात्राबारे आफ्नो अनुभव सुनाएका थिए भने शीत परिकल्पनाकार पुष्कर अथक रेग्मीले शीत साहित्यको अवधारणा, यसको विकास र आगामी योजनाबारे प्रकाश पारे। प्रमुख अतिथि राजेन्द्र गोपाल सिंहले शीत साहित्यले नेपाली साहित्यमा नयाँ आयाम थपेको उल्लेख गर्दै यस्ता सिर्जनात्मक अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रमको सञ्चालन सातौं शीत ईश्वर दामोदर ढकाल ‘दीपक’ले गरेका थिए भने स्वागत मन्तव्य एघारौं शीत ईश्वर विमला ढकाल ‘समीक्षा’ले राखेकी थिइन्। अन्त्यमा अध्यक्ष कृष्णबहादुर के.सी.ले सहभागी सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।

कार्यक्रममा १०६ जनाको सहभागिता रहेको आयोजक शीत काव्य समाज नेपालले जनाएको छ। समापनसँगै सामूहिक शीत नृत्य, मायाको चिनो वितरण, खाजा तथा सामूहिक फोटो सेसन सम्पन्न गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय