आनन्द बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षा दिएको छ । सहकारीको आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा अन्तर्गतका बचत सेवा र ऋण सेवासँगै सहकारी नीति, नियम बारे सदस्यहरूलाई जानकारी दिन सो कार्यक्रम गरिएको संस्थाका अध्यक्ष सरोजलाल शाक्यले बताए ।
उनले भने “शेयर सदस्यहरु सहकारीका मालिक हुन्, उनीहरुलाई सहकारीका बारेमा ज्ञान दिन सकियो भने सहकारीलाई थप मजबूद बनाउन सहयोग पुग्छ भन्ने हाम्रो बुझाई हो ।” शेयर सदस्यहरुले सहकारीको सिद्धान्त र त्यसको उद्देश्यका विषयमा जानकारी नहुँदा समस्या उत्पन्न हुने भएकाले सहकारी बारे शिक्षा दिइदै आइएको अध्यक्ष शाक्यले बताए । तालिममा प्रशिक्षक सहकारी अभियान्ता तथा जिल्ला सहकारी संघ लिमिटेड पाल्पाका अध्यक्ष भूपति पाण्डेयले शेयर सदस्यहरुलाई सहकारीको इतिहास, सहकारी के हो ? सहकारीका सिद्धान्त, विशेषता, बचत गर्ने तरिका, ऋणको सदुपयोग, दुरुपयोग, सहकारीका समस्या, समाधानका उपायहरु, शेयर सदस्यहरुको भूमिका लगायतका विषयमा जानकारी गराएका थिए । सहकारी शिक्षा बारे प्रशिक्षण दिदैं उनले सहकारीलाई आर्थिक रुपमा सवल र सक्षम बनाउन शेयर सदस्यहरुको भूमिका महत्वपूर्ण रहेको बताए । अध्यक्ष पाण्डेयले सदस्यले सस्थाले गरेका काममा वाचडगको रुपमा काम गर्नुपर्ने उल्लेख गरे । उनले स्वस्थ र खुसी सदस्य बनाउने दिशामा सहकारीले दीर्घकालीन रणनीति बनाउने योजना बनाएकाले त्यसमा सदस्यहरुले साथ दिनुपर्नेमा जोड दिए । पाण्डेयले सहकारीमा दोहोरो सदस्यता नलिन पनि शेयर सदस्यहरुलाई आग्रह गरे । संस्थामा सुशासनको प्रत्याभूति सदस्यहरुबाटै हुनुपर्नेमा उनले जोड दिए ।



उनले एक सस्था, एक सदस्य र अनेक कार्यक्रममा सहभागिता जनाउनु नै असल शेयर सदस्यको दायित्व भएको बताए । अध्यक्ष पाण्डेयले आनन्द सहकारीले सदस्य केन्द्रीत कार्यक्रम गर्ने गरेको भन्दै संस्थालाई धन्यवाद दिए । उनले समुदाय र सदस्य केन्द्रीत भएर सञ्चालन भएका सहकारी संस्थाहरु बैंक भन्दा पनि राम्रोसँग सञ्चालन भइरेको बताए । उनले विश्वका कतिपय देशले सहकारीमार्फत नै आर्थिक तथा सामाजिक रुपान्तरण गरेका थुप्रै उदाहरण रहेको भन्दै नेपालमा पनि सहकारीले आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सक्ने दावी गरे । ठूला शहरी क्षेत्रमा रहेका केही सहकारी मूल्य, मान्यता सिद्धान्त बाहिर सञ्चालित सहकारीमा मात्र अहिले समस्या आएको उनले बताए ।
सहकारीले पछिल्लो समय सेवा प्रवाहमा गुणस्तरीयता ल्याउन सदस्य केन्द्रित महत्वपूर्ण कामहरु अगाडि बढाएको छ । यसका लागि सहकारीले शेयर सदस्यहरुलाई सहकारी शिक्षा दिनेदेखि उनीहरुको आर्थिक समृद्धिको क्षेत्रमा उल्लेखीय रुपमा काम गर्दै आएको हो । सहकारीले आफ्ना शेयर सदस्यहरुको आर्थिक समृद्धिसँगै गरिब, महिला, दलित, जनजाति, उत्पीडित तथा विपन्न समुदायहरूको उत्थानमा समेत आफुलाई निरन्तर अगाडि बढाएको छ ।








