भगवान नै अलपत्रः ९ वर्षदेखि टहराभित्र थुनिएको विशाल गणेश मूर्ति, तानसेनको धार्मिक पर्यटन सपना अधुरै
पाल्पा, तानसेन । धार्मिक पर्यटनको ठूलो सपना बोकेर करिब नौ वर्षअघि काठमाडौंबाट पाल्पा ल्याइएको विशाल गणेश भगवानको मूर्ति अहिले आफैं अलपत्र अवस्थामा पुगेको छ। तानसेन–१० को गुफाचउरमा स्थापना गर्ने लक्ष्यसहित ल्याइएको मूर्ति बजेट अभाव, व्यवस्थापन कमजोरी र योजनागत अन्योलका कारण हालसम्म स्थापना हुन नसकेको हो।



६ टन तौल, १८ फिट उचाइ र ८ फिट चौडाइ रहेको उक्त आकर्षक गणेश मूर्ति नेपालकै ठूला धार्मिक मूर्तिमध्ये एक मानिन्छ। धार्मिक आस्था र पर्यटन प्रवर्द्धनको महत्वाकांक्षी योजनाका रूपमा ल्याइएको मूर्ति अहिले भने तानसेन–१० तेल्घास्थित टिनको टहराभित्र थन्किएको अवस्थामा छ।
मूर्ति पाल्पा ल्याइएपछि सुरुमा तानसेनको टुँडिखेलमा राखेर ४५ दिनसम्म विशेष पूजा गरिएको थियो। त्यसपछि गुफाचउरमा स्थापना गर्ने योजना बनाइए पनि आवश्यक बजेट जुट्न नसक्दा मूर्ति निर्धारित स्थानसम्म पुर्याउन सकिएन। तीन वर्ष टुँडिखेलमा अलपत्र परेको मूर्ति पछिल्लो छ वर्षदेखि तेल्घामा थन्किएको छ।
सरोकारवालाहरूका अनुसार आर्थिक स्रोत अभावकै कारण मूर्ति गुफाचउरसम्म लैजान नसकिएको हो। निर्माण समितिका अध्यक्ष गोपाल श्रेष्ठको निधनपछि परियोजनाले थप अन्योलको अवस्था सामना गरेको बताइन्छ। यद्यपि यति ठूलो धार्मिक तथा पर्यटकीय परियोजना वर्षौंसम्म अलपत्र पर्नुलाई स्थानीयले गम्भीर लापरबाहीका रूपमा लिएका छन्।
गुफाचउर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित स्थापना गर्न लागिएको उक्त मूर्तिबाट हजारौं आन्तरिक तथा भारतीय पर्यटक भित्र्याउने अपेक्षा गरिएको थियो। तर लामो समयसम्म मूर्ति नै अलपत्र पर्दा न आवश्यक संरचना निर्माण भएको छ, न त परियोजनाले गति लिन सकेको छ। यसले पर्यटन प्रवर्द्धनको सम्भावित अवसरसमेत गुम्दै गएको देखिन्छ।
स्थानीय बासिन्दाहरूले भगवानको मूर्तिको यस्तो अवस्था हुँदा सम्बन्धित निकाय मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूको प्रश्न छ, “भगवानकै यस्तो हालत हुँदा पनि कसैलाई चासो छैन भने विकासका अन्य योजनाको अवस्था कस्तो होला ?”
धार्मिक आस्था, सांस्कृतिक पहिचान र पर्यटन विकाससँग प्रत्यक्ष जोडिएको यो परियोजना वर्षौंसम्म अलपत्र रहनुले जिम्मेवार निकायप्रति गम्भीर प्रश्न उठाएको छ।
अब प्रश्न उठेको छ—गणेश भगवान कहिलेसम्म टहराभित्र थुनिएर बस्ने ? सम्बन्धित निकायको ध्यान कहिले पुग्ने ? कि तानसेनको धार्मिक पर्यटनको यो महत्वाकांक्षी सपना कागजमै सीमित भएर इतिहास बन्ने हो ?








