निर्वाचनको तयारी स्वरूप पाल्पामा नमुना मतदान अभ्यास गरिएको छ। मतदान स्थलमा खटिने सुरक्षा निकायलाई अभ्यस्त गराउन अभ्यास गरिएको बताईएको छ।
अभ्यासका क्रममा मतदान केन्द्रको व्यवस्थापन, मतदाता प्रवेश प्रक्रिया, सुरक्षा जाँच, मतपेटिका व्यवस्थापन लगायतका विषयमा परीक्षण गरिएको थियो।



पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले नमुना मतदान अभ्यासले वास्तविक निर्वाचनका दिन देखिन सक्ने अन्योल र समस्या कम गर्न सहयोग पुग्ने बताइन्। उनले सबै सरोकारवालाबीच समन्वय सुदृढ भई शान्तिपूर्ण र व्यवस्थित निर्वाचन सम्पन्न गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।
उनी भन्छिन्, “निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको छ । मतदाताले निर्धक्क भएर मतदान गर्न सक्ने वातावरण निर्माण गर्नु हाम्रो प्राथमिकता हो ।”
मतदानमा सहभागीहरुलाई गर्ने व्यवहार, सुरक्षामा खटिँदा जान्नुपर्ने विषयलाई प्रभावकारी बनाउन नमुना मतदान गराएको हो । मतदान स्थल निर्माण, मतदान केन्द्रको सुरक्षा व्यवस्था, त्यहाँ आइपर्न सक्ने सम्भावित जोखिम लगायतका विषयमा व्यवहारिक अभ्यास गराइएको दि फेमस महिन्द्र दल गणका गणपति शान्त कुमार थापाले बताए ।
पाल्पाका १ हजार १ सय ४१ निर्वाचन प्रहरीलाई नमुना अभ्यास गराइएको छ । साथै मतदान केन्द्रमा आइपर्ने विभिन्न समस्याहरुलाई व्यवहारिक ज्ञान समेत दिइएको छ । नमुना मतदान अभ्यासमा सहभागी निर्वाचन प्रहरीलाई महिला÷पुरुष, ज्येष्ठ नागरिक, अपांगता भएका, सुत्केरीलाई गर्नुपर्ने व्यवहारका विषयमा व्यवहारिक ज्ञान सिकाइएको छ । सुरक्षा संवेदनशीलता हेर्दै पाल्पामा सशस्त्र, नेपाली सेनाको विओपी र सिओपी पोष्टबाट सुरक्षा प्रदान गरिने बताइएको छ ।
नमुना अभ्यासका क्रममा मतदान प्रक्रिया बुझ्न र आत्मविश्वास बढाउन अभ्यास प्रभावकारी भएको सहभागी पुरुषोत्तम गैरेले बताए। “हामीले मतदान गर्दा कुनै असहजता भएन, प्रक्रिया निकै व्यवस्थित छ,” मखनमाया गुभाजुले भनिन् । मतदाता शिक्षा प्रदान गर्दै आईरहेकी पाल्पाकी सिर्जना श्रेष्ठले मतदान गर्दै प्रक्रिया सहज र स्पष्ट रहेकोले ढुक्क भएर मतदान गर्न आग्रह गरिन् ।
दि फेमस महिन्द्र दल गण, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको समन्वयमा उक्त अभ्यास आयोजना गरिएको हो ।








