latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

पाल्पा — रामपुर नगरपालिका ले स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो रामपुर’ सन्दर्भ सामग्री प्रकाशन गरेको छ । उक्त सन्दर्भ सामग्रीको सोमबार नगरपालिकामा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।

नगरपालिकाले समग्र रामपुरको वस्तुस्थितिलाई समेटेर ‘हाम्रो रामपुर’ नामक सन्दर्भ सामग्री तयार गरेको जनाएको छ । स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आफ्नै क्षेत्रको विषयवस्तुबारे जानकारी गराउने उद्देश्यले स्थानीय तहमा रहेका विविध विषयलाई समेटेर सामग्री प्रकाशन गरिएको हो ।

सन्दर्भ सामग्रीमा रामपुरको भौगोलिक अवस्था, ऐतिहासिक तथा समसामयिक अवस्था, समाज, संस्कृति, जातजाति, संस्कार, वन, वातावरण तथा पर्यटनलगायतका विषय समावेश गरिएको छ । साथै प्रत्येक वडाको वस्तुगत विवरण, प्रमुख बस्ती, पेशा, जाति, धर्म, संस्कार–संस्कृति, विकासका पूर्वाधार, आर्थिक गतिविधि, वनस्पति, वन्यजन्तु, पर्यटकीय तथा धार्मिक महत्वका स्थान, विपद् व्यवस्थापनलगायतका विषयलाई पनि समेटिएको छ ।

नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यदल गठन गरेर सामग्री तयार गरेको हो । कार्यदलका संयोजक देवराज देवकोटा ले प्रत्येक वडामा पुगेर सामूहिक छलफल तथा अन्तरक्रियामार्फत स्थानीयवासीसँग वास्तविक अवस्था बुझेर सामग्री तयार गरिएको जानकारी दिनुभयो । उहाँले बस्तीस्तरमै पुगेर लेखन गर्दा स्थानीय यथार्थलाई नजिकबाट बुझ्न सकिने भएकाले गाउँ–टोलमै पुगेर तथ्यमा आधारित सामग्री संकलन गरिएको बताउनुभयो ।

शिक्षा अधिकृत विकल काफ्ले का अनुसार स्थानीय पाठ्यक्रम लागू भए पनि शिक्षण सामग्री अभावका कारण सिकाइमा एकरूपता ल्याउन कठिन भइरहेको थियो । त्यसैलाई मध्यनजर गर्दै वडागत विवरणसहित सन्दर्भ सामग्री तयार गरिएको उहाँले बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डित ले कक्षा शिक्षणका क्रममा आवश्यक सामग्री अभाव हुँदा शिक्षकलाई समेत असहज हुने गरेको उल्लेख गर्दै शिक्षण प्रक्रियालाई सहज बनाउन सन्दर्भ सामग्री प्रकाशन गरिएको बताउनुभयो ।

उपप्रमुख बालकुमारी थापा ले स्थानीय पाठ्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न तथा शिक्षण–सिकाइलाई सशक्त बनाउन ‘हाम्रो रामपुर’ सन्दर्भ सामग्री तयार गरिएको बताउनुभयो । उहाँले यसले विद्यार्थीको सिकाइसँगै स्थानीय विषयवस्तुबारे ज्ञानमा समेत एकरूपता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

नगर प्रमुख रमणबहादुर थापा ले विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयबारे अध्ययन गरे पनि आफ्नै गाउँ–ठाउँको विषयमा पर्याप्त जानकारी नपाउने अवस्था रहेकाले स्थानीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले सन्दर्भ सामग्री प्रकाशन गरिएको बताउनुभयो । उहाँले स्थानीय धर्म, भाषा, कला, संस्कृति, सीप तथा प्रविधिको संरक्षण र प्रवर्द्धन गर्दै भावी पुस्तालाई आफ्नै पहिचानसँग जोड्ने उद्देश्यसमेत सामग्रीले बोकेको उल्लेख गर्नुभयो ।

रामपुर नगरपालिकाले २०८० सालदेखि कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरे पनि प्रभावकारी शिक्षण सामग्री अभाव रहेको थियो । अब प्रकाशित ‘हाम्रो रामपुर’ सन्दर्भ सामग्री नगरपालिकाभित्रका कक्षा १ देखि ८ सम्मका विद्यालयमा प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय