latest
विशेषज्ञ चिकित्सकदेखि एनामली स्क्यानसम्म: २४ घण्टे सेवा लाइफकेयर सञ्चालन  ||    बर्तुङ बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारणसभा सम्पन्न  ||    २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||   
बिहिबार , कार्तिक २७, २०८३

बुटवलकाे लुम्बिनी प्रादेशिक अस्पताल एमआरआई सेवाको शुभारम्भ भएको छ। अस्पतालको ११६ औं वार्षिकोत्सवका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवाको उद्घाटन गरेका हुन्। लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा एमआरआई मेसिन जडान पछि सेवा सञ्चालनमा ल्याइएको हो।

सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राख्दै सीमित स्रोत र साधनको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिएको जनाइएको छ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पताललाई थप उचाइमा पुर्‍याउन प्रतिष्ठानको रूपमा विकास गर्ने गरी पहल भइरहेको बताए। विशिष्ट र विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सुनिश्चित गर्न प्रतिष्ठानको अवधारणा अघि सारिएको उनले स्पष्ट पारे।

शुक्रबार बुटवलमा आयोजित वार्षिकोत्सव उद्घाटन कार्यक्रममा उनले प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए।

‘प्रादेशिक अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गरेर लैजाने योजना छ। त्यसमा हामीले ध्यान दिएका छौं,’ उनले भने, ‘यसलाई नमुना अस्पतालका रूपमा विकास गर्न प्रदेश सरकारले काम अघि बढाएको छ। सबैको साझा प्रयासबाट आमूल परिवर्तन सम्भव भएको छ। समन्वय र सहकार्यकै कारण अस्पताल यहाँसम्म आइपुगेको हो।’

प्रदेश सरकारले सेवा विस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले सेवाग्राहीले सस्तो र सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए।

‘एमआरआई मेसिन जडान भएपछि सेवाग्राहीले अब सस्तो र सुलभ ढंगले सेवा लिन पाउने अवसर प्राप्त भएको छ। गोरखपुर वा काठमाडौं जानू पर्ने बाध्यताको अन्त्य भएको छ,’ उनले भने, ‘एक हजार दुई सय शैयाको अस्पताल निर्माणको काम अघि बढेको छ। २१ महिनाको अवधिमा ४० प्रतिशत भौतिक प्रगति भएको छ। तीन वर्षभित्र सबै सेवा नयाँ भवनबाट सञ्चालन गर्ने योजना छ।’

स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न प्रदेश सरकारले आवश्यक कानुनी व्यवस्था समेत गरिसकेको उल्लेख गर्दै उनले जिम्मेवारीपूर्वक सेवा प्रवाह गरिरहेकोमा धन्यवाद व्यक्त गरे।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य मन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै गौरव भएको उल्लेख गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने गरी काम भइरहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय