latest
एसईईमा जफत ५ सय मोबाइल र स्मार्टवाच पानीमा डुबाएर नष्ट, एक करोडभन्दा बढीको क्षति !  ||    दैनिक ‘Xtreme’ इनर्जी ड्रिंक पिउँदै हुनुहुन्छ? निम्त्याउन सक्छ यी घातक रोगहरू  ||    भगवान नै अलपत्रः ९ वर्षदेखि टहराभित्र थुनिए गणेश !  ||    रास्वपा तानसेन नगर कमिटीमा जीवन पाण्डेय निर्वाचित  ||    एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्नः निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने  ||    आवरणमा ‘परमपूज्य’, आचरणमा व्यापारी: तपाईं कसरी धार्मिक अनि धर्मगुरु ?  ||    ‘रजस्वला बोल्छ, समाज बदल्छ’ नारासहित पाल्पामा महिनावारी मेला  ||    स्वास्थ्य बीमा बोर्डका आकस्मिक सेवाबाहेक निजी स्वास्थ्य संस्थाबाट बीमा सेवाहरू स्थगित  ||   
शुक्रबार , जेठ २२, २०८३

सिरहा, असार ५ — माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा परीक्षार्थीबाट जफत गरिएका करिब पाँच सय मोबाइल फोन र स्मार्टवाच जिल्ला परीक्षा समन्वय समिति सिरहाले पानीमा डुबाएर नष्ट गरेको छ। बिहीबार जिल्ला प्रहरी कार्यालय सिरहाको प्राङ्गणमा जनप्रतिनिधि, शिक्षा क्षेत्रका अधिकारी तथा सञ्चारकर्मीहरूको उपस्थितिमा ती उपकरण नष्ट गरिएको हो।

समितिका अनुसार नष्ट गरिएका सामग्रीमा ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच रहेका छन्। ती उपकरणहरूको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ।

मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षा हलमा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गरिने घोषणा गरेकी थिइन्। सोही निर्देशन र परीक्षा सञ्चालन निर्देशिकाअनुसार जिल्ला परीक्षा समन्वय समितिले मोबाइल नष्ट गर्ने निर्णय गरेको जनाएको छ।

मोबाइल व्यवस्थापन तथा नष्ट गर्ने प्रक्रिया अघि बढाउन शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत राजदेव यादवको संयोजकत्वमा जिल्ला प्रशासन, प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि सम्मिलित पाँच सदस्यीय उपसमिति गठन गरिएको थियो।

प्रहरीका अनुसार अधिकांश मोबाइललाई २४ घण्टासम्म पानीले भरिएको ड्रममा डुबाएर नष्ट गरिएको थियो। वाटरप्रुफ मोबाइलहरू भने फुटाएर पानीमा हालिएको थियो। उपसमिति संयोजक यादवले पुनः प्रयोग गर्न नसकिने गरी उपकरण नष्ट गरिएको बताए।

जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेशकुमार पालले यो निर्णय प्रहरीको एकल नभई जिल्ला परीक्षा समन्वय समितिको भएको स्पष्ट पारे। “परीक्षा हलमा मोबाइल प्रयोग गर्न नपाइने विषयमा विद्यार्थीलाई पूर्वसूचना दिइएको थियो। यो पहिले नै गरिएको निर्णयको कार्यान्वयन मात्र हो,” उनले भने।

यता प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जफत मोबाइलहरू लिलामी गर्दा सुरक्षा तथा कानुनी जटिलता निम्तिन सक्ने तर्क गरे। उनका अनुसार प्रयोग भइसकेका आईएमईआई नम्बर भएका मोबाइल पुनः बजारमा पठाउँदा विभिन्न समस्या आउन सक्छन्। उनले कानुनमा एक लाख रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैदको व्यवस्था भए पनि विद्यार्थीको भविष्यलाई ध्यानमा राख्दै कडा कानुनी कारबाही नगरिएको बताए।

सामाजिक सञ्जालमा तीव्र आलोचना

मोबाइल नष्ट गरिएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको व्यापक आलोचना भइरहेको छ। धेरैले जरिवाना तिराएर मोबाइल फिर्ता दिनुपर्ने वा लिलामी गरेर प्राप्त रकम शिक्षा क्षेत्रमा खर्च गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अभिभावकले ठूलो मेहनत गरेर किनिदिएको मोबाइल नष्ट गर्नु मानवीय दृष्टिले उचित नभएको बताएका छन्। कतिपयले मोबाइलमा बैंकिङ एप, व्यक्तिगत विवरण र महत्वपूर्ण सूचना रहने भएकाले यस्तो कदमले गोपनीयताको प्रश्नसमेत उठाएको बताएका छन्।

फेसबुक प्रयोगकर्ता भण्डारी जीपीले “मोबाइल देशको सम्पत्ति भएकाले नष्ट गर्नुको सट्टा सदुपयोग गर्नुपर्थ्यो” भन्दै टिप्पणी गरेका छन्। हुमविष्णु थापाले “अर्काको सम्पत्ति नष्ट गर्ने अधिकार कसलाई छ?” भन्दै प्रश्न उठाएका छन्।

त्यस्तै, रामसेवक महरा, सिकन्दर यादव, रविन कुमार, सन्दीप साह, रुद्र प्रताप सिंह, अशोक यादवलगायतले मोबाइल लिलामी गर्ने, जरिवानासहित फिर्ता दिने वा चेतावनी दिएर छोड्ने विकल्प उपयुक्त हुने बताएका छन्।

हेम यादवले यसलाई “मूर्खतापूर्ण निर्णय” भन्दै आलोचना गरेका छन्। उनका अनुसार मोबाइल कुनै हतियार नभएकाले करोडौं मूल्य बराबरको सामग्री नष्ट गर्नु समाधान होइन।

बहसको विषय बन्यो निर्णय

परीक्षाको मर्यादा कायम राख्न कडा कदम आवश्यक रहेको तर्क एकातिर भए पनि अर्कोतर्फ करोडौं रुपैयाँ बराबरको सम्पत्ति नष्ट गर्नु उचित हो कि होइन भन्ने विषय अहिले सार्वजनिक बहसको केन्द्र बनेको छ। शिक्षा क्षेत्रमा अनुशासन कायम राख्ने नाममा गरिएको यो निर्णयले कानुनी, आर्थिक र नैतिक पक्षबारे नयाँ प्रश्नहरू खडा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय