पाल्पा — पाल्पा उद्योग वाणिज्य संघको आगामी निर्वाचनको पूर्वसन्ध्यामा संघका पूर्व अध्यक्षहरूले वर्तमान अध्यक्षको विषयमा संयुक्त विज्ञप्ति जारी गरेका छन्। शनिबार सार्वजनिक गरिएको उक्त विज्ञप्तिमा संघको नेतृत्व चयनका क्रममा देखिएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
विज्ञप्तिमा संघ स्थापना कालदेखि नै उद्योगी–व्यवसायीहरूको हकहित संरक्षण गर्दै आएको र विभिन्न चुनौतीहरू पार गर्दै संस्थाले पारदर्शिता र नियमअनुसार काम गर्दै आएको उल्लेख गरिएको छ। साथै, संघले हरेक वर्ष लेखापरीक्षण गरी आय–व्यय सार्वजनिक गर्ने परम्परा कायम राखेको पनि जनाइएको छ।



त्यस्तै, संघको आफ्नै भवन निर्माणका लागि तानसेन–१ मा जग्गा खरिद गरी भवन निर्माणको काम सम्पन्न भइसकेको र केही कार्य बाँकी रहेको उल्लेख गरिएको छ। यससम्बन्धी सम्पूर्ण आय–व्यय पारदर्शी रूपमा प्रस्तुत गरिएको दाबी गरिएको छ।
आगामी चैत १४ गते हुने निर्वाचनमा वर्तमान अध्यक्ष र महासचिव प्रतिस्पर्धामा रहेका बेला, वर्तमान अध्यक्ष शैलेन्द्र भट्टराईले सञ्चारमाध्यममार्फत पूर्व अध्यक्षहरू र कार्यसमितिमाथि भ्रष्टाचारको आरोप लगाएकोप्रति विज्ञप्तिमा आपत्ति जनाइएको छ। बिना आधार आरोप लगाउँदै गालीगलौज र जातीय नारासमेत प्रयोग गरिएको भन्दै यस्तो प्रवृत्तिको सबैले विरोध गर्नुपर्ने बताइएको छ।
पूर्व अध्यक्षहरूले भट्टराईको कार्यकालमा उल्लेखनीय काम नभएको र व्यक्तिगत आरोप–प्रत्यारोपमा उत्रिएको उल्लेख गर्दै त्यस्ता अभिव्यक्तिहरू सार्वजनिक रूपमा फिर्ता लिन आग्रह गरेका छन्। अन्यथा कानुनी प्रक्रियामा जाने चेतावनी पनि दिइएको छ।
विज्ञप्तिमा संघका सम्पूर्ण अग्रज तथा सदस्यहरूको मानमर्दन भएको भन्दै खेद व्यक्त गरिएको छ। साथै, संघको गरिमा जोगाउँदै स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबैलाई जिम्मेवार बन्न आह्वान गरिएको छ।
उक्त विज्ञप्तिमा संघका विभिन्न पूर्व अध्यक्षहरूले हस्ताक्षर गरेका छन्।







