पाल्पा, ७ जेष्ठ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई)२०८२ को नतिजामा बगनासकालीमा समीक्षा गरिएको छ । एसइई २०८२ मा बगनासकालीको नतिजा अघिल्लो वर्षको तुलनामा कमजोर देखिएको छ ।
२०८२ मा गाउँपालिकाका १४५ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ६८ जना अर्थात् ४६.८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । एसइई २०८१ मा गाउँपालिका पाल्पा जिल्लामा स्थानीय तहमै उत्कृष्ट नतिजा ल्याएको थियो ।
बुधबार गाउँपालिका शिक्षा शाखाले आयोजना गरेको समीक्षा कार्यक्रममा सहभागी विद्यालयका प्र.अ.तथा प्रतिनिधिले अभिभावक र विद्यार्थीले अपेक्षा गरेअनुरुप नतिजा आउन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, अभिभावक र विद्यार्थी सबै मिलेर सहकार्य गरेमा नतिजा सुधार गर्न सकिने सरोकारवालाको भनाई छ ।
सहभागी माध्यमिक विद्यालयका प्र.अ.तथा प्रतिनिधिले यसवर्षको एसइई नतिजालाई निराशा होइन आगामी वर्षको लागि सुधार गर्ने सङ्कल्पको अवसरको रूपमा लिदै शैक्षिक सुधारमा लाग्ने प्रतिवद्धता जनाएका छन् । शैक्षिक वातावरण बनाउने, विद्यार्थीमा पढ्नु पर्छ भन्ने भावनाको विकास गराउने कुरालाई तत्काल सुधार गर्न सके आगामी वर्षमा शैक्षिक गुणस्तर बढाउन सकिने सहभागी सरोकारवालाहरूको जोड थियो ।
विद्यालयमा विषयगत शिक्षक अभाव, कमजोर शैक्षिक वातावरण, नियमित अध्ययनको कमीले नतिजामा असर गरेको सहभागी विद्यालयका प्र.अ.तथा प्रतिनिधिको भनाई छ । एसइई २०८२ ामा बगनासकालीमा १४५ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यसमध्ये ६८ विद्यार्थी उत्तीर्ण भएको शिक्षा सहायक विन्दु ढकालले जानकारी दिनुभयो ।
दर्लमडाडाँ माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लिराज गैरेले विगतको गरिमा कायम गर्दै गाउँपालिका उत्कृष्ट नतिजा आउने सम्भावना रहेपनि त्यसका लागि नियमित अनुगमन, विषयगत शिक्षक व्यवस्थापन र सिकाइमैत्री वातावरण आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गतवर्ष स्थानीय तहमै पहिलो हुनु गौरवको विषय थियो, यसवर्ष नतिजा केही कमजोर भएपनि आगामी वर्ष नतिजा सुधार गर्नेगरी सरोकारवालाको साझा र सकरात्मक प्रयास भएमा त्यो गरिमा कायम गर्न सकिनेमा हामी विश्वस्त छौं ।’
कार्यक्रममा गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, माध्यमिक विद्यालयका प्र.अ. तथा प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले शैक्षिक सुधारको कार्यदिशा तयार गरी शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय तहको समन्वय, सहकार्य बढाउनुपर्ने धारणा राख्नुभएको सहायक प्रमुख प्रशासकीय अधिकृत नारायण तिमिल्सिनाले जानकारी दिनुभयो । बगनासकाली गाउँपालिकामा ९ वटा वडामा १० मा.वि. विद्यालय रहेका छन् ।










